कमिसनको खेलले शिक्षकको सरुवा! अभिभावक असन्तुष्ट

|

सर्लाही : जिल्लाको एक विद्यालयमा शिक्षक सरुवाको विवादले पठनपाठन प्रभावित बनेको छ।

जिल्लाको ब्रम्हपुरी गाउँपालिका–३, भेल्हीस्थित सुवेदार नन्दलाल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक युगेश्वर राउतसहित ५ जना शिक्षकलाई गाउँपालिकाले एकैपटक सरुवा गरेको छ। जसका कारण कक्षा १२ सम्मको पढाइ प्रभावित भएको हो।

१२ सय बढी विद्यार्थी अध्ययरत त्यस विद्यालयका केही अभिभावकले शिक्षक सरुवाप्रति विरोध जनाएका छन्। असन्तुष्ट अभिभावक विद्यालयमै भेला भएर सरुवा गराइएका शिक्षकलाई फिर्ता ल्याउन माग गरेका छन्। 

विद्यालयबाट सरुवा गरिएका शिक्षकहरुले अनियमिततामा सघाउ नगरेको र विभिन्न निर्माणका काम गर्दा कमिसन नदिएकाले पूर्वाग्राही किसिमले आफूहरुको सरुवा गरिएको आरोप लगाएका छन्। 

प्रधानाध्यापक राउतले गाउँपालिकाबाट अरु १९ जना शिक्षकको तलब निकासा भए आफूहरुको रोकेर राखिएको बताए। आफूभन्दा कनिष्ठ शिक्षक प्रधानाध्यापक रहेको ब्रम्हपुरीस्थित एक विद्यालयमा आफ्नो सरुवा गरिएको उनले गुनासोसमेत गरे।

कक्षा ११ र १२ मा एउटा पनि दरबन्दी नरहेको विद्यालयमा प्रावि तहका तीन जना र मावि एवं निमावि तहका एक÷एक जनाले ११, १२ मा समेत पढाउँदै आएका थिए। 

उनीहरुको सरुवाले ११ र १२ को पढाइ प्रभावित भएको छ। विद्यालयका संरक्षक राजु चौधरीले गाउँपालिका अध्यक्षले भेल्हीको विद्यालयलाई जहिले पनि विभेदको दृष्टिले हेर्दै आएको आरोप लगाए। 

भवन, शौचालय निर्माणलगायत काममा कमिसन नदिएको र अनियमिताविरुद्ध बोलेको भन्दै प्रधानाध्यापकलगायत महत्वपूर्ण विषयको पठनपाठन गराउने शिक्षकलाई सरुवा गरिएको उनले बताए। 

तर ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले भने, संघीय सरकारको परिपत्रअनुसार दरबन्दी मिलान गर्ने क्रममा शिक्षकहरुलाई एक विद्यालयबाट अर्कोमा खटाइएको बताए। 

भेल्हीको माविलाई आफूले कुनै विभेदले नहेरेको र त्यहाँ कमीकमजोरी र गुनासो आएकाले प्रअलगायत शिक्षकको सरुवा गरिएको उनले दाबी गरेका छन्। अध्यक्ष साहले आफूले विद्यालयमा योजना पार्दा कमिसन नमागेको स्पष्ट पारे। आफूलाई केही व्यक्तिले असफल र बदनाम गर्न खोजिएको समेत उनको आरोप छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.