भक्तजनले भिड नगरी बाहिरैबाट मन्दिर घुम्‍न र आरती गर्न पाइने

|

काठमाडौं : कोभिड–१९ का कारण सरकारले देशभरका शक्तिपीठ मन्दिरहरूमा चैतदेखि नै पूजापाठ गर्न बन्द गर्‍यो। दशैँको बेलामा भने मन्दिरहरू खुल्नुपर्ने आवाज उठेको थियो।

तर, गृह मन्त्रालयले असोज २९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दशैँमा नित्यपूजाबाहेक अरू पूजाका लागि मठमन्दिर तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको छ। उपत्यकाका पशुपति, दक्षिणकाली, भद्रकाली, मैतीदेवी, गुह्येश्वरी लगायत शक्तिपीठ मन्दिर मानिन्छन्।

दक्षिणकाली मन्दिर 

दक्षिणकाली मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष शंखरमान महर्जनका अनुसार मन्दिर अहिले बन्द छ तर, नित्यपूजा भने रोकिएको छैन। दशैँको बेला नित्यपूजा गर्ने पूजारीलाई अनिवार्य मास्क लगाउन लगाइने छ।

‘सरकारले दशैँमा नित्यपूजाबाहेक अरू केही नगर्नु भनेर निर्देशन दिएको छ,’उनले भने,‘दशैँको बेला सधैँ पूजापाठ गर्ने भएकाले भक्तजनले पूजा गर्न खोज्लान्। यदि भक्तजन आएमा मन्दिरभित्र प्रवेश गर्न दिन्नौँ। पूजारीको हातबाट गराउँछौँ।’

उनका अनुसार भक्तजनलाई सामाजिक दूरी कायम गराउन लगाइने छ। एक मिटरको दूरीमा गोलो घेरा लगाइएको छ,त्यसैमा भक्तजन राखिने छ। स्वंयमसेवी पनि खटाइने छ।

मैतीदेवी मन्दिर

काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीले सरकारले गरेको निर्देशन मान्दै स्वास्थ्य मापदण्ड अपनाएर नित्यपूजा गराउने बताए। उनले भने, ‘सरकारले नित्यपूजा मात्रै गर्न निर्देशन दिएको छ। मैतीदेवी मन्दिरमा स्वस्थ्य मापदण्ड अपनाएर गरिने छ।’

उनका अनुसार यदि भक्तजनले सोही मन्दिरमा दशैँको बेला दर्शन गर्नुपरे भित्र जान पाउने छैनन्। बाहिरबाटै सामाजिक दूरी कायम गरी दर्शन भने गर्न पाउनेछन्।

गोकर्णेश्वर महादेव मन्दिर

गोकर्णेश्वर महादेव मन्दिर प्रबन्ध समितिका अध्यक्ष एंव गोकर्णेश्वर नगरपालिका वडा–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ सरकारले मन्दिरमा पूजापाठ गर्न नदिए पनि नित्यपूजाआरती भने दैनिक गरिने बताए।

‘सरकारले दशैँमा नित्यपूजा बाहेकका अन्य सबै बन्द गर्ने जानकारी दिएको छ,’उनले भने,‘तर, यहाँका पूजारी र स्थानीय भक्तजनले मानिरहेका छैनन्। तै पनि हामी मन्दिर खुला भने गर्दैनौँ।

उनका अनुसार दशैँको बेला नित्यपूजा गरिने छ। एक घण्टा आरती गर्न दिइने छ। उनले भने,‘आरती गर्ने ६ जना सम्मलाई राख्छौँ। उनीहरूलाई मास्क,पन्जा र सेनिटाइजर लगाउन लगाउँछौँ।’ भक्तजनले आवश्यक परेको खण्डमा र सामाजिक दूरी कायम गरे केही समयसम्म भने बाहिरबाट मन्दिरमा घुम्न दिइने छ।

भद्रकाली मन्दिर

काठमाडौं महानगरपालिका वडा–११ का अध्यक्ष हिरालाल तण्डुकारले भद्रकाली मन्दिरमा यस वर्ष बलि भने नचढाइने बताउँछन्। उनले भने,‘कोरोना महामारीले यस वर्षको दशैँमा बली चढाउन दिँदैनौँ। सामाजिक दूरी कायम गराएर दर्शन भने भक्तजनलाई गराउन दिन्छौँ।’

गृह मन्त्रालयले नित्यपूजाबाहेक अन्य केही नगर्न निर्देशन दिएको जानकारी दिँदै उनले आवश्यक परेको खण्डमा मात्रै मन्दिर खोलिने बताए।

‘सरकारले मन्दिर नखोल्नु भनिसकेको छ,’उनले भने,‘दशैँको बेला भक्तजन मान्दैनन्। भित्र जान नदिए पनि बाहिरैबाट सुरक्षा मापदण्ड अपनाएर पूजा गर्न दिन्छौँ।’ 

पशुपतिनाथ मन्दिर

ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थल मानिने पशुपतिनाथ मन्दिर काठमाडौं महानगरपालिका वडा–८ मा पर्छ। सोही वडाका अध्यक्ष दिनेश कुमार डंगोलले दशैँको बेला मन्दिर नखोल्नुपर्ने बताउँछन्।

उनले भने,‘दशैँको बेला मन्दिर खोल्दा धेरै भक्तजनको भीडभाड हुन्छ। झन् कोरोना संक्रमण फैलिन्छ। मन्दिर बन्द गर्नुपर्छ।’ कोरोनाबाट बचे अर्को वर्ष पनि दर्शन गर्न पाइने भन्दै यस वर्ष धार्मिक मठमन्दिरमा दर्शन नगर्न भक्तजनलाई उनको आग्रह छ। नित्यपूजा भने नियमित गर्ने उनले जानकारी दिए।

‘स्वास्थ्य मापदण्ड पूरा गरेर नित्यपूजा दशैँमा पनि गराँउछौँ,’उनले भने,‘नियमित पूजा हो गर्नैपर्छ।’  यसअघि काठमाडौं उपत्यकामा रहेका गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतीदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुलाउने गरिएको थियो। तर, यस वर्ष कोभिड–१९ का कारण शक्तिपीठ मन्दिरमा पनि असर पुर्‍याएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.