दशैँमा सुरक्षाका लागि यी हुन् दुई दर्जन टिप्स

|

रामहरि अधिकारी

 

कोरोनाको आतंक र कोलाहलबीच नेपालीहरूको सबैभन्दा ठूलो दशैँ चाड हाम्रा घर आँगनमा आइपुगेको छ।

तर, सम्पूर्ण विश्वको लागि त्रास बनेको कोरोना महामारीले गर्दा यसपटक अरुका चाड जस्तै हाम्रो दशैं पनि यस वर्ष जस्तो उत्साहपूर्ण छैन। दशैँ मनाउँदा हामीले धेरै ख्याल गर्नु पर्नेछ। दशैँको बेला हाम्रो खानपान,  सामाजिक व्यवहार र स्वास्थ्यमा ख्याल नगर्दा कतै हाम्रो दशैँ दशा सावित नहोस्।

यसपालिको दशैँका जोखिम

नेपालीहरूको सबैभन्दा ठूलो चाड भएकोले मानिसहरू यतिबेला बाहिरबसेर काम गर्ने सबै आफ्नो घर जाने क्रममा छन्। प्राय शहरबाट गाउँ जाने, विदेशवाट स्वदेश आउने, किनमेल गर्न बजार जाने आदि गर्छन्। यस क्रममा एकै ठाउँमा सयौँ हजारौँ मान्छेको भिडभाड हुने गर्छ।

तर, अहिले नेपालमा कोरोनाको संक्रमण अति तीव्र रुपमा फैलिरहेको छ। यस्तो बेला विगतमा जस्तो मान्छेहरूको आवतजावत र चहलपहल छैन। तर पनि आमनेपालीको प्रचलन र सामाजिक आवश्यकताका कारण थोरै भए पनि आवत जावत गरिरहेका छन्।

त्यसैले गर्दा यस्तो  भिडभाडमा यो रोगको संक्रमण ज्यादा हुने भएकोले  हामी जोखिमको अवस्थामा  छौँ।

अहिले शहरमा संक्रमणको दर उच्च रहँदा यतिबेला गाउँ एक हदसम्म सुरक्षित थियो। त्यहाँका बुढापाका र बालबालिकाहरू पनि अरू भन्दा केही सुरक्षित नै थिए। तर, शहरबाट गाउँ जाँदा वा भनौं एकठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमणको जोखिम बूढाबूढी र बालबालिकाहरूमा पनि संक्रमण बढ्ने हो कि भन्ने त्रास थपिएको छ।

अन्य दशैँ जस्तै मानिसहरू सामाजिक दूरी कायम नगरिकन भिडभाड गर्ने, जुवा तास खेल्ने जस्ता गतिविधि गर्‍यो भने उमेरदारहरूलाई पनि कोरोनाले भेट्न सक्छ।

यसबेला कसले को सित भेट्यो पहिचान गर्न नसकिने भएकोले कन्ट्याक्ट ट्रेसिङ गरेर सम्भावित संक्रमित छुट्याउन र संक्रमणको स्रोत पत्ता लगाउन पनि कठिन हुनेछजसले संक्रमण खडेरीको बेला परालमा आगो लगाएझैँ फैलिन सक्छ।

हाल संक्रमण बढ्दै जाँदा लक्षण सहितका बिरामी बढेकोले तिनलाई अस्पताल भर्ना गर्नुपर्ने र अवस्था जटिल भएर अक्सिजन लगाउनुपर्ने, आइसियुमा राख्नुपर्ने र भेन्टिलेटरको प्रयोग गर्नुपर्ने बिरामीहरूको संख्या ह्वात्तै बढेको छ।

यही कारण शहरका बिरामीहरूले अस्पतालमा भर्ना पाउन छोडेका छन्। सघन उपचार कक्ष अर्थात् आइसियु वेड र भेन्टिलेटर पाउन ठूला बडाको शक्ति लगाउनुपर्ने भएको छ। यसले नसक्नेहरूले बाटोमै मृत्युवरण गरेका खबरहरू आईरहेका छन्। दशैँकै कारण यही अवस्था गाउँमा पुग्यो भने शहरकै बिरामीले नपाएको सुविधा गाउँमा कसरी पुग्ला र!

