|

श्रीकृष्ण धिमाल

'वसन्त शर्मा' (वि.स.१८५२-१९४८) नेपाली कवि थिए। बागमती अञ्चलको पूर्व १ नं अन्तर्गत काभ्रेपलाञ्चोक द्यौपुर गाउँ हालको मण्डनदेउपुर नपा नयाँगाउँ जन्मेका थिए भन्ने कुरा उनकै लेखाइले पुष्टि गरेको छ। लोकलयमा चिन्तनमूलक काव्य लेखेर होस् कि कृष्णचरित्रमा आधारित खण्डकाव्य लेखेर होस्। उनले नेपाली भाषाको सेवामा योगदान गरे।

इतिहास शिरोमणि बाबुराम आचार्यले पुराना कवि र कवितामा उनका बारेमा प्रशस्त वर्णन गरेका छन्। त्यसपछि वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले पनि यस बारेमा उल्लेख गरिसकेको भए पनि थप खोज र अनुसन्धान भने बाँकी नै छ।

काभ्रेपलान्चोकको मण्डन देउपुरले नचिनेको नेपाल राष्ट्रको सम्पदा वा सम्पत्ति नेपालका आदिकवि भानुभक्तभन्दा पनि पूराना कवि वसन्त शर्मा उपाध्याय पौड्याल कसैले लुइँटेल पनि भनेका छन्। उनले श्रीकृष्णचरित्रको रचना गरे, ती व्यक्ति ब्रह्मायणीको काख नयाँगाउँ देउपुर आसपास नै जन्मिएका हुन्। जसको रचना महाकवि, आदिकवि राष्ट्रकवि, युगकविभन्दा पनि शक्तिशाली हो भन्ने प्रमाण उनको ब्रह्मायणी र इन्द्रावती रचनाले प्रष्ट पारेको छ।

नयाँगाउँ देउपुरमा वि.सं. १८५२ मा जन्मिएका भानुभक्तभन्दा अगाडिका कवि वसन्त शर्मा उपाध्याय पौड्यालको रचना–

उत्तर द्दौपुर ग्रामनिवासी ! वसन्त कवि हुँ ब्राह्मण जैसी !! सुक्ष्म रूपले ज्ञान बताञा ! सज्जनका सारी दिञा !! (समुन्द्रलहरी, श्लोक ९३, रचनाकाल– वि.सं. १८७६)

यिनले लेखेको श्रीकृष्णचरित्र देउपुर ब्रह्मायणीलाई अर्पण गरेको हुनाले पनि निम्नलिखित तथ्यको आधारमा वसन्त शर्मा उपाध्याय पौड्याल काभ्रेपलान्चोक स्थित हालको मण्डनदेउपुरमै जन्मिएको प्रष्ट हुन आउँछ।

पश्चिम बागमती पवित्र यमुना, पूर्वै दिशा कौशिकी ! दक्षिण् चन्द्रगिरी हिमालयमहाँ औतार लिया हरि !! उत्तर्हेमगिरी त पर्वत बन्यो उत्पन्न इन्द्रावती ! श्रीब्रह्मायणी माईका शरणमा श्री कृष्णलीला इति !!

(श्रीकृष्णचरित्र, उत्तरार्ध श्लोक १६५, रचनाकाल– वि.सं. १८८२)

अन्वेषणका क्रममा भेटिएको विराटपर्व (१८९४) पनि यिनैले लेखेको हुन सक्ने यथेष्ट आधार भेटिएको छ।

त्यहाँका सांसद गोकुल प्रसाद बाँस्कोटाले चाहे भने काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुर नगरपालिकाले चाह्यो भने मण्डन देउपुर नेपालको सबै भन्दा ठूलो साहित्यिक पर्यटनस्थल बन्न सक्ने स्थानीय बासिन्दाहरुको भनाई छ।

त्यसका लागि पहिले त त्यस नगरपालिकाले आफ्नो क्षेत्रको राष्ट्रिय गौरव चिन्नुपर्छ। गौरवलाई प्रकाशमा ल्यायो भने संसारभरिका नेपाली भाषाका साहित्यकार र अन्वेषक त्यहाँ पुग्नेछन्।

