पिसिआर रिपोर्टबिना खुम्बु पासाङ गाउँपालिका जान नपाइने

|

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिकाले कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार गर्ने भएको छ। नगरपालिकाको समुदायस्तरमै कोरोना फैलिएको पुष्टि भएसँगै संक्रमितको उपचार नगरपालिकाले गर्ने मेयर नाम्गेल जाङबु शेर्पाले बताए।

वडा अध्यक्षदेखि स्वास्थ्यकर्मी, कर्मचारी र व्यवसायीसमेत संक्रमित भेटिएपछि बजार सिल गरेर थप रणनीतिका साथ काम गर्नुपर्ने स्थानीयको माग भए पनि मेयर शेर्पाले भने परीक्षणको दायरा बढाउने तर बजार क्षेत्रलाई सिल नगर्ने बताए। नगरबासीको उपचार निःशुल्क गर्ने तर बजार बन्द नगराउने नीति लिएको उनको भनाइ छ। यता, सर्वसाधारण नागरिकले भने नगरपालिकाले स्थानीय नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लगाएका छन्।

स्थानीय डुण्डिराज घिमिरेले कार्यापालिका बैठक बसेर थप योजना बनाउनुपर्ने नगरपालिकाले समुदायस्तरमा कोरोना संक्रमण देखिए पनि मौन बसेको बताए। स्वाब परीक्षणलाई फराकिलो बनाउने मेयर शेर्पाले दाबी गरिरहँदा स्थानीयले भने रकम खर्च गरेर परीक्षण गराउनसमेत पाएका छैनन्।

नागरिक भन्छन् : पैसा तिर्छु भन्दा पनि परीक्षण पाइएन

स्थानीय व्यवसायीले आफूहरू पनि कोरोना संक्रमितको सम्पर्कमा पुगेकाले शुल्क तिरेर परीक्षण गराउन चाहे पनि नपाएको गुनासो गरेका छन्। स्वाब परीक्षण गर्दै गर्दा पैसा तिर्छु भन्दासमेत स्वास्थ्यकर्मीले स्वाब संकलन नगरेको उनीहरुको भनाइ छ।

बजार क्षेत्रका केही मानिसहरुमा लक्षण मिल्दोजुल्दो भए पनि परीक्षण नगराई बसेको पाइएको छ। कोरोना संक्रमण पुष्टि भए पनि औषधि उपचार नपाउने भएपछि परीक्षण नगराएको एक स्थानीयले बताए। ‘म आफूमा पनि लक्षण मिल्दोजुल्दो छ तर जचाउँदिनँ‘ उनले भने, ‘आइसोलेसनमा बसेकाले पनि औषधि खासै पाएका छैनन्, अब मलाई भेट्यो पनि त उस्तै हो, बरु घरैमा बस्दा हरेक कुराको व्यवस्था हुन्छ।‘

गाउँपालिका प्रवेशका लागि पिसिआर रिपोर्ट अनिवार्य 

विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पालिका प्रवेशमा थप कडाइ गरेको छ। बिहीबार एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका प्रवेश गर्ने जोकोहीलाई पिसिआर रिपोर्ट अनिवार्य गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद भटराईले जानकारी दिए।

काठमाडौंबाट आएका ७० वर्षीय वृद्धमा  कोरोना संक्रमण पुष्टि भएसँगै बिहीबारदेखि अर्को निर्णय नभएसम्म जुनसुकै माध्यमबाट खुम्बु क्षेत्र प्रवेश गर्ने नागरिकले पिसिआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश नगरेको खण्डमा फिर्ता पठाउने प्रमुख प्रशासकीय अधिकृत भटराईको भनाइ छ।

कोरोनाको लक्षण देखिएकाले उनलाई मंगलबार हेलिकोप्टरमार्फत काठमाडौ लगेर टेकुमा पिसिआर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ।

खुम्बु क्षेत्रका नागरिक त्रसित

बिहीबार रिपोर्ट आएपछि खुम्बु क्षेत्रका नागरिक त्रसित बनेका छन्। गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयमा नै कोरोना पोजेटिभ आएको भन्दै नागरिक त्रसित भएको स्थानीय लाक्पा ग्याल्जेन शेर्पाले बताए। कोरोना जोखिम बढेको भन्दै गाउँपालिकाले सबै हवाई कम्पनीहरुलाई यात्रु नल्याउन पनि अनुरोध गरेको छ। 

वडा अध्यक्षलाई संक्रमण पुष्टि

लिखुपिके गाउँपालिका-१ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको छ। कात्तिक ३ गते गरिएको परीक्षणमा वडा अध्यक्षसहित ३ जनाको रिर्पोट पोजेटिभ आएको हो।

एक सय जनाको स्वाब संकलन गरिएकोमा एमडी दुगड हाइड्रोका २ जना कर्मचारीसहित १ जना वडा अध्यक्षको रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ आएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिए। अहिले लिखुपिके गाउँपालिका आफैँले पिसिआर मेसिन खरिद गरेर परीक्षण गरिरहेको छ। संक्रमित वडा अध्यक्ष आफनै होम आइसोलेसनमा बसेका छन् भने हाइड्रो पावरका कर्मचारीलाई सम्‍बन्धित कम्पनीले व्यवस्थापन गरेको छ।

यसअघि सोही हाइड्रोमा काम गर्ने ४६ जना मजदुरलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

स्थानीयको लापरबाहीले संक्रमण बढेको आरोप

कोरोना संक्रमितको संख्या बढ्नुको मुख्य कारण स्थानीयले स्वास्थ्य मापदण्डको पालना नगर्नुनै रहेको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतको भनाइ छ। गाउँपालिकाले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगर्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै अध्यक्ष बस्नेतले संक्रममित क्षेत्रबाट आएका नागरिकहरुलाई खुल्ला रुपमा हिँडडुल नगर्न आग्रह गरे।

पालिकाले बाहिरबाट आउने नागरिकलाई ७२ घण्टा अगाडि जाँच गरेको पिसिआर रिर्पोटको साथमा १४ दिन होमक्वारेन्टाइनमा बस्न सूचना जारी गरे पनि नागरिकले पालना गर्ने गराउनेमा कमजोरी भएको अध्यक्ष बस्नेतको भनाइ छ।

यता, नेचा सल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले कोरोना महामारी नियन्त्रणको लागि सबैको सहयोग आवश्यक पर्ने बताए। सरकार एक्लैले कोरोना नियन्त्रण गर्न नसक्ने भन्दै अध्यक्ष बास्तोलाले स्थानीय नागरिकको समेत सहयोग अपरिहार्य रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.