|

न परेसं विलोमानी, न परेसं कताकतं।

अत्तनो व अवेक्खेय्य, कतानी अकतानी च।। -धम्मपद

अस्तित्वमा के हुनुपर्थ्यो, के हुनु पर्दैन्थ्यो, अरूले के गर्यो के गरेन, कहाँ के भयो के भएन भनेर चिन्ता गर्नुभन्दा मेरो जीवनमा के भयो र मैले के गरेँ, के गर्दैछु आफ्नै बारेमा जान्नु बुद्दिमानी हुनेछ।

मानिस विवेकशील प्राणी हो यो दोहोर्याइ रहनु पर्दैन। सृष्टिको सृजना उहि अस्तित्वबाट भए पनि अरू प्राणी भन्दा अलग प्रकृतिको छ मानिस। पशुपन्छी भन्दा सोचमा फरक छ, विवेक छ, आफ्नो शरीर, शिक्षा, स्वास्थ्य, परिवार, प्रेम, धन, वैभव, सुरक्षा, आवश्यकता सबैप्रति जानकार छ। आफ्नो हितको लागि धेरै सूचनाहरूको जानकारी लिन सक्दछ। समयानुकुल प्रविधिको विकास गरेर साधनले पूर्ण र सुविधायुक्त जीवन बाँच्न सफल भएको छ।

त्यतिमात्र कहाँ हो र चन्द्रमामा पाइला टेकिसक्यो, अन्तरिक्षको कुन भागमा वस्ती बसाउन र खेती गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गरिरहेको छ। माटोविना कृषि उत्पादन गरेको छ, कृत्रिम खोला, नदी र सिसाको पुल बनाईसक्यो। आणविक हातहतियारको विकासले विश्व आक्रमण गर्न सक्षम बनिसक्यो।

अणु, परमाणुको अध्ययन गर्दागर्दै क्षणमै विश्व ध्वस्त पार्न सक्ने बमको आविष्कार गरिसकेको छ। आफ्नो भलाइको लागि राजनीति, नोकरी, व्यापार, व्यवसाय के पुरूषार्थ गर्नुपर्छ ऊ त्यसमा कटिबद्द छ। संसारको भौतिक सम्पन्नताले मात्र पनि पूर्णता मिल्दो रहेनछ भनी आत्मिक शान्तिको लागि आध्यात्मिक मार्गमा समेत चासो दिँदै साधनामा लाग्न थालेको छ।

अनेक गर्दागर्दै पनि जीवनमा, संसारमा प्रतिकूलता आईरहन्छ ! यो कसरी हुन्छ ? अनुमान नै गर्न नभ्याई कहिले रोगको महामारी, कहिले प्राकृतिक विपत्ति आएर मानिसको सोच विपरित परिस्थिति सृजना भईरहन्छ। दस महिना अगाडि थाहासम्म नभएको, नसुनेको कोरोना भाइरसले दिनदिनैं थप आतंकित बनाईरहेको छ। कुनै देश र वर्ग विशेषमा सिमित नभएर विश्वलाई यो महामारीले आफ्नो कब्जामा लिएको छ।

जब प्रतिकूलता आउँछ तब मानिस यसलाई सहन गर्न सक्दैन, धैर्यता गर्न सक्दैन, अनि सोच्छ प्रतिकूलता किन आउँछ ? मानिस स्वयंले प्रतिकूलतालाई किन रोक्न सक्दैन ? के जीवन र अस्तित्व मानिसको मर्जीले चल्न सक्दैन ?

जन्मपछि मात्र थाहा हुने जीवन

जन्मदेखि मृत्यूसम्मको यात्रा न जीवन हो तर अस्तित्व आदि देखि अनादिकालसम्म रहिरहनेछ जसलाई कहिलेसम्म भनेर समयको मापन गर्न, आँकलन गर्न मानिसले सकेको छैन। मानिस जब जन्म लिन्छ, जीवनको विकासक्रममा अनेक घटना र सिकाईहरू आउँछन् तिनलाई सिक्छ, ग्रहण गर्छ र त्यसकै उपयोग गर्दै अनेक सफलता हाँसिल गर्दछ।

तर, गुह्य रहस्य नै यो छ कि मानिसले आफ्नो जन्मपछि जीवनलाई जान्यो तर अस्तित्व ऊ जन्मिनु अघि पनि थियो र उसको मृत्यूपछि पनि रहनेछ। यसको अर्थ अस्तित्वमाथि उसले विजय प्राप्त गर्यो या अस्तित्वलाई चुनौती दियो भन्न सकिन्न र मिल्दैन पनि। जति नै अर्थ र परिभाषाले जीवनलाई जान्न खोजेपनि यो अपूर्ण नै हुन्छ किनकी जीवनलाई परिभाषामा समेट्न सकिन्न।

