|

बागलुङ : पहिरोले क्षति पुर्‍याएको भवन पुनर्निर्माण हुन नसक्दा यहाँको एक विद्यालयका बालबालिका सामुदायिक भवन र खुला चौरमा पढ्न बाध्य भएका छन्।

जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीमा रहेको जनता प्राथमिक विद्यालयको भवन भत्किएपछि विद्यार्थीहरुलाई खुला चौर र सामुदायिक भवनमै वैकल्पिक सिकाइमा सहभागी गराइएको हो। जसका कारण विद्यार्थीको सिकाइ प्रभावित भएको छ।

विद्यालय भवन रहेको जमिन चर्किने र धाँजा फाट्ने भई दुई वटै भवन बस्न नमिल्ने गरी भत्किएका छन्।

ट्रसले निर्माण गरिएको दुईकोठे भवन भाँसिएको छ। ढुंगाले छाएको अर्को दुईकोठे भवनसमेत पूर्ण रुपमा भत्किएको विद्यालयले जनाएको छ। भवन पूर्ण रुपमा नढले पनि कक्षाकोठा भित्रको भुइँ, छानो र पर्खाल पूर्णरुपमा क्षतिग्रस्त भएका प्रधानाध्यापक कृष्णा कुमारी श्रीस थापाले बताइन्।

भवन अभावका कारण विद्यालयले महिला समूहले बनाएको सामुदायिक भवनमा विद्यार्थीलाई राखिएको छ। यो विद्यालयमा ३० विद्यार्थी अध्ययनरत छन्। गत महिनादेखि विद्यालयले सामुदायिक भवनमा पठनपाठन सुरु गरेको हो।

भवनमा शौचालय नहुँदा विद्यार्थीलाई शौचालय गर्न समस्या भएको प्रअ थापाले बताइन्। भत्किएका भवनको विषयमा विद्यालय व्यवस्थापन समितिले नगर शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई र शिक्षा मन्त्रालयसम्म जानकारी गराएको छ।

‘तत्काल भवन निर्माण गर्न सम्भव छैन, विकल्प दिनुस् भनेर सरोकारवालासँग छलफल गरेका छौं’, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश छन्त्यालले भने, ‘तत्काल भवन बनाउने वा अरु विकल्प खोज्नेबारे निर्णय हुन बाँकी छ।’

गत असार १२ गते राति परेको अविरल वर्षाले विद्यालयमा क्षति पुगेको थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.