काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालीहरुको यो वर्षको दशैँ अघिल्लो वर्षको तुलनामा खल्लो भयो। नेपालमा दिनदिनै कोरोना संक्रमित बढ्दै गएपछि सरकारले परिवारका सदस्य मात्रै बसेर दशैँ मनाउन आग्रह गरेको थियो।
सकेसम्म जहाँ बसेको त्यहीँ दशैँ मनाउन सरकारले आग्रह गरेपछि यो पटक मानिसहरुको आवतजावत पनि कम भयो। देशभर दशैँको रौनक चलिरहँदा यो पटक धेरै ठाउँमा पिङ देखिएन। गाउँ गाउँमा रोटे पिङ र लिङ्गे पिङमा मच्चिने सपना यो वर्ष अधुरै रह्यो।
यो पटकको दशैँको टीका लगाउने क्रममा मानिसहरुले सामाजिक तथा भौतिक दुरीलाई ध्यान दिएका थिए। अर्कातिर धेरैले परिवारका सदस्य बीचमै दशैँ मनाएका छन्।
टीका लगाउन आउने नातेदार पाहुनाका मुखमा अनिवार्य मास्क देखिन्थ्यो। सरकारले भने जस्तै पुराना लुगा लगाउने र नयाँ लुगामा सजिने सबैका नाकदेखि च्युँडोसम्मको भाग मास्कले ढाकिएको थियो।
स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने क्रममा टीका लगाइदिने राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका मुखमा समेत मास्क देख्न सकिन्थ्यो। अर्कातिर सर्वसाधारणले पनि मास्क लगाउने यो नियमलाई अनुसरण गरेका छन्।
हेर्नुस् मास्कसहितको दशैँको टीका
द्रष्टव्य : यहाँ सम्मिलित केही फोटो थाहाकर्मी शिला तिमल्सिनाले कैद गरेकी हुन्। अन्य फोटोहरु हामीले सम्बन्धित व्यक्तिको मुहार पुस्तिकाबाट लिएका हौं। उच्च ओहदाका व्यक्तिका फोटोहरु हामीलाई विद्युतीय हुलाकबाट प्राप्त भएका हु्न्। -सम्पादक
तपाईंको ईमेल गोप्य राखिनेछ ।