|

धनकुटा : धनकुटाबाट निर्वाचित प्रदेशसभा १ सदस्य इन्द्रमणि पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिका समितिका सभापति समेत रहेका सांसद पराजुलीलाई केही दिन अघिदेखि ज्वरो आउने र जिउ दुख्ने समस्या सुरु भएपछि सोमबार स्वाब दिएका थिए।

पराजुलीको मंगलबार कोरोना पोजिटिभ रिपोर्ट आएको हो। मंगलबारदेखि ज्वरो केही कम भएको भए पनि जिउ दुख्ने समस्या भने उस्तै रहेको सांसद पराजुलीले बताए।

दुई तीन दिनदेखि ज्वरो आएपछि घरमै बसेको उनले बताए। सांसद पराजुली असोज २२ गते विराटनगरबाट धनकुटा फर्किएका थिए। अहिले उनी धनकुटा सदरमुकामस्थित घरमै ‘होम आइसोलेसन’ बसेका छन।

कोरोना संक्रमण पुष्टि भएपछि सांसद पराजुलीले आफूसँग केही दिनयता सम्पर्कमा आएकाहरुलाई सजगता अपनाउन सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।

यस्तै सांसद पराजुलीसँगै उनका सवारी चालक सन्तोष रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेककटहरे घर भएका चालक रायमाझीलाई पनि कोरोना भएपछि उनी पनि सांसद पराजुलीसँगै होम आइसोलेसनमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.