|

जनकपुरधाम : संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाले देशभर १० जनाको ज्यान गएको जनाएको छ। तर प्रदेश २ का मृतकको तथ्यांक नै समावेश नगरेको पाइएको छ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३ जनाको कोरोनाले ज्यान गएको छ। ज्यान गुमाउनेहरुमा सप्तरीका २ जना र सिरहाका एक महिला छिन्।

सप्तरीको राजविराज नगरपालिका-६ का ७० वर्षीय पुरुष, सप्तरीकै रुपनी गाउँपालिका घर भएका ३६ वर्षीय पुरुष र सिरहाको लहान नगरपालिका-६ की ४८ वर्षीया महिलाको कोरोनाले ज्यान गएको हो। रुपनीका पुरुषको काठमाडौंमा र लहानकी महिलाको ललितपुरमा ज्यान गएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।

योसँगै प्रदेश २ मा कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १४७ पुगेको छ। पर्सामा ४५ जना, धनुषामा १८, महोत्तरीमा १५, सिरहामा १५, सप्तरीमा १९, सर्लाहीमा ९, रौतहटमा ७, बारामा १८ र एक भारतीय नागरिकले ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा प्रदेश २ मा ६४ संक्रमित थपिएको जनाएको छ। जबकि सामाजिक विकास मन्त्रालयले ४३ जना मात्र थपिएको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार प्रदेश २ मा हालसम्म १४ हजार ५७ जनामा कोरोना पुष्टि भएको छ। जसमध्ये ११ हजार ७ सय संक्रमणमुक्त भएका छन्। 

संघीय सरकार र प्रदेश २ बीच तालमेल अभावका कारण दैनिक फरक फरक तथ्यांक सार्वजनिक भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.