'चुनाव जितेर गएका जगन्नाथ खतिवडा र नारायण कार्कीले त गाउँमै टेकेनन्'

|

उदयपुर : कटारी नगरपालिका–७ रिस्कु बुढाबुढी गाउँका सोम बहादुर मगरलाई स्थानीय तहको निर्वाचनपछि सबै किसिमका विकासे पूर्वाधार गाउँमै उपभोग गर्न पाइन्छ भन्ने आशा थियो।

सडक, सिँचाइ, खानेपानीजस्ता आवश्यकीय पूर्वाधार अभावमा वर्षौंदेखि भोग्नुपरेको समस्या टर्ला भन्ने विश्वास थियो उनमा। तर पुर्खौंदेखि खोलाको पानी गाग्रोमा बोकेर खानुपर्ने बाध्यता उस्तै छ। 'चुनावमा उठेका उमेदवारले खानेपानी घर घरमा पुर्‍याइदिने आशा देखाएका थिए,' मगरले भने, 'जनप्रतिनिधिले पानी ल्याइदिनु त टाढाको कुरा हाम्रो गाउँमा समेत पाइला टेकेका छैनन्।'

स्थानीय तहको चुनावपछि सिंहदरबारको अधिकार गाउँगाउँमा आउँछ भने पनि आफूहरुले कुनै अनुभूति गर्न नपाएको बुढाबुढी गाउँबासी गुनासो गर्छन्। 

२०५६ सालको निर्वाचनमा साबिकको नेकपा एमालेबाट जगन्नाथ खतिवडा प्रतिनिधिसभामा निर्वाचित भएका थिए भने ७० को चुनावमा नेपाली कांग्रेस बाट नारायण बहादुर कार्कीले यहाँबाट चुनाव जितेका थिए। खतिवडा र कार्की रिस्कुकै भए पनि सांसद हुँदासमेत खानेपानी समस्या समाधान गर्न चासो नेदेखाएको स्थानीय बताउँछन्। 

पानीको स्रोत रिस्कुको अन्य ठाउँमा भन्दा अधिक भएको बुढाबुढीमै ५० वर्षदेखि खानेपानी समस्या जस्ताको त्यस्तै छ। बुढाबुढीका २५ घरलाई  अहिले पनि खोलाको पानी गाग्रोमा भरेर खानुपर्ने बाध्यता छ।

खानेपानीको मूल पर्याप्त मात्रामा भए पनि साना तथा ठूला योजना सञ्चालन हुन नसक्दा खानेपानीको व्यवस्थापन हुन नसकेको हो। आफ्नो टोललाई लक्ष्य गरी वडा कार्यालय, नगरपालिका, प्रदेश र केन्द्र सरकारको समेत कुनै योजना कहिल्यै पनि आएन।

गाउँदेखि तल दूषित अवस्थामा रहेको खोलाको पानी भरेर खाँदै आएको कटारी ७ की स्थानीय चन्द्र कुमारी राईले बताइन्। 'खानेपानीका लागि पहल गर्न भनेर वडा कार्यलयमा हरेक वर्ष माग लिएर गए पनि चासो दिएएनन्,' उनी भन्छिन्। 

माग कहिल्यै सम्बोधन नहुँदा खोलाको दूषित पानी खान बाध्य भएको राईको गुनासो छ। 'पानी पनि पाइएन,' उनले भनिन्, 'खोलाको पानी खाएको ५० वर्ष भयो अब त आफ्नै घरको धारामा झरेको पानी खाइएला भन्ने आशै मरिसक्यो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.