|

रौतहट : रौतहटमा एक संस्था बिछोडिएका दम्पतीलाई पुन मिलाउने  काम गर्न थालेपछि उजुरीको चाङ लाग्न थालेको छ। मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटले अहिले विभिन्न किसिमका पीडित परिवारहरुको समस्याको समाधान गर्न थालेपछि उजुरीको चाङ लाग्न थालेको हो।

उक्त संस्थाको पहलमा चन्द्रपुर नगरपालिका-१  बागमतीका  अमरसिंह जिस्वाले आफ्ना हराएकी श्रीमती भेट्टाएका छन्। श्रीमती हराएको मेची महाकाली बुहारी संयुक्त आवाजमा उजुरी गरेपछि उजुरी परेको २ दिनमै जिस्वाले हराएकी श्रीमती भेट्टाएका हुन्।

गत असोज २६ गते जिस्वाले आफ्ना श्रीमती निरु तामाङको खोजतलास गरिदिन  मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटकी संयोजक पूजा पाठक तिमल्सिनालाई निवेदन दिएका थिए। निवेदन परेपछि  संयोजक पाठकका टिमले खोज तलास कार्य आरम्भ गरेका थियो। संयोजक पाठकले श्रीमान जिस्वा तथा  अन्यहरुबाट पाएको जानकारीका अधारमा काठमाडौंमा आफ्ना प्रेमिकासँग रहेकी निरुलाई श्रीमानको जिम्मा लगाउने कार्यमा सहयोग गर्न काठमाडौं कपन प्रहरीलाई अनुरोध गरेकी थिइन्।

निरुको खोजतलास गरी प्रहरीले नियन्त्रणमा लिई निजको श्रीमान जिस्वालाई इप्रका चन्द्रनिगाहपुरमा बुझाउने गरी पठाएका थिए।

वडा नं १ को मेलमिलाप कार्यालयमा पीडित र पीडक तथा सरोकारबालाहरूबीच भएको छलफल तथा मेलमिलापपछि निरुले आफूले गरेका गलतीहरूबारे क्षमा माग्दै अब आइन्दा यस्ता गल्ती नगर्ने र श्रीमान तथा बच्चाहरूलाई सँगै लिई घर बस्ने प्रतिबद्धता जनाएको संयोजक पाठकले जानकारी दिइन्।

यसैगरी रौतहटकै फतुवा विजयपुर नगरपालिका-१० मा  पनि लामो समयदेखि बिछोडिएका श्रीमान् श्रीमतीलाई एकैठाउँ राख्ने काम संस्थाले गरेको संयोजक पाठकले बताएकी छन्।

फतुवा विजयपुर नगरपालिका-१०का सुशील प्रसाईं र उनकी श्रीमती कल्पना प्रसाईंलाई गत आइतबारका मिलापत्र गराउँदै एकत्रित गरेको हो।

श्रीमतीसँग मिलापत्र गराइदिन पीडक प्रसाईंले मेची महाकाली बुहारी संयुक्त आवाज रौतहटलाई अनुरोध गरेपछि संयुक्त आवाज रौतहटले बारा जिल्लामा रहेका निज प्रसाईंका श्रीमतीलाई मिलाउन पहल गर्न आफनो बाराका टिमलाई अनुरोध गरेको उनले बताइन्।

मेची महाकाली बुहारी संयुक्त आवाज बाराका अध्यक्ष सावित्री बराल तिमिल्सिना तथा उनका टिमले इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा प्रसाईंका बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगंज माइत भएकी श्रीमतीसमक्ष पुग्न सफल भएका थिए।

लगातारको प्रयासपछि  प्रसाईंलाई उनको श्रीमतीसँग इलाका प्रहरी कार्यालय निगजढ, बारामा मिलापत्रको कागज गराई जिम्मा लगाइएको पाठकले जानकारी दिइन।

बुहारीदेखि ससुरासम्म पीडित

उक्त संस्थामा बुहारीबाट ससुरा पीडित भएको उजुरीसमेत परेको छ। रौतहटको गुजरा नगरपालिका वाड नं. ९ का राम किसुन रामले बुहारीबाट पीडित भएको भन्दै संस्थामा उजुरी गरेको संयोजक पाठकले बताएकी छन्। बुहारी रिमा कुमारी राम छोरासँग बस्न नमानेको र  घरमा नबसी माइत बस्दै आएको हुँदा मिलापत्र गराइदिन आग्रह गरेको उनले जानकारी दिइन्। सोबारे चाँडै नै छलफल गरेर समस्याको समाधान गर्ने पाठकले बताएकी छन्।

४ बच्चासहित श्रीमती बेपत्ता

यसैगरी, फतुवा विजयपुरकै एक परिवारले ४ जना बच्चासहित श्रीमती बेपत्ता भएको भन्दै खोजी गरिदिन आग्रह गरेको संयोजक पाठकले जानकारी दिएकी छन्। उजुरी आउने क्रम बढेको उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.