|

काठमाडौं : मुलुकभर कोभिड-१९ का संक्रमित दिनप्रतिदिन बढिरहेको छन्। संक्रमित बढेसँगै कोभिड उपचार केन्द्र भरिभराउ हुन थालेको छ। लक्षणसहितका  गम्भीर संक्रमितले समेत सामान्य बेड, आइसियु र भेन्टिलेटर पाउन छाडेका छन्।

यतिखेर काठमाडौं उपत्यकामा सबैभन्दा बढी संक्रमित रहेका छन्। संक्रमितको उपचार गर्न अस्पतालमा पर्याप्त बेड र अलग्गै बस्न आइसोलेसन केन्द्र पुगेका छैनन्। बेड नपाएछि गम्भीर अवस्थामा पुगेका संक्रमित समेत होम आइसोलेसनमै बस्न बाध्य पनि छन्।

काठमाडौं महानगरपालिका १६ हजार १५३ संक्रमित रहेका छन्। तर, कोभिड अस्पताल र आइसोलेसन कक्ष अभाव भइरहेको छ। संक्रमितहरूलाई अस्पतालको आकस्मिक कक्षमा राख्नुपरेको छ। यस्तो स्थिति निम्तिँदा पनि सरकारले प्रयोगमा नरहेका सरकारी भवनहरूलाई उपचार केन्द्र तथा आइसोलेसन कक्षका रूपमा विकास गर्न सकेको छैन।

यतिखेर उपत्यकामा ठूला-ठूला सरकारी भवनहरू खाली छन्। भूकम्पले क्षति गराएका दरबार हाइस्कुल र वीर अस्पतालको ट्रमा सेन्टरसँगै रहेको सैनिक डेन्टल अस्पताल पनि पुनःनिर्माण भइसकेका छन्। दरबार हाइस्कुल चीन सरकारको सहयोगमा निर्माण भएको कोरोनाको कारण देखाइ काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिएको छैन्।

बहुमतको सरकार भएको बेला समेत सरकार महामारीमा गैरजिम्मेवार बनेको भन्दै चौतर्फी आलोचना भइरहेको छ। सरकारले 'भगवान्‌ भरोसा'मा नागरिकलाई महामारीको चक्रब्युहमा थोपरदिएको नागरिक अभिव्यक्ति जताततै सुनिन्छ, देखिन्छ।

खाली भवन किन प्रयोगमा ल्याइएन ?

पत्रकार दीपक दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसले सत्तामा बसेकाहरूको गैरजिम्मेवार व्यवहार र महामारीमा पनि सरकार बेला आएको नागरिक अभिव्यक्तिको प्रतिनिधित्व गर्छ। उनले काठमाडौंको मध्यभागमा पुन:निर्माण भएका दुई ठूला भवन दरबार हाइस्कुल र सैनिक अस्पताललाई प्रयोगमा ल्याउनुपर्ने आशय व्यक्त गरेका छन्।

'सत्तामा महामारी रोकथामका लागि केही गर्नुपर्छ भन्ने हुटहुटी हुनेथ्यो भने यी भवन आइसोलेसन बनेर चलिरहेको हुन्थे,' दाहालले फेसबुकमा लेखेका छन,' वीरको सर्जिकल भवनमा बत्ति, पानी जोड्न बाँकी छ। त्रिचन्द्र मिलिटरी अस्पताल र दरबार हाइस्कुलको भवन तयार छ। संक्रमितको निगरानी गर्दै आवश्यकता अनुसार अक्सिजन, आइसियु र भेन्टिलेटरको योजना गर्न सकिन्छ। तर, खै सरकार कहाँ छ?'

'छलफल मात्र भएको छ'

कोभिड १९ को संक्रमण बढिरहेको कारणले चीनले निर्माण गरेको विद्यालय हस्तान्तरण गर्न नसकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। उपत्यकामा सबैभन्दा बढी संक्रमित महानगरपालिकाभित्रै रहेको उनले बताए।

'पहिलो प्राथमिकतामा संक्रमितलाई अस्पतालमा राख्ने, दोस्रोमा होटल र छात्रवासमा राख्ने र अन्तिममा केही भएन विद्यालयलाई प्रयोग गर्छौं,' प्रवक्ता डंगोलले भने, 'सकेसम्म विद्यालयलाई प्रयोगमा नल्याउने भन्ने हो, खाली भवनलाई के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ।' संक्रमितलाई राख्ने ठाउँ नै नभए प्रयोगमा ल्याइने उनले जानकारी दिए।

'भवन खाली छ'

वीर अस्पतालको ट्रमा सेन्टर नजिकै रहको मिलिटरी अस्पतालमा अहिले खाली नै रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

उनले भने, 'अहिले भवनको पूरै भाग खाली छ, आइसोलेसनको रूपमा प्रयोगमा ल्याउन हामीले मात्र निर्णय गरेर हुँदैन।'

'आइसोलेसन भवन बनाउन अनुमति पाएनौं'

आइसोलेसन सेन्टर बनाउनको लागि योग्य दुईवटै भवन प्रयोग गर्न सरकारले केही समयअघि पहल थालिसकेको थियो। दरबार हाइस्कुल र सेनाको अस्पताललाई आइसोलेसन सेन्टर बनाउनको लागि अनुमति नपाएको स्वास्थ्य मन्त्रालयका कोरोना फोकल पर्सन महेन्द्र श्रेष्ठले जानकारी दिए।

'दरबार हाइस्कुलमा विद्यालयका फर्निचर राखिसकेकोले र सैनिक अस्पतालमा उपचार प्रक्रिया अगाडि बढिसकेको ति भवनलाई प्रयोगमा ल्याउन सकिएको छैन,' श्रेष्ठले भने। गम्भीर प्रकृतिका संक्रमितलाई आइसियु र भेन्टिलेटर अभाव रहेकाले व्यवस्थापन गर्न थप्ने प्रक्रिया अगाडि बढिसकेको उनले प्रस्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.