फिल्मका हिरो हिरोइन ल्याउँदा कलाकारहरू विस्थापित हुँदै

|

पर्वत : हालै बजारमा आएको लोकगीत ‘मञ्जरी’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल र चलचित्रकै नायिका वर्षा शिवाकोटीको नृत्य देख्न पाइन्छ। यसका निर्माता कलाकार प्रकाश पराजुलीका अनुसार गीत तयार गर्दा कलाकारहरूलाई दिएको पारिश्रमिक सहित साढे सात लाख रुपैयाँ खर्च भएको छ।

समयको माग र दर्शकहरूले म्युजिक भिडियोमा गुणस्तर खोजेका कारण ठूलो रकम लगानी गरेर पनि स्तरीय गीत र म्युजिक भिडियो बनाउनुपरेको निर्माता पराजुली बताउँछन्। ‘यो गीत तयार पार्दा चानचुन साढे सात लाख रुपैयाँ लाग्यो, दोहोरी गीतको माग पनि अहिले निकै राम्रो छ, यो समयको माग हो।’

'चलचित्रका कलाकारलाई  नै किन राख्नुभएको ?' प्रश्न गर्दा उनले भने, ‘मन परेपछि काम गर्न त पाइयो नि ! दर्शकले चलचित्रकर्मी लोकगीतमा रुचाए भने त्यो पूरा गरेर भएपनि मन त जित्नैपर्छ।’ 

पछिल्लो समयमा तयार भइरहेका अधिकांश लोकगीतका म्युजिक भिडियोमा उच्च गुणस्तर कायम गरिएको छ। ठूलो लगानीमा बनेका गीतमा प्रयोग गरिएका बाजा सहित संगीत संयोजनको गुणस्तर पनि पहिलेका अडियोमा भन्दा निकै फरक सुन्न पाइन्छ।

अहिले लोकगीतका भिडियोमा अडियोमा भन्दा बढी मिहिनेत गरेको देखिन्छ। छायाङ्कन गरिएको ठाउँ, कोरसमा नचाइने कलाकार, क्यामेरा, डान्सिङ स्टेप लगायत धेरै पक्षमा ध्यान दिइएका कारण लोकगीतका भिडियोले चलचित्रसँग प्रतिस्पर्धा गरेको जस्तो देखिएको कलाकारहरू बताउँछन्‌।

विदेशमा बसेर राम्रो आम्दानी गरिरहेकाहरूले लोकगीतमा ठूलो लगानी गर्दा नेपालमै जसोतसो बाँचिरहेका आफूहरूलाई मार परेको कलाकारहरूकै गुनासो छ। एक जना लोकदोहोरी गायकले नाम उल्लेख नगर्ने शर्तमा विदेशमा आम्दानी गर्नेहरूले नेपालमै बस्ने कलाकारहरूलाई समस्यामा पारेको बताए।

‘चलचित्रका नायकले एउटा चलचित्रको सुटिङ तीन महिनामा सक्दा तीन लाख रुपैयाँ पाउला, यता दुई दिनमै तीन लाख रुपैयाँ पाउँछन्। फिल्मबाट नाम कमाउने, लोकगीतबाट दाम कमाउने जस्तो भयो,’ उनले भने, ‘पैसा भएकाले जसो पनि गरिदिँदा राम्रा गीतहरू त्यसै मर्ने भए, न्यून आए भएका कलाकार विस्थापित नै हुने हो त अब?' 

पछिल्लो समयमा बनेका अधिकांश गीतमा कम्तिमा पनि तीन लाख रुपैयाँभन्दा बढी लगानी भइरहेको छ। कलाकार विष्णु खत्रीले त सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटसमै यसबारे लेखेका छन्‌। आफूलाई गाउँ-गाउँका पर्यटकीय, धार्मिक स्थ सहित गाउँकै साइँला र साइँलीलाई खेलाएको मौलिक भिडियो हेर्न मन लागेको उनी बताउँछन्‌।

स्ट्याटसमा खत्रीले ‘अब त गाउँ गाउँको पर्यटकीय स्थल, धार्मिक स्थल, गाउँका साइला साइँली राखेको मौलिक भिडियो हेर्न मन छ। फिलिमे हिरो हिरोइनको मुख धेरै हेरियो। लोकगीतमा खेल्दिनँ भन्नेहरूलाई आज लोकदोहोरीमा देख्नपाइने रैछ, कोरोनाले उनीहरूको स्थिति पनि बिजोगै भएर होला बरा ! खुब लोकेहरूले हिरो हिरोइनको भजन गाइरहेछन् र भन्दैछन्‌ : फलानो हिरो रे, हिरोइन रे ! भ्युज बढ्ला भनेर।' 

