|

इलाम : ‘टुथलेस टाइगर’ उपनाम पाएका विश्वकप विजेता इङल्यान्ड टोलीका सदस्य नोबी स्टिल्सको ७८ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि प्रोस्टेट क्यान्सर र अल्जाइमर्सबाट पीडित १९६६ को विश्वकप विजेता टोलीका सदस्य स्टिल्सको शुक्रबार निधन भएको हो।

‘टुथलेस टाइगर’ को उपनामले चिनिएका स्टिल्सले म्यानचेस्टर युनाइटेडका सहकर्मी बर्बी चाल्र्टन, ज्याक कान्ली र लिभरपुलका इयान कालाघनसँगै विश्वकप र युरोपियन कप जित्ने इङलिस खेलाडीको रुपमा नाम बनाएका थिए।

इङल्यान्डको टोलीबाट २८ क्याप जितेका डिफेन्सिभ मिडिफिल्डर स्टिल्सले विश्वकपको सेमीफाइनल खेलमा पोर्चुगलका इसिवियोलाई फितलो तुल्याउन महत्वपुर्ण भुमिका खेलेका  थिए। जसका कारण इङल्यान्ड फाइनल पुगेर पश्चिम जर्मनीलाई ४–२ ले हराउँदै पहिलो पटक विश्वकपको उपाधि चुम्यो। उपाधिपछि पोस्ट म्याच उत्सबमा स्टिल्सले वेम्बली पिचमा नृत्य प्रस्तुत गरेका थिए। जसमा एक हातमा विश्वकप ट्रफी  थियो र अर्को हातमा नक्कली दाँत। 

उनले इङल्यान्डका लागि एक गोल गरेका छन्। जुन पश्चिम जमर्नीविरुद्ध वेम्बली स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा थियो। म्यानचेस्टर युनाइटेडमा ११ वर्ष बिताएका उनले दुई लिग उपाधि र १९६८ को युरोपियन कप जित्न भूमिका खेलेका थिए।

रेड डेभिल्सका लागि सन १९६० देखि १९७१ को बीचमा उनले ३ सय ९५ खेलमा सहभागिता जनाउँदै १९ गोल गरेका थिए। त्यसपछि म्याचेस्टरले उनलाई २० हजार पाउन्डमा मिडल्सब्रोलाई बेच्यो।

१९७५ मा सन्यास लिनुअघि उनले मिडल्सब्रो र प्रिस्टन नर्थ इन्डबाट खेले। १९७७ देखि १९८१ सम्म प्रिस्टनको व्यवस्थापन सम्हाले। छोटो समय वेस्ट ब्रोमविचमा असफल करियरको रुपमा बिताए।

१९८९ मा म्यानचेस्टरले उनलाई युवा टिमको प्रशिक्षकको जिम्मेवार सुम्पियो। फलस्वरुप डेभिड बेकह्याम, रायन गिग्स, पाउल स्कुल्स, निक्की बट, गेरी नेभिल र फिलिप नेभिल उत्पादन गरे। 

‘रेस्ट अन पिस नोबी। तपाईंले हाम्रो लागि जे गर्नुभयो त्यसका लागि धन्यवाद। तपाईले हामीलाई रातो सर्टमा कसरी प्रतिस्पर्धा गर्ने भनेर सिकाउनुभयो।’ स्टिल्सको निधनमा शोक प्रकट गर्दै गेरी नेभिलले भनेका छन्। 

सहकर्मी र क्लब यसरी सम्झन्छन् स्टिल्सलाई

स्टिल्सको मृत्युमा दुःख प्रकट गर्दै फाइनल खेलका ह्रयाट्रिक म्यान सर जर्फ हस्टले भने ‘नोबीको मृत्यको खबर सुनेर साह्रै दुःखी छु। महान् खेलाडी उनलाई हामी सधैं सम्झिरहनेछौ।’

‘नोबी स्टिल्सको मृत्यबाट दुःखित छु।’ इङल्यान्डका पूर्वस्ट्राइकर गेरी लिनेकरले ट्विरटमा लेखेका छन् ‘हाम्रो १९६६ को विश्वकप जित्ने अर्को नायकले हामीलाई छाड्यो। उनको जुन मुटु छ दाँतमा भएको फाँट भन्दा पनि ठूलो थियो। रिप नोबी’

