|

'रश्मिता आजकल कार्यालय जानुपर्दैन?'

बिहानको ९ बजेतिर गेटबाट भित्र छिरेर सिधै भान्छामा आइपुगेकी गीता दिदीको स्वरले झस्कायो।

'हजुर दिदी! अहिले कार्यालयका धेरै साथीलाई कोरोना पोजेटिभ देखियो, त्यसैले घरबाट काम गरिरहेछौँ।'

'ए, सजिलो भएछ ल! घर बस्न पाइछौ छोराछोरीसित। अनि कम्प्युटर भान्छामै, ल हेर! सानीले त दूध चुस्दै पो रहिछे अझै। ठूलो भाइ खेल्न नगएर आमाकै काखमा पो झुन्डिएर बस्दो रहेछ। दाल हो कि के नि बुहारी? सिट्ठी लाग्दै रैछ।'

दिदीले सबै निरीक्षण गरिसकिन्, जवाफ दिन भ्याएको थिइनँ।

'हो, दिदी खाना बनाउँदै, केटाकेटीलाई नजिक राखेर, कम्प्युटरबाट अफिसको मिटिङ र काम पनि गर्दैछु।'

'अनि भाइ खोइ त नि, कार्यालय गए कि कसो?'

'उहाँ पनि घरबाटै काम गरिरहनुभएको छ। आफ्नो कोठामा हुनुहुन्छ, उहाँलाई डिस्टर्ब होला भनेर केटाकेटी यहीँ राखेर काम गर्ने गरेकी छु मैले। दिदी कागती चिया पिउने कि दूधको?' 

'दूधकै चिया बनाऊ भो, जाडो शुरू भएको छ, अलिकति अदुवा राखेर बनाऊ, चिनी अलि कमै राखे हुन्छ है!'

दिदी निर्देशन दिएर 'अमृत! ए अमृत!!' भन्दै चिच्याउँदै भाइको कोठातिर लागिन्। भाइ आफ्नो कोठाबाट निस्के। 

'हजुर दिदी, म यहाँ काम गर्दै थिएँ, कोरोना फैलिराछ कता हिँड्नुभएकी त ?'

'होइन हिजोअस्ति देखि देखिराछु, तिमीहरू घरमै छौ जस्तो लाग्यो, अनि कति कोरोना भनेर घरभित्र बस्नु भनेर यसो एकछिन निस्केकी, यसरी आउँदा त केही हुन्न होला नि!'

'होइन नि दिदी ! हजुर घरबाट यहाँ आउँदा कतिसँग भेट भयो होला, भौतिक दूरी, मास्क, हाँच्छ्यु गर्दा ख्याल गर्नुपर्‍यो। हेलचेक्रयाइँ गर्ने कुरा छैन नि! यहाँ झन् साना छन् हाम्रा केटाकेटी। अनि ठूलो बा ठूली आमाको हालखबर ठीकै होला चितवनतिर।'

गीता दिदीलाई अर्ति उपदेश दिँदै भान्छामै आइपुगे अमृत।

'रश्मिता! चिया बनाइनौं त दिदीको लागि?'

'दिदीको लागि चिया र तपाईंको लागि कागती पानी तयार छ, लिनुहोला।'

एकातिरको ग्यास बन्द गर्दै, अर्कोतिर तरकारी चलाउँदै सानी छोरीलाई काखबाट झोलुङ्गोमा राखेर, ठूलो छोरालाई आइप्याडमा गेम मिलाइदिँदै थिएँ। किनकी उसलाई त्यता भुलाउन पाइन भने जुम मिटिङमा बस्नै पाउन्नँ।

​'चिया मीठो भएछ रश्मिता!' दिदीबाट प्रशंसा पाएँ।

'हस् दिदी भाइसँग एकछिन कुरा गर्दै गर्नु है त, म मिटिङमा हुन्छु।'

'ल, ल म एकछिन भाइसँग बरन्डामा बस्छु। जे होस् कार्यालय जानु परेन तिमीलाई सजिलै रैछ आजकल, मिटिङसिटिङ के गर्ने हो गर।'

दिदीको बचन सकिन नपाउँदै अमृत बोलेको सुनें, 'दिदी! ल म पनि आफ्नो काममा लाग्नुपर्छ, दिदीसँग गफ गर्न मन त थियो, तर कहाँ भ्याउँछु र? घर बसे पनि काम कार्यालयकै गर्ने हो दिदी, कोरोना अलि ठीक होस्, अनि छुट्टीको दिन मिलाएर फुर्सदले बसौंला नि है दिदी!'