उनी अगाडि लेख्छन्‌, 'जमाना अर्ग्यानिकको आयो, तर लोकेहरूले लोक बिर्सिए, स्पोन्सर भनेर हिरोइनको फोटो हाल्नेहरूको त मैले भुलेर पनि क्लिक गर्दिन। विषय गहन थियो, तर मैले भने भाइ म अहिले व्यस्त छु, फेरि कुरा गरौँला। मैले प्रकाश सपूत भाइलाई सम्झिरहेँ, जसले नेपाली लोक सङ्गीतमा थोरै खर्चमा पनि अथाह कथा दिएर आफ्नो नाम, काम उचाइमै दर्ज गराए। अग्रजले अनुजलाई पनि माया गर्न सक्ने बानी बसालौँ।’

डेढ दुई वर्ष अगाडिसम्म एक लाख रुपैयाँकै लगानीमा पनि लोकगीतका अडियो-भिडियो तयार हुने गरेका थिए। अहिले पनि सानो लगानीमा बनाउने हो भने एक लाखमा अडियो भिडियो तयार हुने कलाकारहरू नै बताउँछन्। लोकदोहोरी गायक तेज रेग्मी साङ्गीतिक बजार बढी नै प्रतिस्पर्धी हुनु, महँगी बढ्नु र अरूको देखासिकी गर्ने बानीका कारण लोकगीतको लगानी महंगो बनेको बताउँछन्।

‘चलेका अनुहार देखायो भने युट्युबमा राम्रो भ्यूज आउँछ भन्ने लोभमा धेरै लगानी भइरहेको छ। गीत चल्यो भने लगानी पनि उठ्छ’, उनले भने, ‘कम्पोज राम्रो छ भने ठूलो लगानी गर्नैपर्दैन। चर्चित अनुहार राखेर नचलेका, काम चलाउ भिडियो बनाएर पनि चर्चित बनेका गीत धेरै छन्।’

अर्का सुगम र लोक संगीत दुवै खालका गीत बनाउँदै आएका कलाकार कस्तुप पन्त अहिले लगानी गरे अनुसार आम्दानीको अवस्था नरहेको बताउँछन्। साङ्गीतिक बजारमा मौलिकता र उपलब्धिभन्दा धेरै हल्ला भएकोले ठूलो लगानीमा गीतहरू बनाइए पनि तीनको आयु छोटो रहेको पन्तको तर्क छ। ‘अहिलेको भिडियोमा निकै क्वालिटी छ, चलचित्र खिच्न रेड क्यामेरा प्रयोग हुँदा क्वालिटीमा खोट लगाउने ठाउँ त छैन। तर वास्तविक मौलिक गीत खोइ?’ उनले भने, ‘छोटो समयमा चर्चामा आउन नानाथरी हर्कतहरू गरिएका छन्, तर गीत कति बाँच्छ भन्ने कुनै टुङ्‌गो नै छैन।’

अब लोकगीतलाई दीर्घकालीन बनाउने र नेपाली गीतलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने बेला भएको पन्तको भनाई छ। गीतलाई पैसासँग नभई कलासँग जोड्न सक्नुपर्ने भन्दै उनले अहिलेका गीतहरू टिकटकमुखी भएका कारण पनि मौलिकतामा असर परिरहेको बताए। टिकटकमा अभिनय गर्नेहरूको रोजाइमा पर्न उनीहरूलाई मिल्ने शब्द लेख्नुपर्दा मौलिक गीतमा प्रयोग हुने अर्ग्यानिक र साहित्यिक शब्दहरू नै गीतबाट लोप हुने अवस्था आएको पनि कलाकार पन्त बताउँछन्।

चलचित्र तथा हास्य टेलिश्रृङ्खलामा अभिनय गर्दै आएका कलाकाहरू पल शाह, नाजिर हुसेन, शिल्पा पोखरेल, दिलीप रायमाझी, निता ढुङ्गाना, सागर लम्साल (बले), रक्षा श्रेष्ठ, रियाशा दाहाललगायत पछिल्लो समय राजेश हमाल, वर्षा सिवाकोटी र आँचल शर्मा पनि लोकगीतको म्युजिक भिडियोमा देखिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.