|

पर्वत : गत चैत ११ मा कोरोना सङ्क्रमणको जोखिमका कारण वैदेशिक रोजगारीमा भएका तथा देशभित्र पनि विभिन्न ठाउँमा काम गर्दै आएकाहरूको रोजगारी गुम्यो।

जारी महामारीलाई समस्याका रूपमा भन्दा पनि गाउँमा फर्किएका युवाहरूलाई कृषिमा लगाई आत्मनिर्भर बनाउने भनी स्थानीय तहहरूले कोरोना कहरलाई अवसरको रूपमा लिइने बताएका थिए।

तर अहिले न त युवाहरू कृषिमा लाग्न सकेका छन्, न त स्थानीय तहले उनीहरूलाई कृषिमा आकर्षित गर्ने कार्यक्रम नै ल्याउन सकेका छन्। लकडाउन शुरू भएपछि गाउँमा फर्किएका धेरै युवाहरूले नेपालको मुख्य पेसाका रूपमा रहेको कृषि क्षेत्रमा केही न केही गरेर अब रोजगार खोज्ने होइन, दिनेसम्मको लक्ष्य राखेको बताएका थिए।

रोजगारी गुमेपछि धमाधम गाउँ फर्किएका युवा र स्थानीय तहले पनि कृषिमा केही गर्ने भनी धेरै बोले पनि काममा उपलब्धि देखिन सकेको छैन। कुश्मा नगरपालिका-५ का स्थानीय शालिग्राम पौडेलले कृषि गरेर जीवन चलाउन सकिन्छ भन्ने विश्वास युवामा नहुनु र उनीहरूका लागि आवश्यक तालिम लगायतका व्यवस्थापन स्थानीय तहले गर्न नसक्नुको परिणाम भएको बताए।

‘लकडाउनमा रोजगारी गुमेपछि गाउँमा आएर कृषिमा केही गर्ने जोसमा रहेकाहरूको जोश हराएको छ। घाउ आलो रहेको बेलामा यसो उसो गर्छु भन्नेहरूले लामो लकडाउनलाई यस्तै त छ, चलिरा'छ भनेर बुझे,’ उनले भने, ‘युवाहरूलाई स्थानीय तहले आवश्यक तालिम, सरसल्लाह वा अन्य प्राविधिक सल्लाह दिएको भए अलि सजिलो हुने थियो, यसतर्फ स्थानीय तहले पनि केही गर्न सकेनन्।’

बागलुङ बलेवाका प्रदीप सहनीले पनि स्थानीय तहबाट कृषिमा लागेका युवाहरूलाई कुनै खालको सहयोग नभएको र कम्तीमा पनि बोलीले भए पनि जोश दिने काम नगरेको बताए। दुबईबाट आएपछि लकडाउनकै अवधिमा २० लाख रुपैयाँ लगानी गरी नौ ओटा गाई र भैँसी पालेका उनको गोठमा स्थानीय तहका कसैको पनि पाइला परेको छैन।

‘लकडाउनकै बेलामा मैले गाई भैँसी पाल्न थालेको हुँ, बाहिर कुरा गर्दा युवालाई प्रोत्साहन गर्ने भनेर सबैले भन्छन्, तर गर्ने कसैले केही होइन।’ उनले भने, ‘मेरो आँगनमा कोही जनप्रतिनिधिको पाइला परेको छैन। मलाई गर्नुपर्ने त केही छैन। तर आएर हेरिदिए मात्रै पनि मलाई थप जाँगर चल्ने थियो, ऊर्जा मिल्ने थियो।’

पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले भने व्यवसायिक रूपमा कृषिमा लाग्ने गरी युवाहरू नआएका कारण स्थानीय तहले केही गर्न नसकेको बताए। स्थानीय तहले व्यक्ति व्यक्तिलाई आकर्षित गर्नुभन्दा समूह बनाएर ठुलो लगानीमा धेरै उत्पादन गर्ने गरी सामूहिक कृषिमा लाग्नुपर्ने उनको भनाई छ।

‘२/४ वटा भैँसी र गोरु त मेरो बुबाले पनि पाल्नुभएको छ। तर त्यसलाई व्यवसायिक रूपमा गरिएको कृषि नभई काम चलाउका रूपमा हेरिन्छ। केही गर्नका लागि ठुलो योजना बनाएर आउनुपर्छ,’ उनले भने, ‘अनुदान लिनका लागि होइन काम गरेर आम्दानी गर्न र अरूलाई रोजगारी दिन सक्ने गरी सामूहिक रूपमा ठूलो लगानी गर्ने गरी आएमा हामीले त्यसमा काम नगर्ने भन्ने हुँदैन, अहिलेसम्म यसरी आएका युवा मैले पाएको छैन।’

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले शुरूमा कृषिमा केही गर्ने बताएका युवाहरू पुन विदेश जाने पर्खाइमा बसिरहेको बताउँदै स्थानीय तह वा कार्यालयहरूले आकर्षणका कार्यक्रमहरू ल्याउन नसकेको बताउँछन्।

कोरोना कहरको यो बेलामा स्थानीय तहहरू कोरोनाको नियन्त्रण र व्यवस्थापनमा मात्रै बढी सक्रिय हुँदा उत्पादन लगायतका क्षेत्रहरू केही ओझेलमा परेको बताउँछन्। स्थानीय तहले तयार पारेका कृषिमुखी कार्यक्रमहरूमा युवाहरूको आकर्षण भएको आफूले नपाएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.