'भयो म गएँ, एक्लै छु, ढिलो ढिलो खाना बनाएर खान्छु, सबै व्यस्त छौ यहाँ बसिनँ म। हेर लुगाकपडा, साना केटाकेटी, घर बसेको भनेर के गर्नु! बिचरा रश्मितालाई भान्छामै कार्यालय जस्तो रैछ। त्यो अमृतले एकछिन केटाकेटी समाइदिएको पनि होइन, महिलालाई त गाह्रै छ क्या!'

दिदी फत्‍फताउँदै गेटबाट बाहिर निस्किन्।

महिला पुरुष बराबरी कसले भनेको ?

'महिला पुरुष बराबरी : पाइला हाराहारी!'

नारामा भनेजस्तो कहाँ हुन्छ? महिला अलग अस्तित्व हुन्, उनलाई पुरुष बराबर बनाउने कोशिस नगरे हुन्छ, किनकि व्यवहारमा यो सम्भव छैन।

हो! शिक्षा, स्वास्थ्य, अधिकार, कानून, न्याय र सम्मानजस्ता बाहिरबाट दिनसक्ने आवश्यक कुराहरूमा महिला भएकै कारण भेदभाव नहोस् भन्ने आवाज सही छ। तर, यसकै आधारमा महिला पुरुष सरह बराबर हुन पाउनुपर्छ भन्ने कुरा अव्यवहारिक नै सिद्ध हुन्छ।

एउटा मातृत्व, घरको सर्वत्र जिम्मेवारी, केटाकेटी, परिवार, कार्यालयको काम, सबै व्यवस्थापनमा महिलाले आफ्नै शक्ति र विवेक प्रयोग गरेर एउटा घर सुन्दर र व्यवस्थित तरिकाले चलाएकी हुन्छिन्‌।

बाहिरबाट देखेको र अर्ति दिएको अनि नारा लगाएको भरमा घरका सानातिना व्यवहार र कामहरू व्यवस्थित हुँदैनन्। अस्तित्वले प्रदान गरेको महिलाको खुबी, सौन्दर्य, सहनशीलता र गुणवत्ता नै यही हो।

सुन्दर फूलमा सुगन्ध थपिए झैं अलग पहिचान जिम्मेवारी हो महिलापुरुष बराबर हुन बनाउन खोज्दा अस्तित्वगत सुन्दरता बिग्रिन सक्छमहिला आफैंमा अतुलनीय अस्तित्वको सृजना होमहिलालाई महिलाकै अस्तित्व दिए पुग्छमातृत्वको रूपमा कदर, प्रशंसा, प्रेम सुरक्षा दिए पुग्छपुरुष बराबर बनाउने आन्दोलनले खासै प्रभाव पार्न सक्दैन

समानता अर्थात् बराबरीको अर्थ के हो? शिक्षा, स्वास्थ्य, अधिकार, प्रशंसा, काम, व्यवसाय, न्याय, आर्थिक सम्पन्नता, आत्मनिर्भरता, भावना जुनसुकै पक्षलाई जोडेर हेरौं : यीनको कुनै लिंग हुँदैन। मानव अस्तित्वलाई आवश्यक यी कुराहरू छोरा र छोरी दुवैलाई आवश्यक छन् भन्ने कुराको विवेक जाग्नुपर्छ। छोरा र छोरीलाई हुर्काउने, बढाउने, शिक्षा दिने, स्वास्थ्यको ख्याल राख्ने कुरामा समान हुनुपर्छ। त्यसो भयो भने भेदभावको प्रसंग र प्रश्न नै आउँदैन।

अन्य व्यावहारिक कुराहरू महिला पुरुषको सह-अस्तित्वमा चल्दछ। पुरूषले भान्छामा पसेर खाना पकाउँदैमा र महिला सडक आन्दोलनमा उत्रिँदैमा समानता झल्किने पक्कै होइन। व्यवसाय, नोकरी, राजनीति, शैक्षिक कुशलता, उच्च पद, सम्मान, पुरस्कार, पदक सबै चिज प्राप्त गर्न सफल भएकै छन् महिला। समानता दिने होइन, व्यवहारमा छुट्टयाउन नहुने कुरा हो। महिला भएकै कारण व्यवहारमा फरक गरिनुको कारणले मात्र विभेदको प्रसंग उठ्ने गर्दछ।

संस्कार संस्कृतिमा महिला

कुनै पनि संस्कार र संस्कृतिले इतिहासदेखि नै महिलालाई लिंग र चरित्रको आधारमा तल्लो स्तरमा, दोस्रो दर्जामा र पुरुषभन्दा कमजोर तहमा राखेकै छैन। हरेक पुराण, ग्रन्थमा महिलाको स्थानलाई उत्तिकै महत्वका साथ हेरिएको पाइन्छ। एकाएक समाजमा महिला र पुरूषको स्थान अलग कसले गर्‍यो?

