|
फाइल फोटो

जनकपुरधाम : प्रदेश २ सरकारले छठ पर्वपछि प्रहरी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

प्रदेशको शान्ति सुरक्षाका लागि सरकारको आफ्नै प्रहरी आवश्यक भन्दै छठपछि भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए।

प्रदेश प्रहरी विधेयक पारित भएको डेढ वर्ष बितिसकेको छ। मन्त्री यादवले आफ्नो मन्त्रालयले समेत स्वीकृति दिइसकेकाले अब ढिला नगरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको बताए।

प्रहरी जवान, असई, सई र इन्सपेक्टरसहितका पदमा प्रदेश लोक सेवाको समन्वयमा भर्ना प्रक्रिया अगाडि बढाउने मन्त्री यादवको भनाई छ। तर तत्काल कुन पदमा कति सिटका लागि भर्ना गर्ने विषयमा उनले अहिले तत्काल संख्याबारे निर्णय नभएको बताए।

‘भर्नाको मापदण्ड तयार भएपछि आवश्यकताको हिसाबले संख्या तय गरिनेछ’, मन्त्री यादवले भने, ‘अहिले नै कति संख्यामा प्रहरी भर्ना गर्ने कुरा भन्न सकिन्न।’ आवश्यकता हेरेर संख्या तय गरिने उनको भनाइ छ।

केही दिनअगाडि मात्रै संघीय सरकारले ठूलो संख्यामा प्रहरी भर्ना गर्ने आवेदन खुल्ला गरेको थियो। अहिले आवेदन पर्नेक्रम जारी छ। तर संघीय सरकारलाई चुनौती दिँदै प्रदेशले पनि प्रहरी भर्ना गर्ने प्रक्रिया अगाडि बढाउन लागेको छ।

कर्मचारी भर्ना गर्न पाउने प्रदेशलाई संवैधानिक अधिकार रहेको र सोहीबमोजिम प्रहरी भर्ना गर्ने मन्त्री यादव बताउँछन्। संघीय सरकारले प्रदेश सरकारको अधिकारलाई मिचेर संघीयता कमजोर पार्ने षड्यन्त्र गरी प्रहरी भर्ना गर्न लागेको उनको आरोप छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.