|

इलाम : म्याच फिक्सिङ प्रकरणका कारण निलम्बन भएका नेपाल पुलिस क्लबका गोलरक्षक रितेश थापाको निलम्बन फुकुवा भएको छ। २०७२ सालबाट निलम्बन भएका रितेश पुलिसको असई पदमा कार्यरत रहेका थिए। पुलिसले असोज १९ गते रितेशको निलम्बन फुकुवा गरेको हो।

हा खबरसँग कुरा गर्दै थापाले न्याय पाएकोमा खुशी लागेको बताए। ‘झन्डै ५ वर्ष निलम्बन परेको थिएँ। आज पुलिसले पुनः ड्युटीमा खटाउने हुँदा खुशी लागेको छ’ उनले भने, ‘प्रहरी संगठनलाई दिएको भूमिकाले आज आएर न्याय दिएको छ।’

उनले खेलाडी जीवनमा नफर्कने तर नेपाली खेलकुदलाई सधैँ सहयोग गर्ने बताए। ‘उमेर पनि ढल्कियो सक्रिय खेलाडी जीवनमा त फर्कन सक्दिनँ तर नेपाली फुटबललाई सदैव माया गर्नेछु’ उनले भने, ‘अब प्रशिक्षक वा टिम म्यानेजरको रुपमा भूमिका निर्वाह गर्नेछु।’

इटहरीमा जन्मिएका थापाले नेपाली घरेलु फुटबलमा थ्री स्टार क्लबबाट खेल्न सुरू गरेका थिए। उनले २००४ मा ४ वर्षे थ्री स्टार करिअर छाडेर नेपाल पुलिस क्लबमा आवद्ध भएका थिए। नेपाल पुलिस क्लब २००७ एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुँदा उनी टिमका एक महत्त्वपूर्ण सदस्य रहेका थिए।

उनले नेपाल पुलिस क्लबबाटै नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता शहिद स्मारक ए डिभिजन लिग चार पटक जित्न सफल भएका थिए। उनी क्लब प्रवेश गरेको सिजनमा उपविजेता भएका थिए।

रितेशले शहिद स्मारक लिगको ५ पटक उत्कृष्ट गोलरक्षकको उपाधि पाएका थिए।

नेपाली राष्ट्रिय टोलीका भरपर्दा गोलरक्षक मानिएका रितेशले सन २००३ मा दक्षिण कोरिया विरुद्धको खेलमा नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। सन २००४ को एएफसी एसियन कप छनौटमा गोलरक्षक उज्वल मानन्धरलाई प्रतिस्थापन गर्दै उनी राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। खेल नेपालले १६–० ले हारेको थियो। उनले नेपालबाट १२ खेल खेलका छन्।

रितेशसहितका सबै खेलाडीले मिलेमतोको आरोप स्वीकारेको भन्दै प्रहरीले तत्कालै रितेशलाई जागिरबाट समेत निलम्बन गरेको थियो। उनलाई राज्यविरुद्धको विप्लपको मुद्दा लागेको थियो, तर केही महिना अगाडी मात्र रितेशसहित ६ फुटबलरलाई अदालतले सफाइ दिएको थियो।

म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै अदालतले सफाइ दिएपछि प्रहरीले रितेशलाई फेरि जागिरमा बोलाएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.