रातभर प्रशासनले गस्ती गरे पनि घटेन काठ तस्करी

|

सिमरा : बारामा स्थानीयहरुकै संग्लनतामा दैनिक वन तस्करीका घटना हुन थालेपछि तस्करी नियन्त्रण गर्न कर्मचारीहरुलाई हम्मे हम्मे परेको छ। 

स्थानीयहरुले नै सामुदायिक, साझेदारी र राष्ट्रिय वन क्षेत्रवाट दैनिक काठ तस्करी गर्ने र घरगोठ, खेतबारी, बाँसघारीमा लुकाएर अनुकुल समयमा बिक्री गर्ने गरेको भेटिएको छ। 

डिभिजन वन कार्यालय बाराले  वन रक्षक तथा कर्मचारीहरुलाई रातभर गस्तीमा खटाउने गरे पनि तस्करीमा स्थानीयहरु नै संग्लन भएपछि त्यसलाई नियन्त्रण गर्न कर्मचारीहरुलाई मुस्किल भएको हो।

मधुवन, ककडी, कोहल्वी,कछडिया, हनुमानगञ्ज निजगढ क्षेत्रका अधिकांश सामुदायिक वन, प्रस्तावित अन्तर्रा‍ष्ट्रिय विमानस्थल क्षेत्रमा दैनिक काठ तस्करीका घटना स्थानीयकै संग्लनतामा हुने गरेको वन कार्यालयले जनाएको छ।

त्यस्ता घटनामा संग्लन घरधनी भने घटना भएलगक्तै फरार हुने गरेका छन्। वन कार्यालयले सोमबार (असोज २६ गते) मात्रै  साल र सिसौ जातका गरी ५५ क्युफिट काठ बरामद गरेको छ। 

जसमध्ये निजगढ नगरपालिका-४ कछडिया टोलका श्रीनारायण धामीको गोठबाट ३५ क्युफिट र मधुवन सब डिभिजन क्षेत्रबाट २० क्युफिट बरामद गरिएको हो। कछडियाका स्थानीय धामीको गोठबाट बरामद भएको काठ नागमणि सामुदायिक वन क्षेत्रको भनिए पनि कुन वनको भन्ने विषयमा अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ। 

धामी लामो समयदेखि काठ तस्करीको घटनामा पटक पटक पक्राउ पर्ने र छुटेलगक्तै पुन: काठ तस्करीकै काममा संग्लन हुने गरेका कछडिया सामुदायिक वनका एक अधिकारीले जनाएका छन्। 

'यो पटके वन तस्कर हो, आज समातिन्छ, महिना दिनपछि छुट्छ र फेरि पुरानै काममा फर्किन्छ’, उनले भने, ‘अहिले हाम्रो सामुदायिक वनमा सालक रुख औषधिको रुपमा खोजे पनि भेटिँदैन।'

धामी जस्तै वन तस्करीमा संग्लन अधिकांश पक्राउ परे पनि छुटेपछि फेरि तस्करीमा लाग्ने गरेकाले नियन्त्रणमा समस्या भइरहेको वनका कर्मचारीले बताए। 

लकडाउनको अवधिमा दैनिक वन तस्करी

कोरोना संक्रमण फैलन नदिन  जारी  लकडाउन र निषेधाज्ञा अवधिमा (चैत ११ देखि हालसम्म) मात्रै वन कार्यालयले करिब १२ सय क्युफिट काठ बरामद गरेको छ। सो अवधिमा वन कार्यालयले ६२ जनालाई पक्राउ गरी ३८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ भने ६७ जना फरार छन्।

लकडाउनकै अवधिमा तस्करीमा प्रयोग भएका ६४ वटा साइकल,१७ वटा बञ्चरो, २ थान ट्याक्टर, मोटरसाइकललगायत हाते औजारहरु समेत बरामत गरिएको छ।

‘हामीले पक्राउ र बरामद गरेको यो १० प्रतिशत पनि होइन, बाँकी आँखा छलेर चोरी तस्करी भइरहेको छ’, डिभिजन वन अधिकृत मञ्जुर अहमदले भने, ‘पहिला केही वन कर्मचरीले घरमै बसेर रासपानीको भत्तासमेत बुझ्थे,अहिले मैले सबैलाई दिनरात फिल्डमा खटाएको छु, तैपनि शतप्रतिशत नियन्त्रण हुन सकेको छैन,’ उनले भने। 

बारामा कुल भूभागको ३६ दशमलव ४२ प्रतिशत अर्थात् ४७ हजार १ सय ८२ हेक्टर वन क्षेत्र छ। जसमध्ये सरकारद्वारा व्यवस्थित वन १३ हजार ७ सय २२, साझेदारी ७ हजार ७ सय ७७, सामुदायिक ९ हजार ६ सय ९१, पर्सा राष्ट्रिय निकुञ्ज १६ हजार र निजी वन क्षेत्रले २ सय १६ हेक्टर भूभाग ओगटेको छ।

‘हामीकहाँ सबैभन्दा धेरै मधुवन, ककडी, कोहल्वी, हनुमानगञ्ज निजगढ क्षेत्रमा काठ तस्करीका घटना हुने गरेका छन्’, सहायक वन अधिकृत हरिशंकर साहले भने, ‘तमागढी, सहजनाथ साझेदारी, निजगढ क्षेत्रका सामुदायिक र प्रस्तावित अन्तर्रा‍ष्ट्रिय विमानस्थल क्षेत्रमा स्थानीयकै संग्लनतामा धेरै घटना हुने गर्दछ।’ 

बाराको वन क्षेत्रका चारैतिवाट बस्तीले घेरिएकोले पनि वन संरक्षण धेरै चुनौती देखिएको छ। 

‘सामुदायिक वनमा त झन् पदाधिकारी र सदस्यहरुको संग्लनतामा घटना हुने र कार्यसमितिभित्रै गुपचुप रुपमा मिलाउने गर्दछन्’, साहले भने। काठ चोरी तस्करीको घटनामा सामुदायिक वनलाई कारबाही गर्न र मुद्दा चलाउने कानुनी अधिकार नभए पनि वन समितिहरुले गुपचुप रुपमा घटना मिलाउने गरेका वन कार्यालयले जनाएको छ।

वन कार्यालय बारामा ३२ जना हतियारधारी सशस्त्र प्रहरीसहित ६४ जना वन रक्षक कार्यरत छन् भने आवश्यकताअनुसार काठ तस्करीका घटनामा सशस्त्र र जनपथ प्रहरीको समेत सहयोग लिँदै आएको छ।

कछडिया सामुदायिक वन समूहका अध्यक्ष वीरेन्द्र ठाकुरले चोरी तस्करीका घटनामा सुरक्षाकर्मीबाट तत्काल सहयोग नपाएको गुनासो गरेका छन्। ‘हामीले घटना हुनासाथ जानकारी गराए पनि सुरक्षाकर्मी समयमै नपुग्दा तस्कर उम्किन सफल भएका छन्’, ठाकुरले भने।

सशस्त्र प्रहरी बल बाराका प्रहरी उपरीक्षक रोविनराज कर्णजितले काठ चोरी तस्करीका घटनामा समयमै सूचना पाए तत्काल फोर्स पठाउन आफू तयार भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.