अर्को कुरा भनेको दशैँ भनेको ऋण धन जसरी भए पनि परिवार र आफन्तसँग बसेर मिठो मसिनो खाने चाड हो। यस्तो बेला माछामासु, चिल्लो पीरो र मसलेदार खाना, मदिराजन्य पेयपदार्थको व्यापक खानपान हुन्छ। मान्छेले हरेक खाना अन्य बेलाभन्दा धेरै खाने गर्छन् र शरीरिक अभ्यास हुने काम चाहिँ कम गर्दछन्।

यसले गर्दा खाना अपच हुने, खानामा विषाक्त हुने,   रगतमा चिनिको मात्रा बढ्ने जस्ता समस्याहरू देखिन सक्छ।

दशैँ बालबालिकाको पनि प्रिय चाड हो। यतिबेला विद्यालयको पठनपाठन बन्द हुन्छ। अनि शहरमा घर हुने वा परिवारसित डेरा वा छात्रावासमा घर बाहिर बस्ने  बालबालिकाहरू आफ्रनो गाउँघरमा जाने गर्दछन् र गाउँघरका साथीभाइसँग खेलकुद र रमाइलो गर्न पाउँदा मक्ख पर्छन्।

दशैँमा आफन्तका घर जाने, मान्यजनको हातबाट टिका लगाउने, दक्षिणा जम्मा गर्ने आदिले उनीहरूलाई पढाइको बोबिर्सने र सामाजिक बनाउने बन्ने काम पनि गर्दछ। यसपालि ती सबै कुरा असम्भव प्राय हुनाले गर्दा बाबालिकाहरूमा मानसिक तनाव पनि देखिन सक्छ। यस्तो बेला हामीले कल्पना गरेभन्दा कैयौँ गुणा भयावह अवस्था आउन सक्छ।

स्वास्थ्यको हिसाबले जति जोखिमपूर्ण भए पनि यस्तो बेला दशैँ नै नमनाउनुस् भनेर भन्न सकिन्न। तर, सकेसम्म सावधानी अपनाएर मात्र दशैँ मनाउनु उपयुक्त हुन्छ।

सुरक्षित रूपमा यसरी दशैँ मनाउन सकिन्छ

निम्न कुरामा ख्याल गरी दशैँ मनाउँदा दशैँको समयमा वा यसपछि  आउन सक्ने संकटलाई हामी काम गर्न सकिन्छ।

- आफूजति सुकै स्वस्थ्य भए पनि जति बेला पनि संक्रमित हुन सक्छु भन्ने सम्झेर व्यवहार गर्ने।

- घरमा अति आवश्यक औषधि तथा प्राथमिक उपचारका सामग्रीहरूको सानो झोला अलग्गै राख्ने, अन्यत्र रात बस्ने गरी जानुपरेमा पनि सो झोलासँगै लिएर जाने।

- आफूसँग हरेक समय नजिकको चिकित्सक, नर्स, अस्पताल प्रयोगशाला, औषधिपसल, एम्बुलेन्सको फोन नम्बर सुरक्षित राख्ने।

- जोसुकै नजिकमा भए पनि सामाजिक दूरी कायम गर्ने।

- मास्कको हरदम प्रयोग गर्ने। भिडभाडमा बस्दै नबस्ने। आफूसँग जगेडा मास्क लिएर राख्ने। यौटाले प्रयोग गरेको मास्क अरुले प्रयोग नगर्ने। मास्क राम्रोसँग मुख नाक बन्द हुने गरेर लगाउने।

- स्यानिटाइजरको प्रयोग गर्ने। घर वा जता जाँदा पनि स्यानिटाइजर लिएर जान सके राम्रो हुन्छ।

- गाडी चड्नु पर्दा आफ्रनो निजि भाडी छ भने गाडीको सिट, ढोका, ह्यान्डल आदि राम्ररी निःसंक्रामक घोलले निःसंक्रमण गरेर मात्र चढ्ने। नचिनेका मान्छेलाई नचढाउने। एक पङ्तिमा एकजना भन्दा बढी नबस्ने।

