सचिवालय बैठक राख्न दुई अध्यक्षलाई लिखित पत्र

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न नसक्दा पार्टीभित्र समस्या बल्झिएको बताएका छन्। 

थाहाखबरसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले पार्टी स्थायी कमिटीको निर्णय कार्यान्वयन गर्न नसकेकाले  विवाद बढेको बताएका छन्। 

‘हामीले भदौ २६ गतेको स्थायी कमिटीको बैठकबाट पार्टीभित्रका विवादलाई समाधान गरेर अघि बढ्ने सहमति गरेका थियौँ', उनले भने, 'तर, त्यो सहमति कार्यान्वयन लैजान सकेनौँ। निर्णय कार्यान्वयन गराउन चुकेकैले पार्टीभित्र समस्या बल्झिरहेको छ।’

पार्टीको पछिल्लो समस्याले नै कात्तिक १५ गतेबाट तोकिएको केन्द्रीय कमिटीको बैठक बस्न नसकेको उनले बताए। ‘स्थायी कमिटीले तोकिएको समयमा हामीले केन्द्रीय कमिटीको बैठक बस्न सकेनौँ', उनले अगाडि भने, 'अहिलेसम्म महाधिवेशनको तयारीको काम गर्न सकेका छैनौँ। पार्टी एकताको काम अझै बाँकी छन्।'

पार्टीमा चलेको लामो बहसको मुख्य उद्देश्य पार्टी एकताको रक्षा गर्ने भएको उनको तर्क छ। ‘पार्टीमा लामो समय छलफल र बहस भयो। त्यसलाई मुख्य एकता पार्टी एकता रक्षा गर्दै विचार र नीतिको आधारमा सुधार गर्दै सरकार र पार्टी सञ्चालन गर्ने निर्णय भएको थियो’, उनले भने, ‘तर, हामीले पार्टीभित्रको निर्णय कार्यान्वयनमा गर्न नसकेमा चैतमा तोकिएको महाधिवेशनमा समेत असर पर्न सक्छ।’

‘महाधिवेशनको तयारीका लागि डाकिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएपछि पार्टीको काममा असर पर्ने नै भयो। तर, मंसिरमा बोलाइएको केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीको निर्णयअनुसार औपचारिक रुपमा महाधिवेशन गर्न पहल गरे पनि  हुन्छ’, उनले भने, ‘तर, महाधिवेशनको विषयमा अहिल्यै औपचारिक रुपमा भन्न सकिँदैन।’

पछिल्ला दिनमा देखिएका पार्टीभित्रको विवाद समाधानका लागि सचिवालय बैठकबाट छलफलमार्फत समाधान गर्नुपर्ने उनले बताए। ‘अध्यक्षद्वयले पटकपटक छलफल गर्नुभयो। तर, सहमति बन्न सकेको छैन। त्यसैले लिखित रुपमा मैले सचिवालय बैठक राख्न माग गरेको छु’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.