पूर्वकप्तान गाम्भीर भन्छन् : कप्तान मोर्गनको रणनीति बुझ्न सकिएन

|

कठमाडौं : युएईमा जारी १३ सिजनको आइपिएलअन्तर्गत ३९ औं खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर ८ विकेटले विजयी भयो।

कोलकताले दिएको ८४ रनको सामान्य लक्ष्य १३.२ ओभरमा २ विकेट गुमाएर बेंग्लोरले पूरा गर्‍यो। उसका लागि देवदत्त पाडिक्कले २५, आरोन फिन्चले १६, गुरर्कित सिंहले अविजित २१ र कप्तान विराट कोहलीले नटआउट १७ रन बनाए।

बलिङमा केकेआरका लकि फर्गुसनले एक विकेट लिए। कोलकताका बाँकी बलरले भने विकेट लिन सकेनन्। यसअघि टस जितेर ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो।

उसका लागि कप्तान इयोन मोर्गनले ३०, लकी फर्गुसनले १९, कूलदीप यादवले १२, टम ब्यान्टनले १० रन बनाउँदा ५ ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा बेंग्लोरका मोहम्मद सिराजले ३, युजवेन्द्र चहलले २, नवदीप सैनी र वासिङ्टन सुन्दरले एकरएक विकेट लिए।

दोस्रो स्थानमा उक्लियो बैंग्लोर

कोलकतालाई हराएसँगै बैंग्लोर अंक तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ। बैंग्लोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ। कोलकताले भने १० खेलमा १० अंक जोडेको छ। कोलकता लिगको चौंथो स्थानमा यथावत् छ।

बेंग्लोरका सिराजले बनाए ६ कीर्तिमान

मोहमद सिराज आइपिएल इतिहासको एकै इनिङ्समा दुई ओभर मेडन राख्ने पहिलो बलर बनेका छन्। उनले आफ्नो स्पेलको पहिलो दुई ओभरमा कुनै पनि रन नदिएर तीन विकेट लिए। उनले कीर्तिमानी बलिङ गर्ने क्रममा कोलकाताका राहुल त्रिपाठी, नितिश राना र टम ब्यान्टनलाई आउट गर्न सफल भए।

कोलाकताविरुद्धको खेलमा बैंग्लोरले चार ओभर मेडन फ्याँक्यो। दुई मेडन सिराजले फ्याँक्दा क्रिस मोरिस र वासिङ्टन सुन्दरले पनि १–१ मेडन राखे। आइपिएलको इतिसहामा एकै इनिङ्समा चार मेडन राखिएको यो पहिलो खेल हो। यसअघिका एकै खेलमा दुईभन्दा बढी मेडन थिएनन्।

कोलकाताका ब्याट्सम्यानले खेलमा ७२ बल डट खेले। यो आइपिएलमा दोस्रो बढी डट बल खेलिएको खेल हो। यसअघि कोलकताले नै चेन्नईविरुद्ध गत वर्ष ७५ बल डट खेलेको थियो। यो सिजन कोलकताले मुम्बईविरुद्ध पनि ५८ डट बल खेलेको थियो।

पूरा २० ओभर खेलेर अलआउट नभई कोलकताले बनाएको ८४ रन आइपिएलको अहिलेसम्मकै कम स्कोर हो। यसअघि अलआउट नभई बनेको कम स्कोर राजस्थानविरुद्धको खेलमा मुम्बईले बनाएको ९४.८ थियो।

३ विकेट लिएर ८ रन दिएका सिराजको बलिङ आइपिएल २०२० को उत्कृष्ट बलिङ हो। कोलकाताका शीर्ष ३ ब्याट्सम्यानले कुल २ रन मात्र जोडे। यो आइपिलको दोस्रो खराब स्कोर हो। यसअघि डेकन चार्जर्सले सन् २००९ मा चेन्नईका शीर्ष तीन ब्याट्सम्यानलाई डकआउट गरेको थियो।

गाम्भीरले गरे मोर्गनको कप्तानीको आलोचना

कोलकताका कप्तान इयोन मोर्गनको कप्तानीको केकेआरका पूर्वकप्तान गौतम गाम्भीरले टिप्पणी गरेका छन्। खेलका बेला हिन्दी कमेन्ट्री गर्दै गौतम मोर्गनको रणनीति बुझ्न नसकिएको बताए।

८५ रन पछ्याइरहेको कोलकताका लागि पहिलो ओभर प्याट कमिन्सले गरे। कप्तान मोर्गनले दोस्रो ओभर प्रसिद्ध कृष्णलाई दिए। 

टिमका विकेट टेकर बलर लकी फर्गुसनलाई सुरुवातका ओभर बलिङ गर्न नदिएको उल्लेख गर्दै गाम्भीरले मोर्गनको रणनीति ‘समझभन्दा बाहिर’ रहेको प्रतिक्रिया दिए।

गाम्भीरले भने, ‘फर्गुसनलाई ओभर दिनेबारे कप्तान मोर्गनले के सोच्यो मलाई थाहा छैन। त्यही खेलाडीले हैदराबादविरुद्ध ५ विकेट लिए। लकीले हैदराबादविरुद्ध टिमलाई जित दिलाएका थिए।’
 
कोलकतालाई दुई उपाधि जिताएका गौतम गाम्भीरले केकेआरको ब्याटिङ क्रममा पनि प्रश्न उठाएका छन्। कोलकताले टम ब्यान्टनलाई बेंग्लोरविरुद्ध आन्द्रे रसेलको स्थानमा प्लेइङ–११ स्थानमा दिएको थियो। 

ब्यान्टनले सधैं आफ्नो देशका लागि ओपनिङ ब्याटिङ गर्छन्, तर मोर्गनले उनलाई बेंगलोरविरुद्ध ४ नम्बरमा ल्याएका थिए। ​गाम्भीरले भने, ‘ओपनर ब्यान्टनले सधैं आफ्नो देशको लागि ओपनिङ गरेका छन्। उनलाई चौथो नम्बरमा ल्याउने निर्णय बुझ्न सकिएन।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.