|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस १४ औँ महाधिवेशनको संघारमा छ। तोकिएको मिति नहुने पक्का भएपनि फागुन (७–१०) मा महाधिवेशन तोकिएको छ। कांग्रेसले महाधिवेशन अघि तयार पारेको कार्यतालिका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणसँगै साङ्गठानिक संरचनाको काम पनि अझै सकिएको छैन। कांग्रेस यी सब काम नहुनु कोरोना भाइरसको संक्रमणलाई दिएको छ। 

पछिल्लो पटक बोलाइएको केन्द्रीय समितिको बैठक त केन्द्रीय सदस्यहरुलाई नै कोरोना लागेपछि स्थगित भएको हो। १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेरसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल सहित २७ नेताले दर्ता गरेको विरोध पत्र छलफल गर्नका लागि गत आइतबार केन्द्रीय समितिको बैठक डाकिएको थियो। त्यस अघि असोज १९ गतेलाई पनि केन्द्रीय समितिको बैठक बोलाइएको थियो। १९ गतेको बैठकको तयारीकै लागि १५ गते केन्द्रीय सदस्यहरु, पार्टी केन्द्रीय कार्यालयका कर्मचारी तथा शिर्ष नेताका सुरक्षाकर्मी गरी २४१ जना पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। 

१५ गते संकलन गरिएको स्वाब संकलनमा नेताहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी, शम्भुलाल श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भयो। त्यस्तै पार्टी कार्यालय बाहिर स्वाब परीक्षण गराएका रमेश रिजाल र अजयकुमार चौरसियालाई कोरोना भाइरस संक्रमण पुष्टि भयो। 

कोरोना संक्रमण पुष्टि भएका प्राय सबै नेताहरु होम आइसोलेशनमा छन्। त्यस्तै नेताका सचिवालयका सदस्य तथा पार्टी कार्यालयका केही कर्मचारीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

अब कहिले बस्छ बैठक ? 

कांग्रेस केन्द्रीय सदस्य तथा वरिष्ठ नेता गोपालमान श्रेष्ठ केन्द्रीय सदस्यहरुलाई नै कोरोना भाइरस संक्रमण पुष्टि भएकोले रोकिएको बैठक यही मितिमा हुन्छ भन्न सक्ने अवस्था नरहेको बताउँछन्। ‘केन्द्रीय सदस्य तथा अरु नेताहरुलाई धमाधम कोरोना भयो भनेर रिपोर्ट आइरहेको छ,’ थाहाखबरसँगको कुराकानी श्रेष्ठले भने, ‘१९ गते बैठक डाकेकै हो। त्यसको लागि १५ गते स्वाब संकलन भयो। केही नेतालाई कोरोना भयो भन्ने थाहा भयो। पछि २२ गते गरेको परीक्षणमा पनि केही नेता र उनीहरुको ड्राइभर, सचिवालयका सदस्यलाई कोरोना देखियो भनेको छ। त्यसैले २५ गतेबाट पनि सरेको छ। अब दशैँ अघि बैठक बस्न समस्या नै देख्छु।’  

उनी फागुनमा महाधिवेशन हुने पक्षमा नेतृत्व रहेपनि कोरोनाले अड्काइदिएको बताउँछन्। ‘महाधिवेशन फागुनमै गर्ने भनेर लागेकै हो तर, प्रकृतिसँग कसको के लाग्छ र,’ उनले भने, ‘फागुनमा महाधिवेशन भएन भने एउटा मात्रै विकल्प बाँकी छ। ६ महिना म्याद थप गरेर त्यो अवधिमा के गरेर हुन्छ महाधिवेशन गर्ने।’  

कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला फागुनमा महाधिवेशन सम्पन्न नहुने र बैशाख या जेठमा मिति तोकेर सोही अनुसार महाधिवेशन कार्यतालिका आउनु पर्ने बताउँदै आएका छन्। यता वरिष्ठ नेता रामचन्द्र पौडेल भने १३ औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिहरूलाई नै कायम राखेर फागुनमै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्। गत असार २२ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन (७–१०) लाई नै यथावत राखेर तल्लो तहको कार्यतालिका भने हेरफेर गरेको थियो।   

असार २२ को निर्णय अनुसार जिल्ला समायोजनको काम साउन १० गतेसम्म सक्ने निर्णय गरेको थियो यो अझै केही जिल्लामा सकिएको छैन। त्यस्तै क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सक्ने समय असार २५ देखि साउन मसान्तलाई तोकिएको थियो अझै सकिएको छैन।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.