|

पर्वत : पर्वतको फलेवास नगरपालिका-१०, कुर्घाको फल्लाका गोविन्दप्रसाद पौडेल भदौ २९ गते यता रातमा धेरै पटक ब्यूँझिन्छन्। घरभन्दा केही माथि रहेको सडकमा जीप र ट्रयाक्टर हिँड्दा उनलाई घरबाट निस्केर खेतमा दौडिहालौँ जस्तो हुन्छ।

फल्लाको साहूथरमा बसोबास गर्दै आएका करिब ६० जनाको अवस्था गोविन्दको जस्तै छ। हरेक दिनरात पहिरो चलिहाल्ने हो कि भन्ने डरमा नै बित्ने गरेको छ।

भदौ २८ गते परेको अविरल वर्षासँगै २९ गते बिहान चार बजे बस्तीको छेवैबाट पहिरो चल्यो। केही घर र गोठमा क्षति पुर्‍यायो। धन्‍न !  मानवीय क्षति हुन पाएन। रातीको समयमा गडगड आवाज निकाल्दै पहिरो चलेको अहिल्यै हो झैं लाग्छ। त्यसैले रातपख सडकमा गाडी गुड्दा आएको आवाजले पनि उनीहरूलाई पहिरोकै झस्को दिलाउँछ। अनि, झस्किन्छन्।

‘यस्तो पनि हुने रहेछ, धन्न बाँच्न पाइयो। अचेल पनि रातभर सुत्‍न सक्दैनौँ, कति बेला के हुन्छ भन्ने पीर छ। फेरि पहिरो आएर गाउँ नै सोत्तर पार्छ कि भन्ने डर लागिरहेको छ,’ गोविन्द भन्छन्‌, ‘रातीमा घर माथिको बाटोमा गाडी हिँड्दा पहिराकै जस्तो गडगड आवाज आउँछ, यो मनले पहिरो नै चल्यो भन्ठान्छ। बाँच्नलाई घरबाट भाग्न खुट्टा तम्सिहाल्छन्। त्यो पहिरोले सातो लग्यो। हाम्रो दिमाग ठेगानमा आएकै छैन।’ पहिरोले मानवीय  क्षति नगरेको भए पनि कटेरा भत्काउने, बस्तीका घरमा लेदो जाने लगायतका समस्यासहित बालीनालीमा असर गरेको स्थानीय नागरिक बताउँछन्।

धान उत्पादनमा अब्बल मानिएको कुर्घाको फाँटमा पहिरोकै कारण सिँचाइ कुलो पनि भत्किएको छ। पछिल्लो समय पानीको अभावमा धान बालीमा समेत असर गरेको स्थानीय बताउँछन्‌। फाँटमा रहेको धानमध्ये करिब आधामा भुस मात्रै रहेको र चामल नपरेकोले दुःखको बेला थप समस्या थपिएको स्थानीय वेदप्रसाद शर्माले बताए। सरकारले खेतमा सिँचाइको प्रबन्ध नमिलाइदिए भोकै पर्ने अवस्था आउने भन्दै उनले चिन्ता प्रकट गरे।

बाँच्नका लागि अगुवाको कम्मरमा झुन्डिए बालबालिका

कृष्णप्रसाद शर्माले फल्लामा पहिरो चलेको सबैभन्दा पहिले थाहा पाएका थिए। बिहान चार बजेको समयमा ठूलो आवाजसहित आएको पहिरोमा शर्माले विशेष ध्यान दिन सकेका कारण नै मानवीय क्षति हुन पाएन।

पहिरो चलेलगत्तै उनले चिच्याउँदै सबैलाई घर बाहिर निकाले। बस्तीभन्दा केही पर रहेको टापु जस्तो ठाउँमा लगेर बस्तीका करिब ६० जनालाई एकै ठाउँमा जम्मा पारेर राखे।

‘अब रुन्‍नँ भनेर मन थाम्न खोज्छु, तर घाउ आलै छ, अनि मन कसरी थामियोस्‌ ? मैले पहिरोबाट जोगाउन अरूलाई सुरक्षित ठाउँमा लाने बेलामा कोही केटाकेटी पाखुरामा, कोही कम्मरमा, कोही कपडामा, कोही खुट्टामा झुन्डिएका थिए। सबै जना रोइरहेका थिए। तिनीहरूको आँसुले मलाई डरबाट बाहिर निकाल्यो।’ परेलीमा टिलपिल आँसु निकाल्दै कृष्णले भने, ‘केहीसँग ओढ्ने प्लास्टिक थियो, कोही रुझिरहेका थिए। बाँचिन्छ भन्ने मलाई लागेको थिएन। सबैलाई सोहोरेर एकै ठाउँमा लैजानाले मानवीय क्षति हुन पाएन, बाँचियो।’

पहिरोका कारण डराएका करिब १० जना बालबालिकाहरू कम्मर र हातमा झुन्डिएको बेलामा उनीहरूलाई लतार्दै सुरक्षित ठाउँमा लगेको दृश्यले कृष्णको मनमा पटक-पटक अर्कै खाले पहिरो जाने गरेको छ। पहिरो आएको पीरसँगै माथिबाट पहिरो बग्दै गरेको बेलामा त्यसैको तल रुँदै चिच्याएका बालबालिकाहरू देखेका उनलाई त्यही क्षणले धेरै झस्काउँछ।

'हामीलाई काठमाडौं चाहिएको छैन, यहाँ बस्न मिल्छ कि मिल्दैन ?'

पहिरोका कारण स्थानीय हरि रेग्मीको परिवार कुर्घाबाट विस्थापित भएर चितवनमा बस्न थालेको छ। अरू केही घरपरिवार पनि पहिरो गएको स्थानबाट अस्थायी रूपमा भएपनि अन्यत्रै सर्न लागेका छन्, कोही सरिसकेका छन्।

तत्कालै नयाँ घर बनाएर सुरक्षित स्थानमा जानको लागि आर्थिक लगायतका समस्याले कठिन हुने भएपछि पहिरो गएको स्थलमा रहेका घरमा बस्न हुने/नहुने बारे सरकारले दिनुपर्ने विस्थापितहरूको माग छ।

करिब ७० वर्ष पहिले पनि यहाँ ठूलै पहिरो आएको सम्झिँदै उनीहरूले फेरि उही ठाउँमा पहिरो जानुले आफूहरू त्यो बस्ती नै छाडेर अन्यत्र सर्ने की नसर्ने भन्ने चिन्तामा कुर्घाबासी छन्।  

स्थानीय कृष्णप्रसाद शर्माले सरकारले भूगर्भविद्‌हरूको टोली लगेर त्यहाँको भौगोलिक बनावटबारे अध्ययन गराई सोही स्थानमा बस्ने वा नयाँ ठाउँमा जाने भन्ने कुराको निर्णय दिनुपर्ने बताउँछन्।

‘यो बस्तीमा बस्न मिल्छ कि मिल्दैन हामीलाई थाहा छैन, तर हामीलाई बचाउनुहोस्, बाउबाजे यहीँ बसे, पानी छ, जङ्गल छ, यहीँको माया लाग्छ,' उनले भने, ‘बस्न नहुने भए राज्यको नीति अनुसार सारिदिनु, सरकारले काठमाडौंमै घर दिए पनि हामी त्यहाँ जानेवाला छैनौँ। बर्खाको तीन महिना हामी यहाँ बस्न मिल्छ की मिल्दैन ? सरकारले भनिदिनुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.