वसन्त शर्मा नेपालका प्रथम कवि प्रथम खण्डकाव्यकार, नेपाली लोकलयका प्रथम लेखक श्रीकृष्ण चरित्र, समुन्द्र लहरी, विराटपर्व, महाभारत, भागवत कथाका लेखक र अनुवादक हुन भन्ने कुरा स्थापित भएमा उनि  भानुभक्त आचार्यभन्दा अघिका कविमा दरिने छन। उनको जन्म विस १८५२ बसन्त पञ्चमिको दिन काभ्रेपलान्चोकको देउपुर नयाँ गाउँमा भएको थियो।

भानुभक्तको जन्म हुँदा शर्माले नेपाली साहित्यका श्रीकृष्ण चरित्र र समुन्द्र लहरीको रचना गरिसकेको देखिन्छ। उनले महाभारत, स्वस्थानी, समुन्द्रलहरी, जस्ता पुस्तक लेखेका थिए। विगतमा काभ्रेपलान्चोकको मण्डन देउपुरमा उनको विशेषतासँग परिचित प्रभावशाली मान्छे नभएकाले उनी पछाडि परेका हुन्।

मण्डन देउपुर नगरपालिकाले उनको स्मृतिमा अनुसन्धानात्मक पुस्तक छपाउने, सालिक राख्ने र साहित्यिक पुरस्कार स्थापना गर्ने हो भने मण्डन देउपुर तनहूँको चुँदी रम्घा भन्दा ठूलो साहित्यिक केन्द्र हुनेछ।

नेपाली साहित्यको प्राथमिक काललाई पनि चरणगत दृष्टिले पहिलो, दोस्रो र तेस्रो चरण मानिएको छ। पहिलो चरण वीर भावनामा केन्द्रित रहेको देखाइएको छ भने दोस्रो चरण सगुण ईश्वरभक्ति प्रस्तुत गर्ने र तेस्रो चरण ईश्वर भक्तिको निर्गुण स्वरूप प्रतिपादन गर्ने चरण।

जस अनुसार सगुण ईश्वर भक्तिको चरण कविताका सन्दर्भमा राम र कृष्णभक्ति परम्परामा केन्द्रित रहेको वैष्णभक्ति सम्प्रदायको प्रभाव नेपाली भक्तिसमाजमा देखापर्दा रामभक्ति र कृष्णभक्ति कविताका सन्दर्भमा लगभग एकै समयमा आरम्भ भएर विकसित बनेको देखिन्छ।

साहित्यकार वसन्त शर्माले ‘महाभारत’ स्रोतमा आधारित भएर रचना गरेका छन्। मिति स्पष्ट उल्लेख नभएको तर भाव मिल्ने ‘युगलगीत’ शीर्षकको गोपिकास्तुति पनि उल्लेख्य सामग्री बनेर उपस्थित भएको छ। ‘महाभारत’को नेपाली रचना पश्चात काव्य–कविता निर्माण गर्ने उच्च पुरुष यस समयका निम्ति वसन्त शर्मा (आचार्य २३) पनि उल्लेख्य व्यक्तित्व हुन्।

उनको ‘कृष्णचरित्र’ नामक काव्य उदाहरणीय कृति साबित भएको छ। शार्दूलविक्रीडित वर्णमात्रिक छन्दमा सरल ढङ्गले प्रवाहित बनेको काव्यस्तरको कृति ‘कृष्णचरित्र’ लेखेर काव्यात्मक उच्चता प्रदान गर्ने वसन्त शर्मा नेपाली कृष्णभक्ति साहित्यका विशिष्ट महान व्यक्तित्व हुन्।

प्राथमिक काल कृष्णभक्ति साहित्यकै वरिपरि अवस्थित बनेको छ। उनले नेपाली कवितामा ‘महाभारत’ स्रोतको उपयोग गरेका थिए भन्ने कुरा ‘कृष्णचरित्र’ शीर्षकमा तयार गरिएको काव्यकृतिले पुष्टि गर्दछ र यसको रचनाकाल १८८२ वि.सं.को आसपास थियो भन्ने कुरा (बन्धु १८४) को पुष्टि मिल्छ। त्यस्तै नेपाली साहित्यको प्रथम खण्डकाव्य बनेको समुनद्र लहरी पनि बसन्त शर्माको महान र नेपाली साहित्यको सर्वोत्कृष्ण रचना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.