परीक्षण नतिजा ढिलो आउँदा झन् धेरै तनाव

|

काठमाडौं : पत्रकार अमृत सुवेदी संक्रमण भएको २५ दिनपछि कोरोना मुक्त भएर घर फर्किए। तर, यी २५ दिन उनका लागि जीवनकै कठिन बने। विरक्ति र तनावमा बिताउनु पर्‍यो उनले। सामान्य लक्षणसमेत नदेखिए पनि उनले भोगेको मानसिक र सामाजिक तनाव निकै पीडादायी रह्यो।

'कोरोनालाई गम्भीर रुपमा लिनुपर्छ, तर हामीले यसबारेमा लापरबाही गरिरहेका छौँ। जब लाग्छ : तब मात्रै हाम्रो चेत खुल्छ', उनले एकै सासमा सुनाए।

कोरोनाकै डरले सधैँ घरमा मात्र बसिरहन पत्रकारलाई सम्भव हुँदैन। उसको व्यवसायिक धर्मले पनि दिँदैन। समाचार उत्पादन गर्न अन्य सहकर्मी जस्तै उनी पनि मैदानमै खटिएका थिए। कोरोनाबाट सचेत हुँदाहुँदै कसरी सर्‍यो कोरोना, उनी आफैँसँग उत्तर छैन।

'सुरुवाती दिनमा कोरोनाबारे पत्रकारहरू सचेत थियौं। तर समय बित्दै जाँदा हामीले कोरोनाबाट सुरक्षित रहन अपनाउने मापदण्ड पूरा गर्न भुलेका थियौं', उनी भन्छन् , 'पत्रकारलाई पनि कोरोना लाग्छ र भन्ने दम्भ पनि देखिन थालेको थियो। फिल्डमा निस्किँदा निश्‍चित स्वास्थ्य मापदण्ड पालनामा चुक्दा धेरै पत्रकारहरू कोरोनाको जोखिममा छन्‌ भन्ने मेरो बुझाई हो।'

मिडियाको मानसिक तनाव

कोरोना नलाग्दा आफूले लेख्ने समाचार र लागेर आइसोलेसनबाट समाचार हेर्दाको तनाव अर्कै रहेको सुवेदी सुनाउँछन्‌। सञ्चारमाध्यमहरूले बिरामीलाई थप मानसिक तनाव दिने गरेको अनुभव उनीसँग छ। 'म आइसोलेसनमा बस्दा के महसुस गरेँ भने नेपालका धेरै मिडियाले कोरोनाका समाचार जसरी उत्पादन गरिरहेका छन्, त्यो एकदमै निराशाजनक छ,' उनले सुनाए। 

महामारीको रूप लिएको यो नयाँ सरुवा रोगसँग धेरै मानिसहरू परिचित छैनन्‌। लामो समयको लकडाउन र यसले निम्त्याएको आर्थिक मन्दीले आमजनता तनावमा छन्। उनीहरू कोरोनालाई सकेसम्म भुल्न चाहन्छन्। तर, नेपाली मिडियाले जनतालाई नै लगातार मानसिक तनाव दिने गरी समाचार दिइरहेका छन्। 

'कोरोना संक्रमितलाई उत्प्रेरित गर्ने कन्टेन्ट उत्पादन गरिदियो भने मनोबल बढ्न सक्छ। तर हाम्रोमा ठीक उल्टो छ', उनले अगाडि भने, 'जसले गर्दा हरेक संक्रमितहरू झन् धेरै मानसिक तनावको सिकार भइरहेका छन्। बिरामी व्यवस्थापनका लागि सरकारको तयारीबारे खबरदारी अझै आवश्यक छ।'

कोरोना महामारी आउनुअघि नै सुवेदी यो रोग सँगसँगै यात्रा गर्नुपर्छ भन्नेबारे मानसिक रुपमा तयार थिए। रिपोर्टिङमै जुटेका बेला कोरोना लागेको महसुस भएपछि एकीन गर्न परीक्षणका लागि स्वाब दिएका थिए। कोरोना लाग्नुभन्दा ठूलो विडम्बना स्वाब दिएपछि आउने नतिजाको पर्खाइ थियो। स्वाब दिएको कयौं दिनसम्म पनि रिपोर्ट नआउँदा कतिपय संक्रमित निको हुन्छन् भने उनीहरूबाट अरू स्वस्थ व्यक्ति संक्रमित भइसकेका हुन्छन्‌।

