|
फाइल फोटो ।

दमक : २८ असोज÷ लामो समयसम्म पनि स्वाब परीक्षण नतिजा नआउँदा दमकका सर्वसाधारणमा थप त्रास थपिएको छ। 

दमक नगरपालिकाको संयोजनमा नौ दिनअघि पठाइएका ३८६ मध्ये ५७ जनाको मात्र नतिजा आएको छ। ती मध्ये तीन जनामा संक्रमण देखिएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ। अन्यको रिपोर्ट आउने आशामा रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालले बताएका छन्। 

रिएजेन्ट नमिल्दा ढिलाइ

मेची अस्पताल अन्तर्गतको कन्काई नगरपालिकास्थित प्रयोगशालामा पठाइएका नमूनाको रिपोर्ट आउन ढिलाई भएको हो। प्रयोगशालामा प्रयोग हुने गरेको रिएजेन्ट नमिलेका कारण परीक्षणमै समस्या भएकाले रिपोर्ट आउन ढिलो भएको जानकारी पाएको जनस्वास्थ्य निरीक्षक बरालले बताएका छन्। उनले भने, ‘एकातर्फ ल्यावमा चाप छ, त्यहाँमाथि रिएजेन्ट नमिलेका कारण झनै समस्या भएको जानकारी पाएका छौं।’

यसअघि परीक्षणका क्रममा दमकका जनप्रतिनिधि, अगुवा व्यवसायी, औषधी व्यवसायी लगायतमा समेत संक्रमण देखिएपछि सर्वसाधारणमा थप त्रास देखिएको हो। उनीहरुको सम्पर्कमा धेरै व्यक्ति पुग्ने हुँदा त्रास देखिएपछि परीक्षण नै रोकिएको हो। 

समुदाय नै तनावमा

परीक्षणका लागि नतिजा दिएका दमकका एक व्यवसायीले भने, ‘बरु रिपोर्ट जे जस्तो आए पनि ढुक्क हुने थियो, रिपोर्ट नै होल्ड हुँदा त आफू त तनावमा परियो- परियो, परिवार र छिमेकी समेत तनावमा छन्।’

ठूलो संख्यामा रिपोर्ट होल्ड हुँदा यसको त्रास सिंगो नगरमा परेको छ। यस्तै नगरपालिकाले केहि दिन कार्यालयका सेवा रोकेर परीक्षणको दर बढाउने प्रयास गरे पनि नतिजा नआउँदा कर्मचारी नियमित कार्यालय जान डराई रहेका छन्। एक कर्मचारीले भने, ‘रिपोर्ट अझै आएको छैन, कार्यालय जाँदा अरुलाई पनि सारिन्छ कि भन्ने पीर, नजाँदा पनि काम त गर्नैपर्‍यो।’

नगरपालिकाबाट पठाएका रिपोर्ट आउन ढिलाई भएपछि केहीले निजी तवरबाट परीक्षण गराउन थालेका छन्। निजी तवरबाट परीक्षणका लागि स्वाब पठाएका दुई जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिएका छन्।

यस्तो छ आँकडा

हालसम्म दमकमा २१६ जनामा संक्रमण देखिएको छ। तीमध्ये तीन जनाको मृत्यु भएको छ भने ४५ जना सक्रिय संक्रमित छन्। बाँकी संक्रमण मुक्त भइसकेका छन्। 

दमक नगरपालिकाका नगरप्रमुख रोमनाथ ओलीलाई समेत संक्रमण भएपछि उनी यतिखेर स्वास्थ्य लाभको क्रममा छन्। यस्तै, नगरका अन्य केही जनप्रतिनिधिमा समेत संक्रमण देखिएपछि पछिल्लो पटक नगरपालिकाले सबै सेवा बन्द गरेको थियो।

अझैपनि सबै नमूनाको रिपोर्ट नआइसकेकाले नियमित काममा जान त्रास रहेको कर्मचारीहरुको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.