गठित विभाग खारेजीको माग यथावत

|

काठमाडौं  : नेपाली कांग्रेसको विवाद तत्काललाई मत्थर भएको छ। आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकपछि विवाद मत्थर भएको हो। जटिल विषयमा समाधान निस्किएकाले बाँकी विषयमा आगामी केन्द्रीय समितिको बैठकमा छलफल गर्ने तयारी कांग्रेसले गरेको छ।  

‘तत्काललाई विवाद अघि सुल्झिएको छ,’ असन्तुष्ट पक्षका केन्द्रीय सदस्य गुरुराज घिमिरेले थाहाखबर सँग भने, ‘विभाग गठनको विषयमा हाम्रो असहमति कायमै छ। विधान मिचेर गठन गरेको विभाग हामीले मानिदिनु पर्छ भन्ने छैन। महाधिवेशनको कार्यतालिका लगायत विषयमा भने सहमतिका साथ अघि बढ्ने सहमति भएको छ। यसलाई अन्तिम टुंगो भने केन्द्रीय समितिको बैठकले दिन्छ।’ 

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति देउवाले विधान विपरीत विभाग गठन गरेको, क्रियाशील सदस्यता वितरण तथा मनोनयनमा एकलौटी निर्णय गरेको भन्दै असोज १२ मा १६ बुँदे विरोध पत्र पार्टी कार्यालयमा बुझाएको थियो। उक्त विरोध पत्रबारे छलफल गरेर पौडेल पक्षलाई सहमति ल्याउन देउवाले पछिल्लो दुई सातामा पटक पटक वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यसहितको बैठक डाकेका थिए। उक्त बैठकले विवाद मत्थर पारेको हो। 

विवाद हुँदै आएका विषयमा पार्टी विधानको व्यवस्था अनुसार समाधान गर्न सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच समझदारी भएको छ। त्यस्तै सोमबारका लागि तय भएको केन्द्रीय समितिको बैठक फेरि सरेको छ। पार्टीको विवाद समाधानका लागि बस्दै आएको केन्द्रीय सदस्यहरुसहितको पदाधिकारी बैठकमा विभाग गठन लगायतको विषयमा अझै असहमति रहेकोले आज बस्ने भनिएको बैठक सरेको हो।  

क्रियाशील सदस्यता छानविन संयोजक लेखक 

कांग्रेसको क्रियाशील सदस्यता समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखकलाई बनाउने सहमति भएको छ। यसलाई आगामी केन्द्रीय समितिको बैठकले आधिकारिकता प्रदान गर्नेछ।  

समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता पौडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एक जनालाई समावेश गरिने पूर्व सहमति छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.