अहिले त झन स्वाब संकलनका लागि पनि भनसुन र सोर्सफोर्स लगाउनुपर्ने बाध्यता छ। धन्‍न ! उनले त्यसो गर्नु परेन। असोज २० गते उनलाई कोरोना देखिएको खबर आयो। त्यसपछि सुरु भयो आइसोलेसन बास। कोरोना लागेपनि उनी भयंकर ठूलो तनावमा थिएनन्। जब दुई छोराहरूलाई पनि कोरोना देखियो, अनि खास तनाव सुरु भयो।

छोराहरूलाई पनि संक्रमण देखिएपछि उनीहरू सँगै बसे। निको भएपछि उनले बुझेको कुरा तनाव नलिने हो भने रोगलाई जित्न बल मिल्ने रहेछ। 'केटाकेटीलाई रोगबारे मतलब नै थिएन। उनीहरू हाँस खेल गरेर रमाए। हामीभन्दा छिटो निको भए। म भने उनीहरूलाई कोरोना भएपछिको तनावले थिचिएको थिएँ', उनले सुनाए, 'कोरोना लागे पनि आफ्ना अनेक व्यवहारिक बाध्यताले त थिच्न छाडेका थिएनन्। तनावबीच मैले कोरोना जित्न‍ लामो समय कुर्नुपर्‍यो। यसको मतलब हामीले रोग लागेपछि आत्मविश्वास गुमाएनौँ भने छिटो निको होइँदोरहेछ।'

निको भएपछि उनी प्लाज्मा दिन तयार छन्। यसका लागि समूह पनि बनाइरहेका छन। 'हाम्रो राज्य संयन्त्रको तयारी पर्याप्त र सम्मानजनक छैन। यदि आफू र समाजलाई सुरक्षित राख्ने हो भने आफैंले पहल थाल्नुपर्छ', उनले भने। 

आइसोलेसनमा रहँदा उनले तनावबाट मुक्त हुन फिल्म हेरे। कमेडी शो हेरे। मोटिभेसनल स्पिचहरू सुने। तर, विज्ञहरूको सुझाव हेरेनन्। उनी अन्त्यमा भन्छन्, 'हाम्रो समाजका सबै सदस्यलाई डाक्टर बन्नुपर्ने प्रवृत्ति छ। सबैको सुझाव सुन्न थालियो भने पागल हुने सम्भावना बढी छ। रोग लागेपछि कसरी त्यसलाई भुल्न सहज हुन्छ, तपाईंले त्यही गर्नुस्, अनावश्यक कुरा सुनेर तनाव नबढाउनुस्।'

कोरोना भन्दा समाजको तनाव धेरै

नेपाल पत्रकार महासंघकी पूर्व केन्द्रीय सदस्य पवन वर्षा शाहले २२ दिन लामो संघर्षपछि कोरोनालाई जितिन्। उनीसँग पनि सुवेदीको जस्तै तीतो अनुभव छ।

सामाजिक सञ्जालमा कोरोनाबाट मृत्यु भएकालाई श्रद्धाञ्जली दिने र कोरोना लागेकालाई स्वास्थ्यलाभको कामना गर्ने दुवै प्रवृत्ति बेठीक रहेको उनले बुझेकी छन्। 

'कोरोनालाई एउटा सरुवा रोगका रुपमा समाजको तल्लो तप्कासम्म पुर्‍याउन नसक्ने हो भने यसले झनै विकराल रुप लिन सक्छ', उनले भनिन् , 'सामाजिक सञ्‍जाल अफवाह र तनावको मुख्य केन्द्र बनेको छ। बिरामी सामाजिक सञ्‍जालको हल्लाबाट जोगिन जरुरी छ।'

असोज २० मा नै कोरोना देखिएपछि उनी घरमै आइसोलेट भइन्। जब कोरोना पोजेटिभको खबर आइपुग्यो, तब उनले सबैभन्दा पहिले सामाजिक सञ्‍जालबाट टाढै हुने कोसिस गरिन्‌।

'रिपोर्ट आएपछि एकछिन त सपनामा छु जस्तै लाग्यो। पोजेटिभ आएपछि सबैतिर अन्धकार छाएजस्तो महसुस भयो', उनले सुनाइन्, 'दुधे बच्चासहित परिवारको जिम्मेवारी मेरै काँधमा भएकोले हिम्मत हार्नु थिएन। जित्नु त थियो नै!' उनले सुनाइन्।

कोरोना लागेकालाई यो समाजले अपराधीको जस्तै व्यवहार गर्ने गरेको उनले बुझेकी छन्। घरमा बसे पनि या हस्पिटलमा बसे पनि यसको उपचार हिम्मत हो भन्ने उनको बुझाई छ। कोरोनासँग उनले २२ दिन नै घरमै बसेर संघर्ष गरिन्।

