योजनावद्ध विवाद सिर्जना गर्न खोजिएको भनाइ

|

काठमाडौं : प्रधामन्त्री केपी शर्मा ओलीको सचिवालयले निशान छापमा रहेको नयाँ नक्सालाई विवादमा तान्‍न खोजिएको स्पष्ट गरेको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शुक्रबार साँझ एक प्रेस नोट जारी गर्दै सानो आकारको निशान छाप प्रयोग गर्दा हुन सक्ने प्राविधिक विषयलाई अनावश्यक उचालिएको बताएका छन्

'प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंको उपलक्षमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्सालाई विवादमा तान्न खोजिएको प्रति गम्भीर ध्यानाकर्षण भएको छ', उनले भनेका छन्, 'नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो। यस तथ्यलाई केही ठूलो आकारको त्यही नक्सामा प्रष्ट देख्न सकिन्छ।'

उनले डिजाइनको सानो कुरालाई नबुझी राजनीति गर्न खोजिएको बताएका छन्। 'डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्न समेत आग्रह गर्दछु', उनले भनेका छन्।

भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नयाँ नेपालको नक्सा प्रधानमन्त्री ओलीकै दृढ र साहसिक नेतृत्वमा जारी भएको जिकिर उनले गरेका छन्।

'लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको हो', उनले अगाडि भनेका छन्, 'तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन।'

उनले अहिले नयाँ नक्साविरुद्धमा योजनावद्ध विवाद सिर्जना गर्न खोजिएको बताएका छन्। 'अहिले यस विषयमा योजनबद्द रूपमा सिर्जना गर्न खोजिएको भ्रम अनुचित छ', उनले अन्तिममा भनेका छन्, 'त्यस्तो कुनै भ्रम र कु-प्रचारको अन्योलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुरोध गर्न चाहन्छु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.