- सार्वजनिक गाडी चढ्नु परेमा पनि भिडभाड गरेर नचढ्ने। सिटमा एक अर्कासित नटाँसिइ बस्ने। संगैको यात्रुले मास्क नलगाएको भए उसलाई आफैँले भए पनि मास्क दिएर लगाउन लगाउने। गाडीमा थुक सिँगान, खकार जथाभावी नफाल्ने, फाल्न नदिने। झ्याल खुला राख्ने।

- सकेसम्म अर्काको घरमा नजाने , गइहाले पनि बास नबस्ने।

- वृद्धवृद्धा, गर्भवती, रोगी, साना बालबालिकालाई अनावश्यक रुपमा कसैको पनि निकट सम्पर्कमा आउन नदिने।

- पैसाको सट्टा सकेसम्म ईसेवा खल्ति जस्ता सेवा वा अनलाइन वा कार्डबाट कारोवार गर्ने।

- मोवाइल, एटिएम कार्ड आदि हरेक कुरा वाह्य सम्पर्कमा आउँनेबित्तिकै स्यानिटाइज गर्ने।

- तरकारी फलफूल किनेर ल्याएपछि राम्रोसित निःसंक्रमित गरेर मात्र भान्सा भित्र ल्याउने।

- तातो झोल र तागतिला पदार्थ प्रशस्त पिउने।

- जडिवुटीजन्य पेय पदार्थहरू पिउनु राम्रो हुन्छ।

- बढी चिल्लो, धेरै चिसो  र गरिष्ट (पचाउन गाह्रो हुने ) खानाहरू सकेसम्म कम गर्ने। वासि खाना नखाने। एकै पटक धेरै नखाने।

- हरियो साग सब्जी, फलफूल र दुधजन्य पदार्थमा जोड दिने।

- मादक पदार्थको सेवन नगर्ने वा कम गर्ने।

- हरेक मानिसलाई स्वस्थ्य जीवन alताउन शारीरिक अभ्यासको जरुरत पर्दछ। मोटोपन ज्यादा भएका, रक्तचाप, मुटु चिनिको रोग हुनेहरूलाई त यो झन् जरुरी हुन्छ। तर घर बाहिर जाने अवस्थामा घरको कम्पाउण्ड भित्रै वा कोठा भित्रै पनि विभिन्न अभ्यास गर्न सकिन्छ।

- नियमित ध्यान योगा गर्ने। यसको बारेमा ज्ञान नभए युट्युव हेरेर सिक्न सकिन्छ।

- घर वा गाउँतिर जाँदा उपयोगी किताब डायरी लैजाने, खाली समयमा लेख्ने पढ्ने काम गर्ने।

- कोठामा घेरै जना नबस्ने, हावा खेल्ने कोठामा बस्ने, सुत्ने।

- बालबालिकाहरूलाई कथा सुनाएर वा विभिन्न खेल खेलाएर रमाइलो वातावरण बनाइ उनीहरूलाई व्यस्त राख्ने। पूरै परिवार बसेर रमाईला टिभि कार्यक्रम वा चलचित्र हेरेर, गीत सुनेर, नाचगान गरेर अनि आफन्त साथीभाइ, दिदीबहिनीसित विद्युतिय माध्यमबाटै कुरा गरेर पनि रमाइलोसित समय बिताउन सकिन्छ।

- बिहान चाँडो उठ्रने र वेलुका पनि चाँडो सुत्ने।

- आफूलाई वा परिवारका कसैलाई ज्वरो वा अन्य असामान्य लक्षण दखिए तुरुन्त स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने।

यति काम गर्न सके समुदायमा फैलने संक्रमणलाई कम गर्न सकिन्छ र सुरक्षित र स्वस्थ्य दशैँ मनाउन सकिन्छ।

तर आफूले जानेका र अभ्यास गरेका कुरा अरुलाई पनि बताएर र गर्न उत्प्रेरित गरेर सबैको दशैँ रमाइलो बनाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.