काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कूटनीतिक मर्यादाविपरीत भएको भेटप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत विदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मूल्य र आचारसहिता विपरीतको यस्तो भेट किन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। यसले राष्ट्रिय स्वाभिमानमा ठेस पुगेको प्रवक्ता श्रेष्ठको भनाइ छ।
‘भारतको गुप्तचर सँस्था ‘रअ’ प्रमुख सामन्त गोयल विमान नै चार्टर गरी आफ्नो टोलीसहित नेपाल आएर हाम्रा प्रधानमन्त्री सँग ‘वार्ता’ गरेर फिर्ता भएछन्। प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना उनलाई भेट्नुभएछ। हाम्रो पार्टीलाई यसबारेमा कुनै पूर्व जानकारी थिएन र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कुटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो , देशको प्रधानमन्त्रीले बिना कुनै निर्धारित कार्यसूची विदेशी गुप्तचर संस्थाको अधिकारीसँग कुटनीतिक मर्यादा विपरीत समकक्षीझैँ औपचारिक वार्ता गरेको।’
उनले अघि लेखेका छन्, ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्रणा गरेको हो भने कुटनीतिक मर्यादा अनुरुप शिष्टाचार भेट हुन सक्दथ्यो। त्यो होइन भन्ने स्पष्ट भइसकेको छ। विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो। तर त्यस्तो पनि देखिएन। त्यसैले गम्भीर प्रश्न उठ्छ, विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुटनीतिक मूल्य र आचारसँहिता विपरीतको यस्तो भेट किन?’
प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।