|

बाँके : नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको गएराति मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो निवासी १८ वर्षीया युवतीको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको श्वासप्रश्वासमा समस्या थियो। सङ्क्रमित पुरुषलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाज्मा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयूमा उपचारकै क्रममा गएराति नौ बजे मृत्यु भएको हो।

मृतक पुरुषको असोज २४ गते स्वाब सङ्कलन गरिएको थियो भने पिसिआर रिपोर्ट असोज २५ गते पोजेटिभ आएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीको गएराति १० बजे मृत्यु भएको छ। रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारका उपचार दिँदै गर्दा समेत बिरामीको अवस्थामा सुधार नआएपछि आइसीयुमा उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले बताए।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले मृतकका आफन्तसँगको समन्वयमा शवको व्यवस्थापन तयारी भइरहेको जानकारी दिएका छन्‌।

​बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २९ र बाहिरी जिल्लाबाट आई उपचारको क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.