|

सर्लाही : रामनगरमा कुटपिटपछि एक जनाको मृत्यु भएको घटनालाई लिएर सदरमुकाम मलंगवामा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा दुई डिएसपीसहित दुई दर्जन प्रहरी घाइते भएका छन्। 

बुधबार जिल्ला प्रहरी कार्यालय घेराउ तथा जाहेरी दिन गएका नेपाली कांग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको हो। प्रतिनिधि सभा सांसद अमरेश कुमार सिंह र प्रदेश–२ का सांसद वीरेन्द्र सिंहको नेतृत्वमा कांग्रेसका सयौं नेता कार्यकर्ता जिल्ला प्रहरी कार्यालय घेराउ गर्न सदरमुकाम मलंगवा पुगेका थिए। 

प्रहरीले शान्तिपूर्ण र्‍यालीमा सहभागी आफ्ना कार्यकर्तामाथि अन्धाधुन्ध लाठी र अश्रुग्यास प्रहार गरेको कांग्रेस जिल्ला सभापति नागेन्द्र रायले बताए। प्रहरी कार्यालयमा जाहेरी दिन गएका पीडित परिवारमाथि बिनाजानकारी प्रहरीले बर्बर दमन गरेको उनको भनाइ छ। 

घटनामा दुई दर्जन बढी आफ्ना नेता कार्यकर्ता घाइते भएका प्रतिनिधि सभाका सांसदसमेत रहेका कांग्रेसका नेता अमरेश सिंहले बताए। घाइतेहरुको जिल्ला सदरमुकामस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ। 

‘हामी जिल्ला प्रहरी कार्यालय अगाडि शान्तिपुर्ण अवस्थामा थियौं।’ सभापति रायले भने, ‘प्रहरीले एक्कासि हामीमाथि अश्रुग्यास र लाठी वर्षायो।’ ​सयौंको संख्यामा रहेका कांग्रेस कार्यकर्ताले एक्कासि कार्यालयमा ढुंगामुढा गरेका प्रहरीले जनाएको छ। 

प्रहरीले भीड तितरबितर पार्न लाठी चार्ज गर्नुका साथै ३२ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। झडपमा जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवर र इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटसहित २२ जना सुरक्षाकर्मी घाइते भएका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।

घटनामा सशस्त्र प्रहरीसमेत सामान्य घाइते भएका सशस्त्र प्रहरीका डिएसपी सरोज खड्काले बताए। 

के थियो घटना? 

असोज २१ गते साँझ सर्लाहीको रामनगर गाउँपालिका–७ सिसौटका महेन्द्र राममाथि निर्घात कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते रामको उपचार क्रममा २२ गते इण्डो अस्पताल वीरगन्जमा मृत्यु भएको थियो। 

कांग्रेसले आफ्ना कार्यकर्तासमेत रहेका रामको हत्याको घटनामा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको, राजनीतिक दबाबमा पीडितको जाहेरी नलिएको आरोप लगाउँदै आएका थियो। 

उनीहरुले महेन्द्र रामलाई सहिद घोषणा गर्न र हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी मुद्दा दायर गर्न माग गरेका थिए। घटनाको निष्पक्ष छानबिन नभएको भन्दै परिवारले शवसमेत बुझ्न अस्वीकार गरेका छन्।  रामको शव वीरगन्जस्थित अस्पतालमा राखिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.