|

काठमाडौं : कोरोना संक्रमितको नि:शुल्क उपचारबाट सरकारले हात झिकेपछि अस्पतालहरू पनि पन्छिन थालेका छन्। कोरोना भाइरस (कोभिड-१९) संक्रमित सबैको उपचार खर्च नव्यहोर्ने घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेसँगै अस्पतालहरू पन्छिन थालेका हुन्। 

देशकै प्रमुखमध्ये एक काठमाडौंको नयाँबानेश्‍वरस्थित निजामती अस्पतालले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्न नसकिने भन्दै सूचना नै प्रकाशित गरेको छ। 

उसले स्वास्थ्य मन्त्रालयको निर्णयानुसार कोभिड संक्रमितको उपचार खर्च अब व्यहोर्न नसकिने जनाएको हो। अस्पतालले कात्तिक २ गतेदेखि नै लागू हुने गरी यस्तो निर्णय गरिएको जनाएको छ।

'कोरोना संक्रमितले कात्तिक २ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च विरामी स्वयमले व्यहोर्नुपर्ने जानकारी गराइन्छ', अस्पताल प्रशासनले भनेको छ, 'खानाका लागि अस्पताल क्यान्टिनमा नगद धरौटी राखी उपलब्ध हुने जानकारी गराइन्छ।'

के भनेको थियो मन्त्रालयले ? 

स्वास्थ्य मन्त्रालयको आइतबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले विपन्‍न, असहाय, अपाङ्ता भएका व्यक्ति, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र सरसफाइकर्मीहरुको मात्रै परीक्षण तथा निशुल्क उपचार गर्ने निर्णय भएको बताए। 

अन्य व्यक्तिहरुले सबै किसिमका परीक्षण तथा उपचार आफ्नै खर्चमा गर्नु पर्ने प्रवक्ता डा. गौतमले जानकारी दिएका थिए। गौतमको यो घोषणालाई त्यही दिनदेखि नै अस्पतालहरुले लागू गरेका हुन्। 

नि:शुल्क परीक्षण तथा उपचार हुने व्यक्तिहरुको इन्स्योरेन्स गरेको भए उनीहरुको उपचार इन्स्योरेन्सको रकमबाटै गरिने निर्णय भएको पनि गौतमले बताएका थिए। कोरोना संकट महामारीको दिशातर्फ अग्रसर भइरहँदा सरकारले नागरिकको जिम्मेवारीबाट खुट्टा झिकेको भन्दै अहिले चर्को आलोचना भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.