|

दाङ : रिफर सेन्टरका रूपमा आलोचना खेप्नु परेको राप्ती प्रादेशिक अस्पतालले यसपटक भने स्वास्थ्य सेवामा सुधार ल्याएको छ। रेफर सेन्टर होइन विशेषज्ञ सेवासहित प्रभावकारी स्वास्थ्य सेवा दिन सफल बन्दै गएको छ।

प्रभावकारी स्वास्थ्य सेवाका कारण ५० बेड स्वीकृत पाएको प्रादेशिक अस्पातलले यसपटक भने २ सय बेडको स्वीकृत पाएको छ। अस्पतालले ५० बेडको स्वीकृत पाएको भए तापनि  ९५ बेडसम्म सञ्चालन गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिवस्तरीय बैठकले २ सय बेडको स्वीकृत पाएको अस्पतालका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए।

अस्पतालमा झण्डै १८ जना विभिन्न विशेषज्ञ डाक्टर, मेडिकल अफिसर र करिब ४५ जना स्टाप नर्सहरु रहेको उनले बताए। साथै  अब भने  अस्पतालमा नाक, कान, घाँटी र मानसिक रोग विशेषज्ञ र काउन्सलरको आवश्यकता रहेको उनको भनाइ छ।  ‘अस्पातललाई ५० बेडबाट २ सय बेडको बनाउने स्वीकृति भएको छ, तर भौतिक संरचनाहरूको कमी छ। अहिले प्रदेश सरकारको सहयोगबाट बच्चाको इन्डोर भवन बनाउने प्रक्रिया अगाडी बढेको छ,’ उनले भने।

त्यस्तै, अस्पतालको माथिल्लो तला थप्नेको लागि टेण्डरसमेत भइरहेको हुँदा त्यो निर्माण भए सहज हुने उनको भनाइ छ। उनले थपे, ‘अहिले भौतिक संरचनाको कारण २ यस बेड नै सञ्‍चालन गर्न नसके पनि पहिला ५० हुँदा ९५ सम्म सञ्‍चालन गर्दै आइरहेको अवस्थामा अहिले १५० बेडसम्म सञ्‍चालन गर्ने सकिन्छ। भवन निर्माण हुँदै जाँदा २ बेड हुन्छ।’

त्यसैगरी, मेसु डा. शर्माले अब जनशक्तिहरू पनि थपिनु पर्ने बताए। उनले ५० बेडको जनशक्तिले २ सय बेडसम्म सञ्‍चालन गर्ने नसकिने भएकाले जनशक्ति प्रदेश सरकारसँग पहल गर्नेसमेत बताए। त्यसैगरी उनले अस्पताल ५० बेडबाट २ सय बेडमा स्तरवृद्धि हुँदा अब बिरामीहरूले थप सेवाहरू पाउनेसमेत बताए।

त्यस्तै, यस अस्पतालले दाङ, सल्यान, रुकुम, रोल्पालगायत जिल्लाका नागरिकहरूलाई सेवा दिँदै आएको अवस्थामा २ सय बेडले मात्र नपुग्न सक्ने भएकाले थप ६ सय बेड सम्मको बनाउनुपर्ने प्रदेश सरकारले मास्टर प्लान बनाउन लागेको समेत उनले बताए।

अहिले अस्पताल ‘वि’ श्रेणीमा जान लागेको  समेत डा. शर्माले बताए। ‘सुरुमा यो अस्पताल हेल्थपोष्ट थियो, त्यसपछि अञ्चल अस्पताल हुँदै राप्ती प्रादेशिक अस्पताल सम्म त्यो पनि २ सय बेडको बन्न लागेको छ,’ मेसु डा. शर्माले भने,‘ पछिल्लो समय अस्पतालले राम्रो सेवा दिँदै आएको छ। गत वर्ष सेवा मूल्यांकन ४२ अंक प्राप्त गरेको थियो। यस बर्ष ६६ अंक प्राप्त गरेको छ।’

त्यसैगरी, उनले पछिल्लो समयमा डाक्टरहरूले दाङलाई माया गरेर आएका कारण र  अस्पतालमा विभिन्न किसीममा उपकरणहरू प्राप्त भएका कारण सेवामा सुधार भएको बताए।

‘कुनै समयमा डाक्टरहरू अस्पतालमा आउन नमान्दा ४ जना डाक्टरले मात्र सेवा दिनु परेको थियो। अहिले १७/१८ जना डाक्टरहरू छन्। उनीहरुको बस्नको लागि ७ वटा फ्ल्याट भएको भवन निर्माण भइसकेको  र राम्रो  सेवा सुविधा पाएकाले दाङलाई माया गरेका छन्,’  उनले भने। 

त्यस्तै,  अस्पतालको स्तरवृद्धि हुने निर्णय राम्रो भए तापनि व्‍यवस्थापनमा चुनौतीपूर्ण रहेको  अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए। अहिले बेडहरू व्‍यवस्थापन गर्नको लागि ठाउँको समस्या रहेको र केही समयको लागी रेडक्रसको भवन  भाडामा लिएर भए पनि बेडहरु व्‍यवस्थापन गर्ने उनले बताए।

प्रदेश सरकारको ६ सय बेडको बनाउने लक्ष्य रहेको भए तापनि त्यसका लागि धेरै संरचनाहरु बनाउनु पर्ने भएकाले जग्गाको समस्या हुने उनको भनाइ छ।

‘अहिले अस्पतालको करिब डेढ विगाह जमिन अतिक्रमण भएको छ,’ उनले भने,‘ त्यो जग्गा आयो भनेपनि धेरै राहत हुन्छ। अदालतले पनि अस्पतालको पक्षमा फैसला गरेको हुँदा त्यस जग्गाको लागि प्रक्रिया अगाडि बढाउन लागेका छौँ।’

अस्पतालको झण्डै ६ बिघा १७ धुर क्षेत्रफलको जमिन नाममा रहेको छ, त्योमध्य डेढ बिघा अतिक्रमणमा परेको छ। साथै अस्पतालबाट राम्रो सेवा प्रदान गर्नको लागि राज्य ल्याएको एक चिकित्सक एक संस्था निति लागू भएमा राम्रो हुने उनको भनाइ छ। त्यसका लागी राज्यले चिकित्सक र स्थास्थ्यकर्मीहरूको सेवा सुविधामा समेत ध्यान दिनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.