|

बर्दिया : बर्दिया राष्ट्रिय निकुुञ्ज करिब सात महिनापछि पर्यटकका लागि खुला गरिएको छ। गत चैत ११ देखि पर्यटकका लागि बन्द गरिएको निकुञ्ज गत शनिबारदेखि खुला गरिएको हो।

दशैं, तिहारलगायतका चाडपर्वका समयमा बढी पर्यटक भित्रिने भएकाले पर्यटन व्यवसायीले निकुञ्ज खोल्न माग गरिरहेका थिए। स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकलाई निकुञ्ज अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाताए। 

निकुञ्जभित्र हुने ¥याफ्टिङ, हात्ती सफारी, फिसिङ, क्याम्पिङ भने अहिले खुला गरिएको छैन। जंगल ड्राइभ (सफारी) र जंगल वाक गर्न मात्रै अनुमति दिइएको छ। पर्यटकले निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एकजना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको निकुञ्जले जनाएको छ।

यसैबीच पर्यटन व्यवसायीले निकुञ्ज खुला भएकोमा खुसी व्यक्त गरेका छन्। सात महिनादेखि पर्यटन व्यवसायी पर्यटक आवागमन रोकिएपछि आर्थिक रुपमा धरासयी हुन पुगेका थिए।

पर्यटकका लागि निकुञ्ज खुला गरिएसँगै छिटफट रुपमा पर्यटकहरु आउन थालेको प्रमुख संरक्षण अधिकृ श्रेष्ठले बताए। ‘निकुञ्ज अवलोकनका लागि पर्यटकहरु आउने क्रम विस्तारै सुरु भएको छ,’ उनले भने, ‘यो पर्यटक भित्रिने समय पनि हो, आशा छ, अव विस्तारै पर्यटकहरु बढ्ने छन्।’

बर्दियाको मुख्य पर्यटकिय क्षेत्र ठाकुरद्वारामा साना ठूला गरी २४ वटा होटल सञ्चालनमा छन्। बर्दिया निकुञ्जमा धेरै पर्यटक बाघ हेर्नका लागि पनि आउने गर्छन्। यहाँ ८७ वटा बाघ रहेका छन्। पछिल्लो समय बर्दियाका, सत्खलुवा, बढैया लगायतका ताल, थारु संस्कृति, होमस्टेलगायतले पनि पर्यटकहरुलाई आकर्षित गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.