|

पर्वत : गण्डकी प्रदेशमा निजी प्रयोगशालाबाट पनि कोरोना संक्रमण भए/नभएको परीक्षण गर्न थालिएको छ।

कास्कीको पोखरा महानगरपालिका स्थित न्यूरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले कोरोनाको पीसीआर परीक्षण शुरू गरेको हो। यो नै प्रदेशमा निजी ल्याबबाट कोरोनाको परीक्षण गर्ने पहिलो प्रयोगशाला हो।

प्रदेशकै एक मात्र ‘क’ वर्गको ल्याबका रूपमा रहेको लाइफकेयरले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ।

कोभिड–१९ को परीक्षणकै लागि मात्र एक करोड रुपैयाँ भन्दा बढी थप लगानी गरेर प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. अमर नागीलाले बताए। उनका अनुसार   अमेरिकी ब्रान्डको ९६ वेलप्लेट आरटिपीसीआर मसिनले एक पटकमा ९६ वटा स्वाबको परीक्षण गर्न सकिने छ।

पीसीआर परीक्षणका लागि पीएचडी होल्डर माइक्रोबायोलोजिस्ट लगायत १५ जना दक्ष जनशक्तिको व्यवस्था गरिएको छ। सेवाग्राहीलाई २४ घण्टाभित्रै पीसीआरको रिपोर्ट उपलब्ध गराइने प्रबन्ध निर्देशक शुक्रराज कँडेल बताउँछन्। अति आवश्यक अवस्थामा तीन घण्टामा नै रिपोर्ट दिन सकिने उनको भनाई छ।

बिहान सात बजेदेखि साँझ सात बजेसम्म खुल्ला रहने ल्याबमा एक दिनमा करिब तीन सय जनाको नमुना परीक्षण गर्न सकिन्छ। निर्देशक कँडेलले पीसीआर परीक्षण शुल्क दुई हजार रुपैयाँ मात्रै लिइने र अन्य शुल्क नजोडिने पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.