|

बैतडी : कुटपिटबाट घाइते भएका पञ्चेश्वर गाउँपालिका–३ डुङरीका ३२ वर्षीय कमलबहादुर साउँदको मृत्यु भएको छ।

सोही गाउँका स्थानीय वीरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले कमललाई असोज ९ गते राति कुटपिट गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। कुटपिटबाट गम्भीर घाइते भएका साउँदलाई उपचारका लागि लैजाने क्रममा सोमबार राति मृत्युु भएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।

कुटपिटबाट घाइते भएका साउँदलाई उपचारका लागि धनगढी पठाएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाइएको थियो। तर, कोहलपुर नपुग्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ।

कुटपिट के कति कारण भयो भन्ने खुल्न नसकेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। ‘घटनाबारे थप अनुसन्धान गर्न म आफैँ घटनास्थल जाँदैछु,’ उनले भने, ‘घटनाका कसरी भयो भन्ने बिषयमा थप अनुसन्धानपछि मात्रै थाहा हुनेछ।’

यता पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने ती युवाहरुबीच पहिले कुने रिसइबी नभएको बताए। उनले भने, ‘कुटपिटबाट मृत्यु भएका युवक  स्थानीय पसलमा सामान किन्न आइरहेका बेला बाटोमा एक्कासी आक्रमण गरेका रहेछन्। ती दुईजनाले मादक पदार्थ सेवन गरेका रहेछन्।’

कुटपिटमा संलग्न दुवैजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये वीरेन्द्र नेपाल प्रहरीमा रहेका र भष्टाचारको मुद्दा लागेका व्यक्ति रहेको प्रहरीले बताएको छ। तीन वर्ष पहिले भष्टाचारको मुद्दा लागेको उनीमाथि अहिले पनि मुद्दा चलिरहेको बताइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.