छोरी तिमी एक्लै घरबाहिर जान सक्दिनौ, छोरा हो राति भए पनि घर आउँछ। छोरी तिम्रो लुगा पहिरन ख्याल गर! तिमी छोरी हौ त्यसैले तिमी कहाँ जाने, कुन समयमा जाने किन जाने, तिम्रो इच्छा के त्यस मा तिम्रो निर्णय चल्दैन, घरमा आमा बा, दाजुभाइ या श्रीमानलाई सोधेर उनीहरूको स्वीकृतिबाट जानुपर्छ। १५ वर्षकी दिदी घरबाट बाहिर जाँदा वर्षको भाइलाई साथी लिएर जाऊ भन्ने आमाको अनुरोधात्मक असुरक्षित मानसिकताको विकास कसरी भयो ?

'अन्यायमा परेँ' भनेर बुहारीले आफ्नै ससुरा र देवर-जेठाजुलाई मुद्दा हाल्नुपर्ने, छोराछोरी छोडेर श्रीमानलाई डिभोर्स दिनुपर्ने, आफ्नै दाजुभाईबाट अन्याय पर्‍यो भनेर पञ्च भलाद्मी गुहार्नुपर्ने र प्रेमको लागि अदालत धाउनुपर्ने अवस्थाको सृजना कसरी हुने गरेको छ सोचौँ, मनन गरौं ! हामीले हाम्रो व्यवहार र संस्कार कसरी विकास गर्दै लग्यौं र त्यसको प्रतिफल के निस्किरहेको छ?

चरित्रमा पनि लैङ्गिक विभेद?

ओशो भन्नुहुन्छ, 'समाजले गजबको नियम बनाएको छ जुन नियम पुरुषले अपनाउँदा चरित्रहीन हुँदैन भने महिलाले अपनाउँदा चरित्रहीन हुन्छिन्। आचरण बेठीक छ, खराब छ भने त्यो महिला पुरुष दुवैमा लागू हुनुपर्दछ।'

समाजमा पुरुषलाई चुरोट पिउन, भट्टीमा पस्न, मदिरा सेवन होस वा वेश्यालय जान छुट गरेको छ, तर महिलाका लागि बन्चित छ। महिलाले यी काम गर्दा चरित्रहीनको उपमा दिइन्छ।

के पुरुषको चरित्र राम्रो हुनु जरुरी छैन? एकैघर, परिवार, समाजमा एकै मानव जाति महिला पुरुषलाई फरक-फरक मापदण्ड किन? जो कोहीले पनि सहजै बुझ्न सक्छ- हाम्रो समाज दिनदिनै संवेदनहीन बनिरहेको छ। आफ्नो अरूको पनि जीवनसँग जानेर वा नजानेर खेलबाड गरिरहेका घटनाक्रम बढ्दो छ

हाम्रो दैनिक व्यवहारमा अरू प्रतिको सम्मान, मिलेर बाँच्ने सोचेर एकले अर्काको भावना बुझ्ने सहज मानवीय संवेदनामा समेत ह्रास आइरहेको तथ्य बुझ्न कुनै आइएनजीओको अनुसन्धान प्रतिवेदन पढिराख्नु पर्दैन। आफ्नो बानी, व्यवहार र मिडियामा दैनिक प्रसारित हुने समाचार पढे, सुने वा हेरे पुग्छ।

उमङ्‍गमा बाँच्न, खुसी हुन, आफ्नो इच्छा अनुसारको जीवन बाँच्न, आफ्नो कर्म गर्न र पुरुषार्थमा रमाउन पुरुष बराबर हुनैपर्दैन महिलालाई। पुरुषको सहकार्य र प्रेमको लागि कुनै छुट्टै योगदान महिलाले गर्नुपर्छ भन्ने पनि छैन। यसमा कुनै अंक गणित लागू हुँदैन।

प्रकृति र पुरूष अर्थात् महिला र पुरुष अस्तित्वका सृष्‍टि हुन्। दुवैका आफ्नै गुणवत्ता र पहिचान छन्, को घटी र बढी, समानता र असमानताका विभेद मानसिक रूपबाट हट्यो भने व्यवहारमा सह अस्तित्व प्रस्फुटन हुनेछ, अनि शर्त रहित प्रेम र अकारण आनन्दसहित जीवन सहज हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.