|

पर्वत : पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा सुरु भएको छ। अस्पतालको विकास र स्तरोन्नतिको लागि भौतिक पूर्वाधार निर्माणदेखि आन्तरिक जनशक्तिसमेत थपिँदै गएको बेलामा अब तीन ओटा आइसियु र तीनवटा भेन्टिलेटरको पनि सुविधा थप भएको अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडीले बताए।

गण्डकी प्रदेश सरकारले अस्पतालमा सेवा सुविधा थप गर्नको लागि दिएको एक करोड ६९ लाखको लगानीमा आइसियु र भेन्टिलेटर तयार पारिएको हो। ‘आइसियु र भेन्टिलेटरको सबै सेटअप पूरा भएको छ। अब बिरामी आएमा हामीले भर्ना गरेर उपचार गर्न सक्ने भएका छौँ।’ अध्यक्ष पहाडीले भने, ‘फूल फेजमा सञ्चालन गर्नको लागि पर्याप्त जनशक्ति त हामीसँग छैन। तर तीन जना डक्टर र तीन जना नर्सले पोखराबाट यसको सञ्चालनको लागि तालिम सकेर आउनुभएको छ।’

अबको तीन महिना भित्रमा पर्वत अस्पतालले ५० बेडको मान्यता पाउन लागेको जानकारी दिँदै उनले त्यो बेलामा सरकारले आवश्यक दरबन्दीको व्यवस्थापन गर्ने भएकोले तत्कालका लागि थोरै जनशक्तिबाटै सेवा सुरु गरिएको उनको भनाइ छ। सरकारले मान्यता दिँदैमा सेवा र सुविधा नपाइने भएकोले मान्यतासँगै जनशक्तिको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्ने पहाडीले बताए।

अस्पतालमा रहेको जनशक्ति कम भएको बेलामा पनि आइसियु र भेन्टिलेटरको सेवा दिनु चुनौतीपूर्ण रहेको भए पनि नागरिकको सेवाको लागि खटेरै काम गर्ने भनी सेवा सुरु गरिएको उनको भनाई छ। आर्थिक रूपमा सम्पन्न भएकाहरूले पर्वत अस्पतालमा आइसियु र भेन्टिलेटरको सुविधा हुँदाहुँदै पोखरा र काठमाण्डौको अस्पतालमा जान सक्ने भए पनि आर्थिक समस्या रहेकाहरूको लागि भने जिल्लामा थपिएको यो सुविधा जीवन बचाउने आधार भन्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाको भनाइ छ।

‘आर्थिक सम्पन्न भएकाहरू आइसियु र भेन्टिलेटरकै लागि पोखरा, काठमाडौँ लगायतका सुविधायुक्त ठाउँमा जान सक्ने भए पनि आर्थिक समस्या रहेकाहरूलाई यहाँको सुविधाले जीवन बचाउन सक्छ।’ उनले भने, ‘सेवा सञ्चालनको लागि हामी चिकित्सकहरू खट्छौँ भनेर नै जनशक्तिको अभावकै बिचमा पनि सेवा सुरु गरिएको छ।’

दुर्घटनामा परेका तथा ग्रामीण क्षेत्रमा रहेको बेलामा स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीहरूलाई सदरमुकाम कुस्मा ल्याएपछि आइसियु र भेन्टिलेटरको खोजीमा पोखरा पठाउँदा कम्तीमा पनि ४-५ घण्टासम्म लाग्दा ज्यानै जान सक्ने खतरा रहेकोमा अब भने त्यो खतरा टरेको अध्यक्ष पहाडीले बताए। सेवा सुरु गर्नु पूर्व प्रदेश सरकारले दिएको ६० लाख रुपैयाँबाट अस्पतालमै अक्सिजन प्लान्टसमेत निर्माण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.