ओली पक्ष बचाउमा, प्रचण्ड पक्ष विरोधमा

|

काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जासूसी संस्था रिसर्च एन्ड इन्टेलिजेन्स विङ्स (रअ) का प्रमुख सामन्तकुमार गोयललाई भेटेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धारमा देखिएको छ। 

प्रधानमन्त्री ओलीले रअका प्रमुख रोयलसँगको भेटवार्तालाई कूटनीतिक मर्यादा विपरीत र राष्ट्रिय स्वाभिमानमा आँच आएको आरोप लागिरहेको बेलामा सत्तारुढ दल दुई धारमा देखिएको हो। 

प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेटवार्तालाई प्रधानमन्त्री ओली निकट नेताहरुले बचाउमा लागेका छन् भने अध्यक्ष दाहाल निकट नेताहरु विरोधमा उत्रिएको छ। प्रधानमन्त्री ओलीले रअ प्रमुख गोेयलसँग गत बुधबार बालुवाटारमा बोलाएर भेटवार्ता गरेको थिए। 

बिहिबार प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र रअ प्रमुख बीच भेटवार्ता भएको प्रेस नोट जारी गर्दै बताएका थिए। उनले प्रधानमन्त्री ओलीसँग भारतीय जासुस संस्थाको प्रमुखसँग बालुवाटारमा नै बोलाएर भेटवार्ता गरेको जानकारी गराएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ। प्रधानमन्त्री ओली र रअ प्रमुख बीच दुई देशबीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा कुराकानी भएको बताएका थिए। 

तर, प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलसँग थप केके बिषयमा कुराकानी भयो? भन्ने बिषयमा चौतर्फी रुपमा आवाज उठिरहेका बेलामा प्रधानमन्त्री ओली निकटका उपप्रधानमन्त्री ईश्वर पोखरेलले विगत केही समयदेखि असहज बन्न पुगेको नेपाल भारत सम्वन्ध, सीमा समस्या र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रीत रहेर कुराकानी भएको प्रष्ट्याइसकेको छन्। 

‘प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयलसँग नेपालले राख्दै आएका अडानहरू पुनः जानकारी गराइएको थियो। र, समाधानका लागि नेपालका तर्फबाट स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको थियो। वार्ताद्वारा नै तथ्य तथा ऐतिहासिक प्रमाणहरूका आधारमा देखापरेका समस्याहरूको समाधान खोजिनुपर्ने समाधान प्रस्तुत गरिएको थियो’ उनले भनेका छन्, ‘गोयलको तर्फबाट नेपालका प्रमको प्रस्तुतिलाई सकारात्मक रूपमा लिदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखिएको थियो।’

नेपाल भारत सम्बन्धलाई यही अवस्थामा रहन दिनु नहुने मान्यताका साथ गरिएको यो पहल र प्रयत्नलाई एक स्वरमा खासखास खालका मानिसहरूद्वारा किन विरोध भइरहेको छ? तिनीहरूले किन विरोध गरिरहेका छन्? यसलाई अघि सारेर प्रम केपी शर्मा ओली र उहाँले नेतृत्व गरेको सरकारको विरोधमा किन खनिदैछन्’ उनले प्रश्न समेत गरेका छन्। 

वास्तविकता नबुझी पूर्वाग्रह राखेर वा विरोधका लागि विरोध गर्नुपर्छ भन्ने अस्वस्थ मानसिकता बोकेर अहिले प्रधानमन्त्रीको विरोध भइरहेको उनले तर्क गरेका छन्। राष्ट्रियता र स्वाधीनतामा आँच पुर्‍याइएको भनेर आरोप लगाउने कोशिस भइरहेका उनले जनाएका छन्। 

बचाउमा ओली निकटका नेता

प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेटेपछि विभिन्न टिकाटिप्पणी भइरहेको बेलामा उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीको बचाउ गर्दै का प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा प्रधानमन्त्री केपी ओलीसँग भेट गरेको उनले तर्क बताएका छन्। 

यसअघि प्रधानमन्त्री ओली र रअ प्रमुख गोयलको भेटवार्तालाई परराष्ट्र मन्त्रालयले समेत अनभिज्ञता प्रकट गरेको थियो। तर, उपप्रधानमन्त्री पोखरेलले सरकारको परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा उनी नेपाल आएको र परराष्ट्र मन्त्रालयमा समेत वार्ताको औपचारिक टिपोट सुरक्षित राखेको खुलाएका छन्। 

यस्तै, प्रधानमन्त्री ओली र रअ प्रमुखको भेटवार्तालाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशवाहक रूपमा भेट गरेको प्रष्ट्याए। 

सामाजिक सञ्जालमार्फत विरोधका लागि विरोध गर्न मात्रै नभएर आफ्नै मुलुकको प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गरेका छन्। 

प्रचण्ड  निकटका नेता विरोधमा 

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय जासूसी संस्था ‘रअ’ प्रमुख गोयल र ओलीको भेटवार्तालाई कूटनीतिक मर्यादा विपरीत भएको संज्ञा दिएका छन्। उनी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका हुन्। 

त्यसो त अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि रअ प्रमुखसँग भेटवार्ता गरेको समाचारहरु बाहिरिएका थिए। तर, उनीहरुको सचिवालयले त्यो समाचारको खण्डन गरिसकेको छ।  

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले कूटनीतिक मर्यादा विपरीत राष्ट्रिय स्वाभिमानमा ठेस पुगेको ठहर गरेका छन्। पार्टीलाई समेत कुनै पूर्व जानकारी नगराएकोमा उनले असन्तुष्टि समेत व्यक्ति गरेका छन्।

‘राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ’ उनले भनेका छन्।

यस्तै, नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पनि रअ प्रमुख गोयललाई भेटेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार, नीति र घोषणाको विपरीत भएको उनले औल्याएका छन्। प्रधानमन्त्री र रअ प्रमुखको भेटवार्ता  कूटनीतिक मर्यादा विपरीत भएको उनले तर्क गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.