|

बैतडी : चाडपर्व लक्षित बजार अनुगमनका क्रममा बैतडीमा गएको एक महिनायता करिब ८ लाखको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। संयुक्त बजार अनुगमन समितिले एक  महिनामा विभिन्न बजारमा अनुगमन गर्दा ७ लाख ७० हजार बढीको म्याद गुज्रेको सामग्री बरामद गरेर नष्ट गरेको हो।

असोज पहिलो सातादेखि असोज अन्तिम सातासम्म जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए।

जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका बाहेकका सबै स्थानीय तहमा पहिलो चरणमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा चाउचाउ, बियर, पिठो, नम्किन लगायतका वस्तुहरु म्याद गुज्रेका पाइएका हो। उपभोग्य सामग्रीको उत्पादन मिति र उपभोग्य मिति नहेर्ने गरेका कारण बजारमा म्याद नाघेका सामग्रीसमेत बिक्री वितरण भइरहेका लेखकले जानकारी दिए। उनले भने, ‘म्याद नाघेका सामग्रीका बारेमा न व्यापारीहरूले हेर्ने गरेका छन् न उपभोक्ताले नै। यसले गर्दा बजारमा म्याद नाघेका सामग्री विक्रि वितरण भइरहेका छन्।’

बजार अनुगमनका क्रममा दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता हुन आग्रह गरिएको छ भने प्रत्येक पसलमा मूल्य सूची राख्‍नसमेत आग्रह गरिएको छ। चाडपर्वलाई लक्षित गरेर अनुगमन गरिएको भएपनि अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ताहरुले बताएका छन्।

निरन्तर अनुगमन भएमा बजारमा हुने कालोबजारीमा केही कमी आउने निङ्गलाशैनी मावि देहीमाडौंका शिक्षक तिलक बोहराले बताए। उनले भने, ‘पसलबाट किन्ने सामग्रीको म्याद भए नभएको बारेमा उपभोक्ताहरु पनि सचेत हुनु जरुरी रहेको छ।’

सामग्री खरीद गर्दा उपभोग्य र उत्पादन मिति हेरेर मात्रै खरिद गर्न टोलीले आग्रह गरेको छ। उपभोक्ताहरूमा समेत मिति हेर्ने बानी नभएकाले बजारमा म्याद गुज्रेका सामग्री बिक्री भइरहेका अनुगमन टोलीको निष्कर्ष छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.