आफूलाई कोरोना लागेको शंका भएपछि उनले छोरीलाई अर्को कोठामा सारिसकेकी थिइन। तर, तीन महिने सानो छोरालाई आफैसँग राख्नुको विकल्प थिएन उनीसँग। उनले अधिकांश समय ग्लोब्स, मास्क र सेनिटाइजरको सहयोगमा छोरालाई कोरोनाबाट सुरक्षित राख्न सफल भइन।

'सानो बाबुलाई धेरै समय बोतलको दूध खुवाएँ। जब आफ्नो दूध खुवाउँथे, त्यसपछि बाबुलाई तातोपानी पिलाउने र नुहाइदिने गर्थेँ,' उनले भनिन्। 

साना नानीबाबु साथमा रहेका बेला कोरोना लाग्नुको तनाव उनलाई मात्रै थाहा छ। उनले यो समय निश्चित विज्ञहरूसँग कोरोनाबाट बच्चालाई जोगाउने उपाय खोजिन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेर बसेकाले बच्चालाई जोगाउँदै आफू पनि कोरोनामुक्त भएको उनले बताइन्। विज्ञहरूको सुझावलाई व्यवहारमा उतारेकाले कोरोनाविरुद्धको संघर्ष केही सहज भएको उनले उल्लेख गरिन्।

अनि लम्बियो संघर्ष

साधारणतया नेपाल सरकाले कोरोना देखिएको १० दिनपछि जाँच्दा पोजेटिभ देखिएमा आइसोलेसनमा राख्ने गरेको छ। होम आइसोलेसनमा रहेकाले पनि त्यहाँबाट निस्कनु हुँदैन। तर, १० दिनमा नेगेटिभ आएकाले घर जान्छन् भने पोजेटिभ आएकालाई थप चार दिन आइसोलेसनमा राखेर १४ औँ दिनमा नजाँची घर पठाइन्छ। 

तर शाहको हकमा अर्कै भयो। उनले १४ औँ दिनमा फेरि स्वाब दिइन्। तर कोरोना पोजेटिभ नै देखियो। त्यसैले उनको आइसोलेसन बसाई झन् लम्बियो। कहिलेकाहीँ समाचार पनि पढ्थिन्। समाचारहरू यसरी आउँथे, मानौं कोरोनाले सबै सखाप भइसक्यो। जसले गर्दा उनलाई थप मानसिक तनाव थप्थ्यो। 

'युट्युबको हिसाब त गर्दै नगरौं। जिम्मेवार समाचार संस्थाहरू पनि कोरोना समाचार ब्रेकिङ दिने नाममा गलत गरिरहेका छन्', उनले भनिन् , 'भीडको आवाज भन्दा पत्रकारको एक वाक्य समाजका लागि बढी महत्वपूर्ण छ। यसकारण पत्रकारले सामाजिक उत्तरदायित्व पूरा गर्न जरूरी छ।'

कोरोनाका बिरामी अहिले अस्पतालभन्दा बढी घरमा आइसोलेट छन। उनीहरूलाई हेरचाह गर्न सरकारलाई हम्मे परेको छ। अब सरकारको मुख ताक्नुभन्दा आफ्नो सुरक्षा गर्न आफैँ तत्पर हुन जरुरी भइसकेको छ।

पत्रकार शाह संक्रमित भएर २२ दिनसम्म होम आइसोलेसनमा  बस्दा अस्पतालबाट स्वास्थ बुझ्न फोन आयो त? उनी भन्छिन् , 'एक दिन जनस्वास्थ्य कार्यालय टेकुबाट फोन आएको थियो। त्यसपछि मलाई सरकारी अधिकारीले फोन गरेको सम्झना छैन।'

जिन्दगीमा कोरोनाको पीडादायी अनुभव गरेकी शाहले पत्रकारहरूलाई पनि सुझाव दिइन्। 'हाम्रो राज्य प्रणाली, शासकीय संरचना र काम खराब होला। सरकारलाई खबरदारी गरौं', उनी भन्छिन्, 'तर पत्रकारले लेख्ने समाचारले बिरामीलाई उत्प्रेरणा दिनसक्छ र दिनुपर्‍यो, आतंकित बनाउने होइन। बिरामीलाई उत्प्रेरित गर्ने हो भने सकारात्मक समाचार लेख्न जरुरी छ, अफवाहले झन् तनाव बढाउँछ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.