भिक्टर फ्रयान्कलले भनेका छन्- “जीवनको अर्थ नै जीवनलाई अर्थ दिनु हो।“ मानिसको आफ्नो कार्यकुशलता र पुरुषार्थले धेरै कुराबाट शिक्षित र दीक्षित बन्न सक्दछ तर यसो हुँदैमा जीवनमा सधैं अनुकूलता मात्र आओस् यो सम्भव छैन। किनकी यसको हिसाव अस्तित्वले राख्दछ।

कल्पना गरौं त जीवनमा मानिसले चाहेकै मात्र भयो, अनुकूलता मात्र भयो भने कुन अवस्थामा पुग्ला ? उसले कसरी सिक्ला र आफ्नो स्व-पहिचानको बोध गर्ने फुर्सद उसलाई कहिले मिल्ला ? सबै चाहे जस्तै हुँदा उसको विकास कुन मार्गमा अगाडि बढ्ला ? उसको अहंकारको मात्रा कति पुग्ला ?

दार्शनिक फ्रेडरिक नित्से ले भनेका थिए-“प्रतिकूलतामा जीवनको अर्थ खोज्न सक्नु नै बाँच्नुको साँचो अर्थ हुनेरहेछ।“ त्यसैले मानिसको यहि बुद्दिमानी, विवेकशील र चतुर गुणलाई सन्तुलनमा ल्याउनको लागि समय समयमा प्रकृतिमा अस्तित्वगत प्रतिकूलता आइलाग्छन्।

जीवन नै स्थायी छैन भने हामीले मान्ने अनुकूलता र प्रतिकूलता पनि स्थायी हुँदैनन्। सफलता, असफलता जीवनलाई सन्तुलनमा राख्ने सूत्र हुन्। र, जति प्रतिकूलता आइलाग्छ त्यति सिक्ने अवसर प्राप्त गर्दछ, स्व-बोधको पहिचान गर्दछ। एकपटक हात लागेको सफलता जीवनभर नरहन सक्दछ भने असफलता पनि त्यहि हो जीवनभर रहंदैन।

विन्स्टन चर्चिलले भनेका छन्–“सफलता अन्तिम हुँदैन, असफलता घातक हुँदैन, यि दुबै परिस्थितिले जीवनलाई अगाडि बढाउन प्रेरणा दिइरहन्छन्।“

मानिसको नियन्त्रणमा हुन्न प्रकृति

अस्तित्वले मानिसलाई आत्मनिष्ठताको गुण दिएर सृजना गर्यो। तर विकासको क्रममा मानिस वस्तुनिष्ठता मै सिमित हुन पुगेको आभाष हुन्छ। मानिसलाई स्वतन्त्र रूपमा आफ्नो विकासमा अग्रसर हुने गुण र क्षमता अस्तित्वले नै दिएको हो।

तर व्यक्तित्त्वको रूपमा भन्दा विज्ञानको विकास गर्न सकेको आधारमा वस्तुगतरूपमा आफूलाई चिनाउन मानिस अग्रसर बनिरहयो। स्वतन्त्रताको अर्थ त कुन मार्गमा जान चाहन्छ त्यो मार्गमा लाग्न सक्ने सम्भावनाको स्वतन्त्रता मात्र हो। तर मानिसले आफूलाई आत्मगत स्वभावबाट वस्तुगत स्वभावमा जाने स्वतन्त्रता रोज्यो।

मानिसले कुन कुरा छनौट गर्न सक्दो रहेछ, छनौट गर्न चाहँदो रहेछ भन्ने आधारमा अस्तित्वले एउटा स्वतन्त्र प्राणीको सृजना गरेको हो। तर मानिसले आत्मगतरूपमा नभई संसारको दबाबमा आफ्नो रोजाई भएको पुष्टि गरेको छ। अस्तित्वगत चिन्तन छोडेर सिद्धान्तको रचना गर्यो।

अस्तित्वको गुण अगाडि आफ्ना विचार र सिद्धान्त गौण हुन् भन्ने कुरा नै भुल्यो। त्यसकै परिणाम स्वरूप मानिस यति विकासशील भईसकेको छ कि उसले हर तरहले आफूलाई नियन्त्रणमा लिएर, आफ्नो परिश्रमले चाहेको कुरा गर्न सक्छ। तर उसको शक्तिले प्रकृतिलाई नियन्त्रणमा लिन असम्भव छ।