‘यो धेरै दुःखपूर्ण खबर हो। हामी एउटै स्कुलमा गयौं र उहाँ मेरो दाजु जस्तै हुनुहुन्थ्यो त्यसैले म उहाँलाई सानैदेखि चिन्छु।’ १९६८ को युरोपियन कप जित्दाका गोलकर्ता ब्रायन किडले बिबिसी स्पोटर्ससँग कुरा गर्दै भने, ‘तपाईले जे देख्नुभयो उहाँ त्यस्तै हुनुहुन्थ्यो नम्र र भलो मानिस। त्यही व्यवहारका कारण टिममा उनको माग धेरै हुन्थ्यो। प्रशिक्षकको रुपमा उहाँ अविश्वसनिय हुनुहुन्थ्यो। उहाँ क्लबको एउटा रोल मोडल हुनुहुन्थ्यो र बच्चहरु सबैले मनपराउँथे।’ 

म्यानेचेस्टर युनाइटेडका गोलरक्षक एलेक्स स्टेप्ने असली हीराको रुपमा मिडफिल्डर स्टिल्सलाई सम्झन्छन्, ‘धेरै मानिसहरुले सोचे कि उनी कडा रुपमा प्रस्तुत हुन्छन् तर टोलीमा केही निश्चित समय हुन्छ जब कुनै खेलाडी कसैलाई ९० मिनेटसम्म मार्क गर्नुपर्ने हुन्छ र नोबीले त्यो गर्न सक्थे। हामीले १९६६ मा युसेबियोसँगै देख्यौं। उनले खेल अत्यन्त राम्रोसँग पढ्न सक्थे र जान्दछन्। म्यानचेस्टर युनाइटेडको उनको मुटुमा थियो।’

प्रेस्टन र लिभरपुलका पूर्व डिफेन्डर मार्क लरेनसले स्टिल्सको मृत्युमा दुःख व्यक्त गर्दै भने, ‘मलाई कसैले पनि प्रेस्टनको खेलाडी बनाएको त्यो स्टिल्सले हो।’ इङल्यान्ड राष्ट्रिय टोलीले ट्विटरमा श्रद्धाञ्जलि व्यक्त गर्दै लेखेको छ, ‘१९६६ को विश्वकप विजेता टोलीका सदस्य नोबी स्टिल्सको निधनबाट स्तब्ध छौं।’

पूर्वक्लब प्रेस्टनले दुःख व्यक्त गर्दै लेखेको छ ‘पूर्वखेलाडी र पदक विजेता प्रशिक्षक नोबी स्टिल्सको निधनप्रति दुखित छन्– हाम्रो विचारहरु यस अविश्वसनीय दुःखी सिमयमा नोबिका प्रियजनहरुसँग छन्।’

इङलिस क्लब मिडलस्ब्रोले टुथलेस टाइगरलाई श्रद्धाञ्जलि दिँदै आफनो जर्सी लगाउने सबैभन्दा रंगीन पात्र मध्येको एकको रुपमा स्मरण थर्‍यो। 

सन १९९३ मा ओल्ड ट्रयाफड छाडेपछि उनी चर्चित डिनर स्पिकर बने। डिनरपछि उनको मनोरञ्जनात्मक भाषण सुन्न मानिसहरु पैसा भुक्तान गर्थे। तर स्वास्थ्य स्थितिमा समस्या देखिएपछि उनी सार्वजनिक समारोहबाट टाढा हुँदै गए।

उनलाई सन २०१० मा हृदयघात भएको थियो। र त्यसपछि अल्जाइमर र प्रोस्टेट क्यान्सर पत्ता लागेको थियो। सन् २०१० माउनले आफनो विश्वकप र युरोपियन कपको पदकहरु बिक्री गरे। जुन म्यानेस्टर युनाइटेडले २ लाख पाउन्डमा खरिद गरेर ओल्ड ट्राफडस्थित संग्रहालयमा राखेको छ।

बाल्यकाल बिताएको म्यानचेस्टर भित्रको कोलिहसर्टको सडक मे २०१६ मा उनको नामबाट राखिएको छ– नोबी स्टिल्स ड्राइभ’। 

देशका लागि योगदान पु¥याए बापत बेलायत सरकारले दिने ‘मस्ट एक्सिलेन्ट अडर अफ दि ब्रिटिस इम्पायर’ (ओबिई) बाट सन २००० मा विभूषित गरिएको थियो।

पश्चिम जमर्नीविरुद्ध फाइनल खेलमा मैदान उत्रिएका ११ खेलाडीमध्ये निधन हुने उनी सातौं खेलाडी हुन्। स्टिल्सभन्दा अघि कप्तान बर्बी मोर, एलन बाल, रे विल्सन, गोर्डन बेङ्क्स, मार्टिन पिटर र जेक चाल्टर्नको निधन भइसकेको छ। 

विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.