|

पर्वत : कोरोना सङ्क्रमणको जोखिमका कारण मन्दिर तथा शक्तिपीठमा जान निषेध गरिएको बेलामा पोखराका केही व्यक्तिहरूले मन्दिर खुलाउने प्रयास गरेका छन्।

सरकारले हिन्दु धर्म मास्न खोजेको आरोप लगाउँदै विश्व हिन्दु महासङ्घमा आबद्ध रहेका तथा हिन्दु धर्ममा आस्था राख्नेहरूको समूहले पोखराको बिन्दबासिनी मन्दिरमा छिरेर पूजाआजाको प्रयास गरेका हुन्।

दुई दिन अघिदेखि नै सामाजिक सञ्जाल फेसबुकमा अभियान चलाएर मङ्गलबार बिहान मन्दिर खुलाउन जम्मा हुन आह्वान गरिएको थियो। प्रहरीले भने उनीहरूको योजनालाई विफल बनाएको छ।

कोरोना कहरकै बीचमा पनि चर्चहरू बन्द नगरिएको बेला हिन्दु धर्मावलम्बीहरुले महान् चाड दशैँमा समेत पूजा गर्न नपाएको भन्दै विश्व हिन्दु महासङ्घको अगुवाइमा मन्दिरमा पूजाआजा गराउनको लागि सबैलाई आह्वान गरिएको सचिव कमल पौडेलले बताए।

‘चर्चहरू बन्द गरिएका छैनन्। हिन्दु धर्मावलम्बीहरूको महान् चाडको बेलामा मन्दिरहरू बन्द गराएर धर्ममाथि नै पक्षपाती व्यवहार भएको छ,’ उनले भने, ‘हामीले प्रहरीसँग घम्साघम्सी गर्न चाहेनौँ। हामीलाई मन्दिरको गेटैमा रोकियो। तर नैतिकता गुमाएर जबरजस्ती गरेनौँ। तर सरकारले मन्दिरमा जान अवरोध गर्नु हुँदैन।’

सबै सङ्घ संस्थाहरू पूर्ववत् रूपमा नै सञ्चालनमा रहेको बेलामा पनि मन्दिर खोल्न निषेध गर्नु अस्वीकार्य भएको र आफूहरूले मन्दिरमा हात धुनका लागि साबुन पानीको व्यवस्थापन, सेनिटाइजर प्रयोग र सामाजिक दुरी कायम हुने गरी मन्दिर खुलाउनुपर्ने माग गरेको महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खरालले बताए। मठ मन्दिर खुलाउने वा बन्द गर्ने भन्ने निर्णय सरकारले नभई त्यहाँको समितिले गरेको निर्णय लागु हुनुपर्ने र कोरोनालाई जित्ने मनोबल उच्च राख्न पनि धार्मिक संस्थामा गएर पूजाआजा गर्न पाउनुपर्ने आफूहरूको माग रहेको उनको भनाई छ।

देशमा धेरै कुराहरू खुली रहेको अवस्थामा मानिसले शान्ति प्राप्त गर्ने धार्मिक स्थललाई नै बन्द गराएको विरोध स्वरूप आफूहरूले मन्दिर खुलाउने प्रयास गरेको सामाजिक अभियन्ता श्रीस गुरुङले बताए।

विश्व हिन्दु महासङ्घले मङ्गलबार नै मन्दिर खुलाउने विषयमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग कुराकानी गर्न खोजेको भए पनि उनी पोखरा बाहिर रहेको र बुधवार काठमाडौँ जान लागेका कारण कुरा हुन नपाएको उनीहरूको भनाई छ।

यस विषयमा बुधवार उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री विकास लम्सालसँग भेटेर कुरा गर्ने तथा बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिएर ज्ञापन पत्र बुझाउने कार्यक्रम राखिएको खरालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.