|

डडेल्धुरा : डडेल्धुराको अगरगढी नगरपालिका–५ खलंगामा अवस्थित ऐतिहासिक अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरेको छ। नेपाल एकीकरणका दौरान अमरसिंह थापाले निर्माण गरेको नेपालकै एक मात्र 'जीवित' ढुंगे किल्लाका रुपमा रहेको यहाँ रणबम गण, दह व्यारेक डडेल्धुराले कोतघर बनाएको हो।

अमरगढी किल्लामा भग्नावशेष मात्रै रहेकोमा सेनाले पुस्तकालयसहितको कोतघर निर्माण गरेर अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको रणबम गणका गणपति विक्रमदेव गिरीले जानकारी दिए।

नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ लागतमा उक्त कोतघर निर्माण गरिएको प्रमुख सेनानी गिरीले बताए। उनका अनुसार यसभित्र पुस्तकालयका साथै एक थान कम्प्युटरसमेत राखिएको छ।

स्थानीय सरकारलाई हस्तान्तरण गरिएको र आगामी दिनमा समेत स्थानीय तहसँग समन्वय गरी किल्लाका प्राचीन महत्व झल्किने वस्तु निर्माणमा सहयोग गर्ने सुदूरपश्चिम पृतना हेडक्‍वार्टरका पृतनापति निर्मलकुमार थापाले जानकारी दिए।

किल्लाको कोतघरमा रहेका पुराना हतियारको खोजी गरिने र संग्रहालयको रुपमा राख्न सकिने पृतनापति थापाले बताए।

अमरगढी किल्ला देशको एकीकरणको गाथासँग जोडिएको जीवित किल्ला भएकाले यसले डडेल्धुरा जिल्लाको मात्र नभई देशको गौरवगाथासँग जोडिएको अमरगढी नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए।

किल्लाको संरक्षण र संवद्र्धनका साथै यसको विकासका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले अन्य धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुलाई समेत जोडेर पर्यटन विकास गर्न सकिने बताए।

तत्कालीन समयमा नेपाल एकीकरणमा प्रयोग भएका हातहतियार कसैसँग भए संग्रहालयमा बुझाउन सार्वजनिक रुपमा आह्वान गरिएको छ। बुझाउने व्यक्तिको विवरणसहित संग्रहालयमा राखिने पनि नगरप्रमुख ओझाले बताए।

पुराना हातहतियारलाई ल्याएर किल्लामा संग्रहालय बनाउनुपर्ने स्थानीय दिलबहादुर थापाको माग छ। नेपाल एकीकरणका समयमा बडाकाजी अमरसिंह थापाले निर्माण गरेको किल्ला भएकाले यसको नामकरण पनि अमरगढी किल्ला राखिएको हो। हाल किल्लामा अन्य संरचनासमेत निर्माण भइरहेका छन्। 

यो किल्ला समुद्री सतहबाट लगभग ६ हजार ५०० फिट उचाइमा छ। अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामकरण गरिएको थियो। बडाकाजी अमरससिंह थापाद्वारा निर्मित यो किल्ला विशाल ढुंगाले कलात्मक तरिकाले बनाइएको छ। किल्लाभित्र युद्ध गर्न सैनिकहरूका लागि २२ वटा गुफाहरू बनाइएको छ।

त्यस्तै, युद्ध छल्न तथा सफलताका लागि शस्त्र निरोध गर्ने मार्ग निर्माण गरिएको छ। अहिले भएका किल्लाको माथिल्लो भागका ठूलाठूला रूखहरूका कारण किल्लाकै ऐतिहासिक गौरव अझै झल्किन्छ भने किल्लाको बीच भागका रहेको भैरवको मन्दिरले धार्मिक महत्व पनि झल्काउँछ।

छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत घुम्नका लागि पर्यटक आउँछन्। सुदूरपश्चिमबाहेक अन्य प्रदेशबाट पनि डडेल्धुरा आउने व्यक्तिहरूहरू एकपटक अमरगढी किल्ला पुगेर नै फर्किन्छन्।

विषेश गरी सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय, कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। सडक मार्ग भएर यहाँ सहजै रुपमा पुग्न सकिन्छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.