मानिसले नसोचेको कुरा प्रकृतिले गरेर देखाईदिन्छ। यसबाट जान्ने भनेको उसको दिव्य शक्तिको अगाडि मानव आर्जित शक्ति र विज्ञान तुलना नगर्दा हुन्छ। त्यति धेरै वैज्ञानिक विकास गरेको मानिसले एउटा कोरोना भाइरस नियन्त्रणमा लिन किन सक्दैन? एउटा औषधि निर्माण गर्न नसकेर    किन विश्व आक्रान्त छ? जस्ता जिज्ञासा र प्रश्न उठ्न सक्छन्, उठिरहेका छन्।

मानिसले जे सोचाई राखोस्, जे तर्क राखोस्, जसरी बुद्दि लगाएर कर्म गरोस् त्यसमा अस्तित्वको कुनै अंकगणित छैन। मानिसले अस्तित्वगत अनुकूलता र प्रतिकूलताप्रति आफ्नो स्वीकारोक्ति या अस्विकार व्यक्त गर्न सक्दछ तर अस्तित्वको यथार्थता बदल्न सक्दैन। मानिसको सोच आवश्यक छ या छैन भन्ने कुरा मानिस आफैं नै जानोस् भनेर उसले परीक्षा लिइरहेको हुन्छ। जुनकुरा हामीले अस्तित्वगत खेल जब हुन्छ तबमात्र बोध गर्न सक्छौं।

अस्तित्व र घटनाचक्र

     प्रत्येक व्यक्ति कहिले जन्मिने, कहिले सम्म उसले जीवन भोग्ने, कुन परिवारमा उसले जन्म लिने यो कसको मर्जीले चल्छ ? कसलाई सम्झौता गरेर मानिसले आफ्नो जीवनको आयु तय गर्ने ? जीवन जिउने आधार कसरी कुन मापनमा तय गर्न सक्दछ ?

देशकाल, भूगोल र परिस्थिति अनुसारका घटना हुन्छन्। समुद्र भएका देशमा सुनामीको प्रभाव पर्छ भने हिमाली भूमिमा बाढी, पहिरोले दु:ख दिन सक्छ। कतै बाह्रै महिना हिउँ पर्ने भूमि छन् त कतै वर्षौंभर गर्मी हुने भूभाग छन्। मानिसले विकल्प मिल्दासम्म आफ्नो अनुकुलले सुख र सुविधा अनुसार जीवन बाँच्न खोज्दछ। प्रकृतिमाथि पनि विजय प्राप्त गर्न खोज्दछ तर जब विकल्प समाप्त हुन्छ तब जे छ त्यसमै खुसी हुने प्रयास गर्दछ।

थोमस ब्राउनले भनेको उक्ति यहाँ सान्दर्भिक हुन सक्छ –“मानिसले पाए सम्म खुसीको निर्माण आफैं गर्न खोज्दछ जब विकल्प छैन भन्ने बुझ्दछ तब जे छ त्यसमै खुसी खोज्छ र प्राप्त गर्छ पनि।“ थोरै बोधगम्य, आध्यात्मिक चिन्तन र स्वीकारोक्तिको प्रतिकात्मकता यहाँ अनुभूति गर्न सकिन्छ।

विज्ञानको जतिनै विकास गरेपनि दु:ख, सुख, हर्ष, विस्मात बाहिरबाटै आउँछन् भन्ने विश्वास लिएको मानिसले भुल्दछ कि मानिसकै मस्तिष्कबाट उत्पादन हुने डोपामिन, सेरोटोनिन, अक्सिटोसिन लगायतका इन्डोर्फिन हर्मोन तत्वहरुले नै मानिसलाई खुसी, सन्तोष, प्रेम, पूर्णता आदि भावनाहरु बढाउन मद्दत गरिरहेका हुन्छन्।

हाम्रै मस्तिष्कमा उत्पादन हुने यि हर्मोन विज्ञानले सृजना गरेको या अस्तित्वले ? त्यसैले सोचनीय छ जीवन थोरै हाम्रो मर्जीले चल्छ होला तर धेरै उसकै मर्जीले चल्छ किनकी हामी अस्तित्वका अंश हौँ, अस्तित्व मेरो अंश हो भनेर हक जमाउन सकिंदैन।

आदि शंकराचार्यको उक्तिलाई आत्मसात गर्दै भन्नुपर्दा जो अस्तित्वगत चिन्तनमा रहन्छ उसको चेतना ब्रह्म या उच्च तहमा स्थापित भएको हुन्छ, जस्तै प्रतिकूलतामा पनि ऊ आनन्द लिन सक्दछ।

योग रतो वा भोग रतो वा

संग रतो वा संग विहिन:।

यस्य ब्रह्मणि रमते चित्तम्

नन्दति नन्दति नन्दत्येव।।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.