|

नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा पर्ने नारायणीपारीका सुस्ताबासीले दशैँअघि नै बिजुलीबत्ती बाल्न पाउने भएका छन्‌।  

आफ्नै भूमीमा पुग्नका लागि भारतिय बाटो प्रयोग गर्नुपर्ने र नारायणीमा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यता रहेको सुस्तामा विद्युत विस्तार गर्ने सम्भावना नभएपछि पछिल्लो पटक सौर्य मिनिग्रीड परियोजना निर्माण थालिएको थियो। अहिले यो काम अन्तिम चरणमा पुगिसकेको छ।

सुस्तामा गत वर्ष कार्तिक ५ गते  ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सौर्य मिनिग्रीड परियोजनाको शिलान्यास गरेका थिए। २०७७ असार ४ गतेसम्म परियोजनाको काम सक्नेगरी ग्रीड निर्माणको जिम्मा पाएको टपसन इनर्जी प्रालिले कोरोना भाइरस महामारीका कारण केही ढिलाई भएपनि सुस्ताबासीले दशैँ अगाडि नै बत्ती बाल्न पाउने जानकारी दिएको छ।

सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले अब सुस्ताबासी धेरै दिन अँध्यारोमा बस्नुनपर्ने बताएका छन्। सौर्य मिनिग्रीड निर्माणको काम झण्डै ९५ प्रतिशत सकिएकोले दशैँअघि नै सुस्ताबासीका घर-घरमा बिजुली पुग्ने पाण्डेले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले नै पनि यस परियोजनामा चासो ब्यक्त गरेकाले उनीबाटै भर्चुअल रुपमा परियोजनाको समुद्घाटन गर्ने तयारी अगाडि बढाइएको पनि पाण्डेले बताएका छन्।

सौर्य मिनिग्रीड निर्माण समितिका अध्यक्ष रविन्द्र जैसवालले सधै सरकारसँग पीडा पोख्दा-पोख्दा थाकेका सुस्ताबासीलाई अहिले बल्ल राहत मिलेको बताए। ​मिनिग्रीडको काम सम्पन्न भएपछि घर-घरमा बिजुलीबत्ती बाल्न, टेलिभिजन, फ्रिज, पंंखा लगायतका विद्युतीय उपकरण प्रयोग गर्न, स-साना पानी तान्ने मोटर चलाउन र विद्युतबाट संचालन हुने साना खालका उद्योगहरू संचालन गर्न समेत सहज हुने जैसवालको भनाई छ।

सौर्य उर्जाबाट उत्पादित बिजुलीले विद्युत प्राधिकरणमार्फत वितरित बिजुलीले जत्तिकै काम गर्ने भएकोले कृषि सिंचाइका लागि बोरिङ संचालन गर्न पनि सकिने उनले बताए। यस परियोजनाबाट सुस्ताका दुई सय ६५ घरधुरी लाभान्वित हुनेछन्।

यो परियोजनाको लागत चार करोड ८० लाख ९५ हजार २ सय ६८ रुपैयाँ रहेको छ। जसमा वैकल्पिक सौर्य उर्जा प्रवर्द्धन केन्द्रको दुई करोड ८८ लाख ५५ हजार ३ सय ६१, संघीय मामिला मन्त्रालयको तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत एक करोड ७५ लाख र गाउँपालिकाको १७ लाख ३६ हजार ९०७ रुपैयाँ लगानी रहेको छ।

परियोजनाका लागि आवश्यक जग्गा अभाव भएपछि सुस्ताकै स्थानीय आजाद खाँले पाँच कठ्ठा जग्गा उपलब्ध गराएका थिए। आफूले उपलब्ध गराएको जग्गामा परियोजना सम्पन्न हुँदै गर्दा निकै खुसी लागेको खाँले बताए ।

सौर्य मिनिग्रीडबाट एक सय किलोबाट विद्युत उत्पादन हुनेछ। हाल सुस्तामा आफ्नै देशबाट जान मिल्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माण कार्य चलिरहेको छ। पुल निर्माण कार्य अबको डेढ वर्षभित्र सकिने र त्यसपछि सौर्य मिनिग्रीडबाट उत्पादन भएको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने गाउँपालिका अध्यक्ष पाण्डेले बताए।

सुस्तामा अहिले आवास र सडकका परियोजना समेत संचालन भैरहेका छन्। सरकारबाट उपेक्षित भएको अनुभूति गरेका सुस्ताबासीले विस्तारै सरकारले आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गैरहेको महसुस गर्न थालेको बताएका छन्।

सीमा विवादको विषयलाई समेत प्राथमिकताका साथ सरकारले टुङ्गो लगाइदिए भारतीय पक्षबाट समय समयमा हुनेगरेको अतिक्रमण र अनावश्यक दवावबाट छुटकारा मिल्ने सुस्ताबासी बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.