|

रौतहट : माध्यमिक तह सम्मको शिक्षा सरकारले निःशुल्क भनिरहेको अवस्थामा पनि रौतहटका सरकारी विद्यालयले विद्यार्थीसँग चर्को शुल्क उठाउँदै आएको छ।

मुलुककै चौथो रुपमा स्थापना भएको रौतहटको गौरमा रहेको जुद्ध माविले अंग्रेजी माध्यममा पढाउने भन्दै लकडाउन अवधिमा पनि शुल्क उठाएको भेटिएपछि रौतहटका विद्यार्थी नेताहरु आक्रोशित भएका छन्।

सरकारी विद्यालयले त्यति मात्र नभएर टाई, बेल्ट तथा विभिन्न बहनामा विद्यार्थीसँग चर्को शुल्क लिने गरेको अनेरास्ववियूका केन्द्रीय सदस्य रवि मिश्रले बताए। यसै विषयलाइ लिएर रौतहटको जुद्ध उच्च माध्यमिक विद्यालय गौरको व्यवस्थापन समिति र विद्यार्थी संगठनबीच गत शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएको थियो।

जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको कार्यकक्षमा जुद्ध उच्च माविका व्यवस्थापन समिति र विभिन्न विद्यार्थीको संगठनबीच बैठक बसेको थियो। 

कोरोना महामारीकाबीच जुद्ध उच्च माविले विद्यार्थीबाट चर्को शुल्क असुलेकोलगायत विषयमा वार्ताद्वारा सहमति प्रयास खोज्न विद्यार्थी संगठन र उक्त जुद्ध उच्च माविका पदाधिकारीबीच बैठक बसे पनि बिनासहमति बैठक टुंगिएको विद्या नेता मिश्रले जानकारी दिए।

यस्तो समस्या जुद्ध माविमा मात्रै हैन जिल्लाभर नै रहेको नेता मिश्रले बताएका छन्। अधिकांश सरकारी विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको उनले बताए।

विद्यार्थी संगठनहरुले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमका विद्यार्थीहरुसँग विद्यालयले लिएको चर्को शुल्क पनि फिर्ता गर्नुपर्ने, सरकारी विद्यालयमा सञ्चालन हुँदै आएको अंग्रेजी माध्यमका सबै कक्षा नि:शुल्क सञ्चालन गर्नुपर्नेलगायत ३ बुँदे माग राखेको अनेरास्ववियूकी केन्द्रीय सदस्य प्रतीक्षा कार्कीले बताएकी छन्।

सरकारी विद्यालयमा कुनै पनि किसिमको शुल्क लिन नपाइने नेविसंघ रौतहटका पूर्वअध्यक्ष श्यामहरी चौलागाईंले बताए। विद्यार्थीको चाप बढी भए दरबन्दी सिर्जना गरी वा स्थानीय तहले आर्थिक व्यवस्था गरेर सरकारी विद्यालयका विद्यार्थीलाई अध्यापन गराउनुपर्ने पूर्वअध्यक्ष चौलागाईंले बताए। 

सरकारी विद्यालयले शुल्क लिएको भन्दै केही दिनअघि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका थिए। 

नया दरबन्दी कायम भएपछि समस्या समाधान : इकाइ प्रमुख

शिक्षा विकस तथा समन्वय इकाइ कार्यालय रौतहटका प्रमुख राम विनय सिंहले नया दरबन्दी कायम भएपछि यो समस्या समाधान हुने बताएका छन्। रौतहटमा प्रावि,निमावि र मावि गरी नयाँ १ हजार ९ सय १९ जनाको नयाँ दरबन्दी थपिएको इकाइ प्रमुख सिंहले जानकारी दिएका छन्। प्रावि तहमा ७ सय ३५ ,निमावि तहमा ५ सय ४६ र मावि तहमा ४ सय २४ जनाको नयाँ दरबन्दी थपिएको इकाइ प्रमुख सिंहले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.