तर माधव नेपालको जवाफ : पहिले तपाईं सुध्रिनुस्, सहकार्य सम्भव छैन

|

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफुविरुद्ध पार्टी भित्रबाट मोर्चाबन्दी सुरु भएपछि वरिष्ठ नेता माधवकुमार नेपालसँग सम्बन्ध सुधार्ने प्रयास गरेका छन्। प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असहमति बढेपछि नेता नेपालसँग सहकार्यको हात अघि बढाउन खोजेका हुन्।

अध्यक्ष दाहालसँग दुरी बढेपछि प्रधानमन्त्री ओलीले गत साउन ९ गतेपछि पहिलोपटक कात्तिक ४ गते बालुवाटारमा बोलाएर छलफल गरेका छन्। त्यस लगत्तै प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटारमा बोलाएर मंगलबार पनि छलफल गरेका छन्। 

‘उहाँहरु बीचको भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले अब मिलेर अघि बढौँ भन्ने प्रस्ताव अघि सार्नुभएको छ। तर, उहाँ (नेपाल) ले तपाईंको कार्यशैलीको कारणले गर्दा मिलेर जान नसकिने बताइरहनुभएको छ’, नेपालनिकट एक नेताले थाहाखबरसँग भने, ‘प्रधानमन्त्रीको चाहमा भेट भएको थियो। तर, उहाँ आफ्ना अडानबाट पछि हट्नु भएको छैन।’

नेता नेपालले यसअघिको विवादमा पनि पार्टीलाई विधि र पद्धतिमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको ती नेताले बताए। ‘उहाँले यसअघिका विवादमा पनि पार्टीलाई विधि र पद्धतिमा चलाउने कुरामा जोड दिनुभएको थियो। पार्टीभित्र अहिलेसम्म भागबण्डाकै लडाइँ चलिरहेको छ,’ उनले भने। 

‘प्रधानमन्त्री ओलीले आफूलाई अफठ्यारो परेको बेलामा मात्रै अरुलाई प्रयोग गर्ने प्रवृत्ति छ। त्यसैले उहाँ (नेपाल)ले ओलीको प्रस्ताव स्वीकार गर्नुभएको छैन’, उनीनिकट स्रोत भन्छ, ‘उहाँले म पछिको नेतृत्व तपाईँकै हातमा हुन्छ। सहकार्य गरौँ भन्ने प्रस्ताव गर्नुभएको हो। तर नेपालले यसअघि पनि पटक पटक धोका दिइसकेकाले तत्कालै सहमति कार्यान्वय भए सहकार्य हुनसक्ने जवाफ ओलीलाई दिनुभएको छ।’ 

‘तपाईं अध्यक्ष दाहालसँग कुरा गर्दा मेरो आलोचना गर्ने मसँग कुरा गर्दा अध्यक्ष दाहालको आलोचना गर्ने यसरी तपाईंसँग कसरी सहकार्य गर्न सकिन्छ?’, ओलीसँगको भेटका क्रममा नेता नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘तपाईंको कार्यशैली नसुध्रिएसम्म हाम्रो तर्फबाट कुनै सहकार्य हुन सक्दैन।’

‘प्रधानमन्त्री ओलीले दश वर्षे जनयुद्ध गरेर आएकासँग हाम्रो विचार नै मिल्दैन। हामी जनताको जनवादको पक्षबाट सँगै आएकाहरुको विचार मिल्छ। त्यसैले मिलेर जाऔँ भनेर फकाउन खोज्नुभएको हो,’ स्रोतले भन्यो।

तर नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई नेताबीच लामो समयपछि भेट भएको बताउँदै सामान्य कुराकानी भएको उल्लेख गरेका छन्।  प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता नभएको धेरै भइसकेकाले पछिल्लो अवस्थाबारे सामान्य कुराकानी भएको हो', नेम्वाङले भने। 

‘प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता नभएको धेरै भइसकेको थियो। त्यसैले प्रधानमन्त्री ओलीले बोलाएर सामान्य छलफल गर्नुभएको हो’, उनले अगाडि भने।  

पार्टीलाई विधि र पद्धतिमा सहमतिमा अगाडि बढाउनुपर्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन्। ‘अहिलेको परिस्थितिमा पार्टीलाई सहमतिमा अगाडि बढाउनुपर्छ भन्ने हाम्रो चाहाना हो। भदौ २६  गतेको स्थायी कमिटीको निर्णयलाई कार्यान्वयनमा लैजानुपर्छ भन्नेमा हाम्रो जोड हो’, उनले भने। 

प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालसँगको दूरी बढेपछि नेता नेपाललाई फकाउन थालेका छन्। तर, नेता नेपाल पार्टी एकतापूर्वबाटै ओलीको कार्यशैलीबाट रुष्ट भइरहेकाले ओलीसँगको सहकार्यमा जान नसक्ने उनले बताइरहेका छन्। 

नेकपाभित्रको लामो शक्ति संघर्ष साम्य भएलगत्तै प्रधानमन्त्री ओलीको कार्यशैलीबाट पार्टीभित्र फेरि दरार उत्पन्न भएको छ। राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना र भारतीय जासुस संस्था रअका प्रमुख सामन्त कुमार गोयलसँगको भेटवार्तापछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.