|

दाङ : लुम्बिनी प्रदेशको आगामी हिउँदे अधिवेशन स्थायी राजधानीमा सञ्चालन गर्न तयारी थालिएको छ। 

दुई महिनापछि हुने हिउँदे अधिवेशन स्थायी राजधानी देउखुरीमा सञ्चालन गर्ने तयारी अनुरुप शुक्रबार प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती र आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलगायतको टोलीले देउखुरीको राप्ती गाउँपालिकामा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे अनुगमन गरेका छन्। निरीक्षणपछि राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा प्रदेशसभा सञ्चालनका लागि उपयुक्त भएको बताएका प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले बताए।

‘यदि राप्ती प्राविधिक शिक्षालयको भवन र जग्गा उपलब्ध हुन सके प्रदेश सभा स्थापना गरेर आगामी हिउँदे अधिवेशन स्थायी राजधानीबाटै चलाउन सकिन्छ’, चौधरीले भने, ‘त्यसका लागि भौतिक पूर्वाधारको व्यवस्थापनको प्रकृया तत्कालै थालिनु पर्छ। विद्यालयले भवन दिन तयार रहेको छ।’

प्राविधिक शिक्षालयका ३५ वटा भवन छन्। ती भवन प्राप्त भएमा प्रदेशसभा र एउटा मन्त्रलाय व्यवस्थापन गर्न सकिने सांसद चौधरीले बताए। उक्त भौतिक संरचना प्राप्तिका लागि प्रदेश सरकारले संघीय सरकारको शिक्षा मन्त्रालयलाई भनेर मन्त्रालयले निर्णय गर्नुपर्ने उनको भनाइ छ।

शिक्षालयको भवन प्रदेशसभाका लागि प्रयोगमा ल्याइएमा शिक्षालयलाई देउखुरी गढवाको गोबरडिहामा रहेको सामुदायिक विद्यालय वा लालमटियास्थित आदर्श माविमा स्थानान्तरण गर्ने सकिने समेत उनले बताए। त्यसका लागि विद्यालयहरु तयार रहेको र अब शिक्षा मन्त्रालयले निर्णय गरे प्रक्रिया अगाडी बढ्ने सांसाद चौधरी बताउँछन्। 

अनुगमनपछि सभामुख घर्ती र कानुनमन्त्री केसीले स्थायी राजधानीमा रहेका भौतिक पूर्वाधारको अवस्थाबारे मुख्यमन्त्री शंकर पोख्रेललाई जानकारी गराउने छन्। यसअघि प्रदेश पूर्वाधार विकास प्राधिकरणको टोलीले पनि भौतिक पूर्वाधारहरुको अवस्था बारे अनुगमन गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.