सचिवालय भन्छ : सानो आकार भएकाले नदेखिएको हो
सचिवालय भन्छ : सानो आकार भएकाले नदेखिएको हो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार २०७७ सालको बडादशैंको शुभकामनासहितको विद्युतीय कार्ड सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट सार्वजनिक गरे।
उक्त शुभकामना कार्डमा राखिएको निशान छापमा भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र गायब भएपछि सामाजिक सञ्जाल तताएको छ।
नयाँ नक्सा जारी भएको ६ महिना भइसक्दा पनि पुरानै नक्सासहितको निशान छाप प्रयोग गरिएपछि ती भूभाग नदेखिएका हु्न्।
दशैंको फुलपातीको दिन प्रधानमन्त्री ओलीले ट्वीटर र फेसबुक एकाउन्टबाट शुभकामना लेखिएको कार्डमा आफ्नो फोटो राखेका छन् भने नजिकै निशान छाप पनि छ। जसमा लेखिएको छ, '२०७७ सालको बडादशैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना!'
अंग्रेजी भाषामा गरिएको ट्विटमा पनि पुरानै निशान छापसहितको शुभकामना राखिएको छ। यसैलाई लिएर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितले प्रधानमन्त्रीको आलोचना गरिरहेका छन्।
कांग्रेस बोल्यो
बुधबार राति मात्रै दुई घण्टासम्म भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटेका प्रधानमन्त्रीले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा चुच्चे नक्सा गायब भएपछि मानिसहरुले संशयले हेरिरहेका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरासहितको चुच्चे नक्सा निशान छापबाट गायब गरिनु सामान्य कुरा नभएको बताएका छन्।
लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननिय @PM_Nepal ? गम्भीर विमती दर्ज होस् !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 23, 2020
देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ? pic.twitter.com/qUc0Er88xf
‘लिम्पियाधुराबिनाको नेपालको नक्सा निशान छापमा प्रयोगलाई सामान्य त्रुटी कसरी मानौं सम्माननीय प्रधानमन्त्रीज्यू?', शर्माले प्रश्न गरेका छन्, 'गम्भीर विमत्ति दर्ज होस्!’
प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिन सट समेत राखेर शर्माले नक्सा नै असुरक्षित भएपछि जग्गा फिर्ता पनि बिसर्जनतिर गएको दाबी गरेका छन्। 'देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन?,’ शर्माले प्रश्न गरेका छन्।
सचिवालय यसो भन्छ
चुच्चे नक्साबिनाको निशान छाप प्रधानमन्त्रीले नै प्रयोग गरेकोबारेमा उनको सचिवालयले फरक तर्क गरेको छ। प्रेस सल्लाहकार सू्र्य थापाले नक्साको आकार अत्यन्तै सानो भएकाले नेपालको पश्चिमी भागको चुच्चो नदेखिएको बताएका छन्।
'विश्व मानचित्रमा हेर्ने हो भने नेपाल पनि केबल थोप्लो देखिन्छ, अब त्यसैलई लिएर विरोध गर्नु थालौं त?', उनले थाहाखबरसँग भने, 'कुरै नबुझी ट्विटेहरु उफ्रिरहेका छन्। सानो आकार र एकै रंगको भएकाले चुच्चो नदेखिएको हो, तर त्यहाँ छ, हटाइएको या त्रुटी गरिएको होइन।'
चुच्चे नक्सा हटाउने कुरै नहुने भन्दै थापाले नजान्ने र नबुझ्नेहरुले त्यतिकै विरोध गरेको बताए। 'निशान छापमा चुच्चे नक्सा छ', उनले भने, 'हेर्न नजान्नेहरुले विरोध गर्न खोजेका हुन्। कुरै नबुझी उफ्रिनेहरुलाई भन्नु केही छैन।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।