यो चरणमा भाइरसको जीन नै बदलिन सक्छ

|

काठमाडौं : सन् २०१९ को अन्तिम दिन चीनको उहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विश्वभर तीन करोडभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन्‌। कतिपय देशहरूमा नियन्त्रण भएजस्तो स्थिति देखिने र केही समयपछि फेरि संक्रमित र मृतकको संख्या ह्वात्तै बढ्ने गरेको छ। यस्तो स्थितिलाई महामारीको दोस्रो लहर भनिएको छ।

संक्रमणबाट आक्रान्त अमेरिका एवम्‌ युरोपका कतिपय देशहरूमा चिसो मौसम शुरू भएसँगै संक्रमण फैलिएकोछ। संक्रमणको दोस्रो लहर शुरू भएसँगै युरोपका केही देशहरूमा फेरि लकडाउन घोषणा गरिएको छ।

नेपालमा पनि संक्रमण दर दिनहुँ बढ्दै गएको छ। काठमाडौं उपत्यका लगायत मानिसको धेरै बसोबास भएको क्षेत्रमा संक्रमण समुदायस्तरमा पुगेको बताइरहँदा अबको अवस्था कस्तो हुनेछ भन्नेमा अन्योल बढेको छ।

विज्ञहरू नै अलमलमा

हाल दैनिक दुई हजारभन्दा बढीका दरमा संक्रमित थपिँदै गरेको नेपालमा दोस्रो लहर शुरू भए/नभएको बारे एकीन गर्न विज्ञहरूले नै सकिरहेका छैनन्‌।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुन नेपालमा कोरोनाको​पहिलो लहर नै कुन अवस्थामा छ, यो सकिएको छ कि छैन लगायतका विषयमा अझै निश्चित गर्न नसकिएको उनीहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कुनै पनि देशमा कोरोना संक्रमणको पहिलो लहर अन्त्य हुन उक्त देशमा संक्रमितको संख्यामा उल्लेख्य कमी आउनुपर्छ, जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना हुनुपर्छ, सार्ने दर कम हुनुपर्छ र संक्रमण नियन्त्रणमा आउनुपर्छ।

दोस्रो लहर शुरू भएको हो त?

पहिलो लहर सकिएर दोश्रो लहर शुरू हुन एकपटक भाइरस फैलावट उच्चतम विन्दुमा पुगेर समाप्त हुनुपर्छ। त्यसपछि फेरि उत्पन्न भएर संक्रमितको संख्या उच्च विन्दुमा पुग्नुपर्छ। अस्पतालहरूमा बिरामीको चाप अत्याधिक हुनुपर्छ।

तर, नेपालमा भने संक्रमितको दरमा कमी आएको छैन। बरु, दशैँका कारण केही समय पीसीआर परीक्षण दरमा कमी आएकोमा पछिल्लो केही दिनमा परीक्षण दर बढ्दा संक्रमित संख्या पनि बढ्दै गएको छ।

‘नेपालमा कोरोनाको पहिलो लहर सकिएको भन्न अझै नसकिने डा. पुन बताउँछन्‌। उनी भन्छन्‌, ‘हाम्रोमा अझै पहिलो लहर समाप्त भएर दोस्रो लहर शुरू भएको भन्न मिल्दैन, धेरै संक्रमण देखिएर हाल नियन्त्रण आएका कतिपय ठाउँमा संक्रमण पुन: बढेको आजसम्म त्यति देखिएको छैन, यता काठमाडौं उपत्यकामा त अझै संक्रमण नियन्त्रणमा आएको छैन।‘

चिसोमा अझै बढ्नसक्छ संक्रमण

गत माघको पहिलो हप्ता नेपालका पहिलोपटक कोरोना संक्रमित पहिचान गरिएको थियो। त्यसपछि केही समय भारतबाट आउने धेरै मानिसहरू संक्रमित रहेको  थाहा भएको थियो।

त्यसयता संक्रमणदर लगातार बढिरहेको छ। अब अझ चिसो मौसम शुरू हुन लागेकोले पहिलो लहरमा नै अझै संक्रमण बढ्न सक्ने डा. पुन बताउँछन्। उनले भने, ‘दोश्रो लहर आउनुभन्दा पहिला नै अब चिसो मौसममा यही लहर नै बढेर जाने सम्भावना देखिन्छ, पहिलो लहरमा संक्रमित बढेमा बिरामीको चाप बढ्ने र त्यही अनुसार मृत्युदर बढ्न सक्छ, सामान्य अवस्थामा पनि चिसो मौसम भाइरस सक्रिय हुने समय हो।‘

दोस्रो लहरमा भाइरसले जीन नै बदल्न सक्छ

कोरोना संक्रमणको पहिलो लहरमा भाइरसमा देखिएको जीन दोस्रो लहरमा नदेखिएको विभिन्‍न अध्ययनहरू प्रतिवेदनहरूमा उल्लेख छ।

हाम्रोमा भाइरसको दोस्रो लहर शुरू हुँदा त्यसले कस्तो असर पार्छ भन्न अहिले नै कठिन रहेको डा. पुनले बताए। उनले भने, ‘ हामीकहाँ पहिलो संक्रमण अझै नियन्त्रणमा आएको छैन, त्यसैले कुन लहरमा छ भन्न सकिँदैन, तर दोस्रो लहर शुरू भए पहिलो लहरमा संक्रमित नभएकाहरू संक्रमित हुने धेरै सम्भावना हुन्छ।‘

कोरोना संक्रमण अन्तरदेशीय रुपमा फैलिएपछि विश्वका कैयौं देशहरूले गत फेब्रअरी र मार्चबाटै लकडाउन शुरू गरेका थिए। ​शुरूवाती चरणमै जनस्वास्थ्यका मापदण्ड अपनाएको र लकडाउन गरेका कारण केही देश महामारीबाट जोगिए। परिणामस्वरुप, न्युजिल्याण्ड, स्लोभेनिया जस्ता देशहरूले कोरोना संक्रमणलाई निर्मुल पार्न सक्षम पनि भए।

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउँदा संक्रमितको संख्यामा उल्लेख्य कमी आएपछि ती देशहरूले लकडाउन खुला गर्दै लगे। अहिले ती मुलुकमा जनजीवन सामान्य भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.