|

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सिटी स्क्यान मेसिन सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकारको करिब तीन करोड रुपैयाँ लगानीमा अत्याधुनिक सिटी स्क्यान मेसिन सञ्चालनमा आएको हो।

१६ स्लाइसको सिटी स्क्यान मेसिन दाङमा रहेका सरकारी अस्पतालमध्ये पहिलो पटक जडान गरिएको अस्पतालले जनाएको छ। आइतबारदेखि परीक्षण सुरु भए पनि औपचारिक शुरु भने दशैंपछि गरिने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए। 

परीक्षणकालको समयमा गरिएको सिटी स्क्यान सेवा निःशुल्क हुने समेत उनले बताए। औपचारिक रुपमा उद्घाटन गरेर सुरु भएपछि भने सिटी स्क्यानको प्रकृति हेरेर पाँच हजारदेखि साढे ६ हजार रुपैयाँसम्म शुल्क लाग्ने उनले बताए।  टाउकोमा लागेको चोट, नशामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने उनको भनाइ छ। अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा प्रत्येक महिना करिब ५० जनासम्म जिल्लाबाहिर जानु पर्दथ्यो।  

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पनि अत्याधुनिक १२८ स्लाइसको सिटी स्क्यान मेसिन ल्याइएको छ। प्रतिष्ठानमा मेसिन दशंैपछि जडान गरी सञ्चालन गर्ने प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले जानकारी दिइन्। यति ठूलो क्षमता र उच्च गुणस्तरयुक्त सिटिस्क्यान मेसिन पहिलो पटक प्रतिष्ठानमा ल्याइएको प्रतिष्ठानले जनाएको छ। 

उक्त सिटी स्क्यान मेसिनमा मुटुको समेत परीक्षण सकिने भएकाले यो उच्च गुणस्तर रहेको प्रा.डा भण्डारीले बताइन्। प्रतिष्ठानले एकपछि अर्को गर्दै पछिल्लो पटक सेवा बिस्तार गरिरहेको छ। सेवा विस्तारमा जोड दिएको प्रतिष्ठानले यसअघि अत्याधुनिक ल्याब, डेण्टल, १० शय्याको भेन्टिलेटरसहितको आइसियु, बच्चाका लागि एनआइसियु सेवा सुरु गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.