नेताहरु जिल्ला दौडाहामा, एकताको काम अझै बाँकी

|
फाइल फाेटाे

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी सभाको बैठक डाकेको छ। कार्यविभाजन र पार्टी समायोजनको काम टुङ्ग्याउने विषयमा आगामी कात्तिक ३/४ गते कार्यकारिणी सभाको बैठक बस्न लागेको हो।

कात्तिक ३ र ४ गते बस्ने बैठकले कार्यविभाजन र समायोजनको काम सिध्याउने तयारी रहेको जसपा कार्यकारिणी सभा सदस्य केशव झाले जानकारी दिए।  पटक पटक बैठक बस्दै सहमति नहुँदा निर्णय हुन नसकेकाले आगामी बैठकमा भने नेताहरूबीच सहमति जुट्ने बताइएको छ।  

यस्ता छन् एजेण्डा 

सत्तारुढ नेकपाले प्रयोग गर्दै आएको तुलसीलाल अमात्य प्रतिष्ठानमा कात्तिक ३, ४ गते बस्ने कार्यकारिणी सभाको बैठकमा छलफल गर्ने एजेण्डाहरु तय भइसकेको झा बताउँछन्।

‘बैठकका लागि विभिन्‍न एजेण्डाहरु भइसकेका छन्,’ उनले भने, ‘पार्टीको विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार गर्ने, समिति तथा संघीय परिषदको कार्य विभाजनसँगै तथा समायोजनका विषयमा छलफल हुनेछन्।’  

जसपाका नेताहरु अहिले तराई तथा पहाडका जिल्लामा आफूलाई सक्रिय रहेको देखाइरहेका छन्। कोरोना भाइरस संक्रमणको जोखिमकै बीच पनि जसपाका नेताहरुको जिल्ला दौडाहा भने बाक्लिएको छ।

कोरोना जोखिमबाट बच्न सरकारले जारी गरेको स्वास्थ्य मापदण्डसमेत बेवास्ता गरेर जिल्ला जिल्लामा कार्यकर्ता प्रवेश गराउन जसपाका केन्द्रीय कार्यकारिणी सदस्यहरु नै व्यस्त छन्। तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बनेको हो। 

जसपाको केन्द्रीय समितिमा दुई महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन्। राजेन्द्र महतो, अशोक कुमार झा, बाबुराम भट्टराई वरिष्ठ नेता छन्। 

गत शनिबार मात्रै अध्यक्ष ठाकुर र वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पार्टीको आगामी रणनीति र कार्यविभाजन कसरी गर्न सकिन्छ भने पार्टी सम्बद्ध बुद्धिजीवीसँग छलफल गरेका थिए। भट्टराई पनि विभिन्न जिल्लाको कार्यक्रममा उक्तिकै सक्रिय देखिएका छन्।  

के रोकिएको छ? कसरी बढ्ला? 

संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भइसकेपछि केन्द्रीय समितिको कार्यविभाजन, प्रदेश समितिसहित स्थानीय तह र भ्रातृ संस्थाको समायोजन हुन बाँकी नै छ।

गत भदौ दोस्रो साता बसेको जनता समाजवादी पार्टी (जसपा) को सचिवालय बैठकले साङ्गठानिक संरचना समायोजन निर्देशिका पारित गर्दै जिल्ला तहमा कसरी समायोजन गर्न सकिन्छ भनेर परिपत्र पठाएको थियो। समायोजन सम्बन्धी निर्देशिका २०७७ बनेको छ। यही निर्देशिका अनुसार पार्टीको संगठन, समिति, संगठनहरु समायोजन हुनेछन्।  

जसपाका अर्का नेता प्रशान्त सिंह अगामी बैठकमा मुख्यत कार्य विभाजनको विषयमा छलफल हुने बताउँछन्। ‘आगामी बैठकमा विशेष गरी कार्य विभाजनको पाटो टुङ्ग्याउने गरी छलफल हुनेछ,’ उनले भने, ‘एजेण्डाहरु थपिने क्रममा छन्। विभिन्‍न नियमावली बनेको छ। अब  बस्ने बैठकले ती नियमावलीहरुलाई पारित गर्नेछ।  माथि देखि तलसम्मको कार्यविभाजन नै मुख्य एजेण्डा हो।’

समायोजनको लागि बनेको निर्देशिकामा अध्यक्षलगायत नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ, जनवर्गीय संगठन लगायत सङ्गठनात्मक स्थिति, पछिल्लो निर्वाचन परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, क्षमता, योग्यता र प्रभावकारितालाई आधार बनाइने व्यवस्था छ।

पार्टीका विभिन्‍न समितिहरु समायोजन गर्दा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी मात्र दिइने लगायत पनि उल्लेख गरिएको छ। आगामी बैठक पछि पार्टीका सबै तहका नेताहरुले जिम्मेवारी पाउने विश्वास सिंहले व्यक्त गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.