काठमाडौं : नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गरेका दिन सेयर बजारमा झिनो अंकले सुधार भएको छ।
अर्थमन्त्रीका रुपमा पौडेलको दोस्रो इनिङ सुरु हुँदै गर्दा धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर एक हजार ५६२.४६ मा पुगेको छ।
तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालभर सेयर बजार सुस्ताएको थियो। मन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै सेयर बजारलाई खतिवडाले अनुत्पादक भनिदिएका थिए। त्यसपछि उनको कार्यकालभर सेयर बजार धेरै समय ओरालो लागेको थियो।
बिहीबार पौडेलले पदभार ग्रहण गरेको दिन सेयर बजारको सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ। कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर एक अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भए।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीबार पाँच उपसमूहको सेयर उकालो लाग्दा सात उपसमूहको सेयर भने ओरालो लागेको छ।
बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ। यस्तै होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बीमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ विन्दुले ओरालो लागेको छ।
कारोबारका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यस कम्पनीको सात करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो।
यस्तै शिवम् सिमेन्ट ६ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर पाँच करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पाँच करोड ४८ लाख ५७ हजार ३१२, मञ्जुश्री फाइनान्स तीन करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर तीन करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.८७, जनरल इन्स्योरेन्स ९.८५, माउन्टेन हाइड्रो ७.३३, रैराङ हाइड्रोपावर ४.७४, खानीखोला हाइड्रोपावर ३.६० र सानिमा माई हाइड्रेपावरका लगानीकर्ताले ३.१३ प्रतिशतले कमाए।
त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था ५.२१, खाँखु खोला जलविद्युत् कम्पनी ५.०८, नेपाल हाइड्रो ४.५५ र युनिलिभर नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।